Search

सिठी नखःदेखि गठेमंगलसम्म किन बजाइँदैन बाजा ?

सिठी नखःदेखि गठेमंगलसम्म किन बजाइँदैन बाजा ?

२१ असार, बाँपीझ्याला, काठमाडौं । सधैंभरि साँझ परेपछि बाजाको तालमा गुञ्जायमान हुने काठमाडौंका सत्तल एवं वाद्य गुरुका घरहरू हिजोआज सुनसान हुने गरेका छन् । थरीथरीका बाजाको तालमा गल्लीगल्लीमा हिँड्ने बाधकहरु अहिले देखिँदैनन् । काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको पहिचान दिने बाजाहरु झण्डै एक महीनादेखि किन बज्न छाडे त ? स्थानीय वाद्यगुरु एवं संस्कृतिविद्हरु यसको पछि विभिन्न कारण रहेको बताउँछन् ।

काठमाडौंको थःहिटी निवासी एक मानन्धर परिवारले आफ्नै खर्चमा परम्परागत वाद्यवादन प्रतियोगिता आयोजना गर्थे । प्रतियोगिताको नाम थियो ‘भाजुवीर सिरपा’ । हरेक वर्ष आयोजना हुने प्रतिस्पर्धामा धिमे, ता, खिं लगायतको बाजा बजाउने कलाकारहरुको सहभागिता हुन्थ्यो । मानन्धर समुदायमा बाजा बजाउने एउटा सक्रिय समूह थियो । तर सिठी नखःदेखि करीब पौने २ महिनासम्म सांस्कृतिक मान्यता अनुसार बाजा बजाउन हुँदैन भन्नेबारे कमैमा जानकारी थियो । झण्डै २० वर्ष पहिले यही समूहले आयोजना गरेको वाद्यवादन प्रतियोगिता असार आसपास (सिठी नखः र गठेमंगलको बीचमा) आयोजना गरिएको थियो ।

समुदायका वाद्यवादक एवं गुरुहरुलाई व्यक्तिगत निम्ता पठाइयो । धेरैले सहभागिताको प्रतिबद्धता जनाए । तर एक जनाले यसमा गहिरो असहमति जनाए । उनले सांस्कृतिक मान्यता अनुसार यो समयमा वाद्यवादनका देवताले विश्राम गर्ने भएकोले सिठी नखःदेखि गठेमंगलसम्म बाजा बजाउन नमिल्ने भनेपछि सबै तयारी पूरा भएको कार्यक्रम गठेमंगलसम्मको लागि स्थगित गरिएको प्रसंग सुनाउँछिन् त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी उपप्राध्यापक डा. टिना मानन्धर । सो घटनापछि यो समयमा बाजा बजाउनु हुँदैन भन्ने कुरा समुदायमा फैलिन थालेको थियो ।

बाजा नबजाउने परम्परा पहिलेजस्तो कट्टर त छैन । तर पनि वाद्य गुरु एवं कतिपय कलाकारहरुले यो समय नाट्येश्वर भगवानको विश्रामको समय मानेर बाजा बजाउँदैनन् । कतिपयले बाजाको सुरक्षाको दृष्टिले बर्खाको समयमा यसलाई विश्राम दिन्छन् । जे भएपनि यो समय काठमाडौंका गल्ली एवं सत्तल र गुरुका घरहरुमा बाजाको धुन मुस्किलले सुन्न पाइन्छ ।

खिं बाजालाई काठमाडौंको परम्परागत बाजामध्ये जटिल र अब्बल वादकले मात्रै बजाउन सक्ने बाजा हो । वाद्यगुरु त्रिरत्न मानन्धर भन्छन् ‘अरु बाजा कसैले बजाइहाले पनि खिं बाजा भने यो समयमा छुनेसम्म पनि गरिँदैन । यो बाजा प्रायः वाद्यगुरु एवं बाजामा लामो साधना गरेकाले उनीहरु यो सांस्कृतिक परम्परासँग परिचित रहेकोले पनि यसलाई कडाइका साथ पालना गर्छन् ।’

किलागल टोलका बाजा राग, गीत तथा नाचका गुरु इन्द्र महर्जन सिठी नखःदेखि गठेमंगलसम्म काठमाडौंमा बाँसुरी र ढोलकबाहेक कुनै पनि बाजा नबजाउने संस्कृति रहेको बताउँछन् । विशेषगरेर खऊ अर्थात् खरी भरिने बाजाहरूमा पानी पर्दा त्यसको तालमा असर हुने भएकोले ती बाजाहरू यो मौसममा प्रतिबन्धित छन् । मानन्धर र महर्जन दुवै यो संस्कृतिले कृषिलाई महत्व दिइएको बताउँछन् ।

बाजा बजाउने कलाकारहरु नासः द्यः अर्थात् नाट्येश्वरलाई आफ्नो मुल गुरु मान्छन् । आफूमा उनैको आशीर्वादबाट वाद्यवादनको कला भरिने भएकोले उनलाई खुसी बनाउनुपर्छ भन्ने विश्वास गरिन्छ । तर सिठी नखःदेखि गठेमंगलसम्म नाट्येश्वरले समेत आराम गर्ने भएकोले यो समयमा बाजा बजाउन हुँदैन भन्ने धार्मिक मान्यता छ । यो समयमा बाजा मात्रै नभएर कुनै जात्रा पर्व समेत मनाउने गरिँदैन ।

परम्परा अनुसार सिठी नखःको दिन वादकहरुले ‘द्यो ल्हृयाउ’ भन्ने धुन बजाउँछन् । यो अन्तिम दिन देवताको सम्मानमा बजाइने धुन हो । त्यसपछि बाजा थन्क्याइन्छ । यो संस्कृतिमा विश्वास गर्नेहरु यो समयमा बाजा छुन पनि हुँदैन भन्ने मान्यता राख्छन् ।

बाजा बजाउन बन्द गर्नुको कारण
वाद्य गुरु महर्जन यो समयमा बाजा बजाउन रोक्नुको पछि दुई वटा कारण बताउँछन् । पहिलो त यो खेतीको सिजन हो । सिठी नखःदेखि नै काठमाडौंमा बर्खायाम सुरु हुन्छ र खेतीपातीको समय सुरु हुन्छ । सधैं पर्व र बाजामा रमाउने काठमाडौंवासीलाई खेतीपातीतिर ध्यान मोड्न यो संस्कृतिको विकास भएको हुन सक्छ ।

अर्को कारण बाजाको सुरक्षा हो । यो मौसममा सधैं पानी परिरहने भएकोले बाजा पानीमा भिज्ने सम्भावना हुन्छ । बाजामा पानी पर्दा यसमा क्षति हुने सम्भावना बढी भएकोले यो समयमा बाजा सुरक्षित राख्नु उपयुक्त देखेर यो संस्कृतिको विकास गरिएको वाद्य गुरुद्वय मानन्धर र महर्जनको मत छ ।

वाद्यवादकहरु नाट्येश्वर भगवानलाई खुसी पार्न बाजाको सुरक्षा गर्नैपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले धेरैले यो समयमा बाजा बजाउँदैनन् ।

धार्मिक मान्यता अनुसार सिठी नखःदेखि नाट्येश्वर भगवान पनि विश्राम गर्छन् भन्ने विश्वास छ । त्यसैले गठेमंगलमा नाट्येश्वरलाई पूजा गरेर नजगाएसम्म बाजा बजाउने गरिँदैन ।

बर्खायामबाट प्रभावित अन्य संस्कार
यो समयमा गर्नैपर्ने अन्य नित्य संस्कारहरु पनि कृषि कर्मबाट प्रभावित देखिन्छ । यो समयमा काठमाडौं उपत्यकामा कुनै पनि जात्रा पर्वहरु पर्दैनन् । नित्य कर्म र पितृकर्मबाहेक कुनैपनि धार्मिक कर्म एवं सांस्कृतिक उत्सवहरु सबै सिठी नखःसम्म गरिँदैन । अनिवार्य कर्ममध्येको एक हो मृत्यु संस्कारमा सीना ज्याः कुसा ओढ्नुपर्ने परम्परा ।

आजभन्दा २५ वर्ष अघिसम्म सिठी नखःदेखि गठेमंगलसम्म कुनै घरमा मान्छेको मृत्यु भयो भने मृतकलाई सीना ज्याः कुसा ओढाउनै पर्ने चलन रहेको उपप्राध्यापक डा। मानन्धर बताउँछिन् ।

सीना ज्याः कुसा खेती रोपाइँमा ओड्ने एक किसिमको छाता हो । यो टाउकोमा अड्याएर शरीरको पछिल्लो भाग ढाक्नेगरी तयार पारिएको हुन्छ ।

पहिले त्यो पहिरन यो समयमा अन्तिम संस्कारमा जाँदा अनिवार्य थियो । तर अहिले त्यो संस्कार हराउँदै गएको छ । अर्थात् मान्छेको मृत्युहुँदा पनि खेती गर्दा लगाइने वस्त्र लगाउनु पर्ने संस्कारले बाजा नबजाउनुको पछि पनि खेतीपातीमा ध्यान दिनको लागि यस्तो संस्कार बनाइएको हो भन्न सक्ने आधारलाई पुष्टि गर्ने मानन्धर बताउँछिन् ।

त्यो संस्कार आजभोलि बिस्तारै हराउँदै गएको छ । तर पहिले मृत्यु संस्कारमा खोजी खोजी यो ओढ्ने गरिन्थ्यो ।

ललितपुरमा अलिक भिन्न संस्कृति
वाद्य गुरु महर्जन ललितपुरवासीले पनि यो समयमा कुनै बाजा नबजाउने गरेको बताउँछन् । ललितपुरमा सामान्य अवस्था थियो भने अहिले रातो मत्स्येन्द्रनाथको रथयात्राको समय हो । यो कहिले जेठ त कहिले असारको अन्तिसम्म पनि चलिरहन्छ । तर बाजा नबजाउने संस्कार कति दिन चल्छ भन्ने रातो मत्स्येन्द्रनाथको रथयात्राको आधारमा तय हुन्छ । मुहूर्त जुरेन भने रातो मत्स्येन्द्रनाथको रथयात्रा साउनसम्म पनि बुंगमती पुर्‍याइँदैन । यदि गठेमंगलभन्दा अघि नै मत्स्येन्द्रनाथलाई बुंगमती लगियो भने बाजा बन्द हुन्छ, अन्यथा यो बाजा बजाइरहने संस्कार रहेको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन बताउँछन् ।

भक्तपुरमा नवदुर्गा गणको पनि विश्राम समय
भक्तपुरको सबैभन्दा लामो र चर्चित नाच नवदुर्गा गणलाई पनि गठेमंगलसम्म विश्राम दिइन्छ । भलभल अष्टमीको दिनमात्रै नवदुर्गा गणको मुकुट विसर्जन गर्ने गरिएको भए पनि सिठ्ठी नखःको दिन इच्छुटोलमा हुने नाच नै नवदुर्गा गणको अन्तिम नाच हुने छ । सोही दिन मुकुटमा प्रविष्ट गराइएको मन्त्र ९कर्म० फिर्ता ९निष्कृय० गराउने चलन छ । मन्त्र फिर्ता गरेसँगै नवदुर्गाको मुकुटबाट जीवत्व हरण हुन्छ भन्ने मान्यता भक्तपुरवासीमा छ ।

‘इच्छुटोलमा नवदुर्गाको मन्त्र फिर्ता हुन्छ भन्ने मान्यता राखिन्छ । तर मन्त्र फिर्ता सम्भव हुने कुरा भएन । त्यसैले कर्म फिर्ता गर्ने चलन छ । जसरी कुनै पनि मूर्तिलाई हामीले जीवत्व प्रदान गरेपछि त्यो भगवान हुन्छ । त्यसरी नै उक्त जीवत्व हरण गरेपछि कर्म फिर्ता हुन्छ भन्ने मान्यता हो ।’ भक्तपुरका संस्कृतिविद् विनोदराज शर्माले भने । कर्म फिर्ता गरेको नवदुर्गा गणको मुकुट भलभल अष्टमीको दिन विसर्जन गरिन्छ । तर त्यसबाहेक कुनै पनि संस्कार हुँदैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!