Search

नेपाली फिल्ममा छलाङ्ग

नेपाली फिल्ममा छलाङ्ग

लाग्न सक्छ यो एक हास्यास्पद र अपत्यारिलो प्रश्न हो, ‘के नेपाली सिनेमाले छलाङ मार्दैछ ?’

किनभने नेपाली सिनेमा यतिबेला वृन्दावनमा हराएको मृगको पाठो झैं छ । अलमल, अन्योल, अनिश्चित एवं अस्थिर । यस्तो पृष्ठभूमिमा ‘छलाङ मार्ने’ प्रश्नले त यसरी गिज्याए जस्तो हुन्छ, जस्तो कि पक्षघातले लम्पसार परेका व्यक्तिबाट ‘म्याराथन जित्ने’ अपेक्षा गरिंदैछ ।

अब नेपाली सिनेमाको वर्तमान परिदृश्य हेरौं ।

सिनेमा घरहरू हल न चलको अवस्थामा छन् । कतिको ढोकामा भोटेताल्चा लाग्दैछ, कतिको ऋणभार चुलिंदैछ । प्रदर्शनको मुखमै आएर अड्किएका सिनेमाहरूले निर्माताको निद्रा बिथोलिदिएको छ । कति वैकल्पिक बाटोको खोजीमा छन्, कतिको खेलो मासिएको छ । कर्मी मौरी झैं रिफ्लेक्टर समात्ने, ट्रली उचाल्ने, लाइट मिलाउने, क्ल्याप बोर्ड पड्काउने श्रमशक्ति लाखापाखा लाग्दैछन् ।

दीपकराज गिरीहरूले लेख्दा-लेख्दैको स्क्रिप्ट थन्क्याएका छन्, प्रदीप भट्टराईहरूले खोज्दा-खोज्दैको कथालाई थाती राखेका छन्, उद्धव पौडेलहरूले चल्दा-चल्दैका हलहरू भत्काउँदै छन् ।

यो रेखाचित्रले संकेत गर्छ, नेपाली सिनेमा मुर्छा परेको छ । अब यो कहिले ब्युँझन्छ ? कहिले तंग्रन्छ ? कहिले चलमलाउँछ ? कहिले दौडन्छ ? प्रश्नहरू नै ऐंठन पार्ने खालका छन् ।

नेपाली सिनेमा आफ्नो लयमा र्फकनका लागि हलहरू चल्नुपर्‍यो । हल चल्नका लागि दर्शकहरू आउनुपर्‍यो । दर्शक आउनका लागि गतिला सिनेमाहरू बन्नुपर्‍यो । अर्थात् यो उपक्रमको शुरुआती विन्दु हो, गतिलो सिनेमा ।

हल संचालक एवं वितरकहरू यस्तो नेपाली सिनेमा आउनेमा सन्देह गर्छन्, जसले हलको पार्टपुर्जा खिया लाग्नबाट बचाइदेओस् ।

क्युएफएक्सका सिईओ रोशन अडिगा भन्छन्, ‘हल चलाउनका लागि सिनेमा चाहियो । सिनेमा जस्तोसुकै भएर भएन । त्यससँग दर्शक तान्ने सामथ्र्य हुनुपर्‍यो । बल्लबल्ल हल खोलेर पुरानो सिनेमा दोहोर्‍याउने कुरा आउँदैन ।’

ओछ्यानमा पल्टिएर ओटीटीमा स्वाद फेरिरहेका तन्नेरी र नेपाली सिनेमाबाट भड्किएका रौसे जमातलाई हलसम्म डोर्‍याउन ‘जस्तोसुकै’ सिनेमाको तागतले भ्याउँदैन । हुन त प्रदर्शनको मुखमै आएर अड्किएका केही फिल्म छन्, चपली हाइट-३, प्रेमगीत-३, म यस्तो गीत गाउँछु-२, हिजो आजका कुरा, लक्का जवान, लप्पनछप्पन २, कृष्णलीला, संझना बिर्सना । छायांकनमा रहेका, पोस्ट प्रोडक्सनमा पुगेका फिल्महरूको सूची अरू लम्बेतान छ ।

भोलि, कोरोना सन्त्रास मत्थर हुनेछ । दर्शक रमाइलो गर्ने मूडमा हुनेछन् । अनि, भटाभट यी फिल्महरू रिलिज हुनेछन् । तर, फिल्मकै गुरुत्वबलले तानेर दर्शकलाई हलसम्म पुर्‍याउला ? अहिले नै भविष्यवाणी गर्न कठिन छ ।

यद्यपि हलिउड-बलिउडबाट गतिलो सिनेमा आएमा दर्शकले आनाकानी गर्ने छैनन्, हलसम्म पुग्नलाई । हलका पार्टपुर्जाहरू क्रमशः गतिशील हुनेछन् । र, पुनः हलमा सिनेमा हेर्ने प्रवृत्ति दोहोरिनेछ । एउटा विरक्तलाग्दो रिक्ततालाई मेट्दै नेपाली सिनेमाले पनि आफ्नो लय समात्नेछ ।

समग्रमा, कोरोना संक्रमणले थलिएका नेपाली सिनेमालाई ब्युँझाउने सिनेमा भित्र-भित्रै, चुपचाप-चुपचाप बन्दैछन् । यसले नेपाली सिनेमालाई वैश्विक मञ्चमा उतार्ने र पारखीको ध्यानाकर्षण गराउनेछ
केही यस्ता सिनेमा पनि बन्दैछन्, जसले नेपाली सिनेमालाई यो बिसौनीबाट नयाँ गोरेटोतर्फ उन्मुख गराउने र गतिशील तुल्याउनेछ । त्यो वैश्विक मञ्च ओटीटी प्लेटर्फम हुनसक्छ ।

नवीन सुब्बादेखि मीन भामसम्मले संभावनाको त्यो सुनौलो पर्दा उघारिदिनेछन् ।

जगजाहेर छ, मीन भाम अर्को सिनेमाको शिकारमा निस्किएका छन् । यसअघि ‘कालोपोथी’ लिएर उनले देश-विदेशको परिक्रमा गरे । आंशिक रूपमा भए पनि नेपाली सिनेमाको स्वाद वैश्विक मञ्चसम्म बाँडे । अब उनी ‘चिसो वर्ष’ बनाउँदैछन् र यसले नेपाली सिनेमालाई एउटा उँचाइमा पुर्‍याउने अपेक्षा गरिन्छ ।

आ-आफ्नै मेलोमेसो मिलाउन हिमाली यात्रामा निस्किएका दुई पात्रबीचको भेट र उनीहरूको आत्मिक अनि आध्यात्मिक सहयात्रा यसको मूल कथा हो । हराएका श्रीमान् खोज्न निस्किएकी पेमा र दाइको खोजीमा हिंडेका लामाबीच दोबाटोमा भेट हुन्छ र उनीहरूको अर्को यात्रा शुरू हुन्छ । कथाको यही फेरो समातेर मीनले स्त्रिmप्टको खेस्रा कोर्दै, मेट्दै र फेरि कोर्दैछन् ।

यस सिनेमा निर्माणका लागि उनले केही अन्तर्राष्ट्रिय फन्ड पनि प्राप्त गरिसकेका छन् । मीनको ‘चिसो वर्ष’ले नेपाली सिनेमालाई नयाँ दिशाबोध गराउनेमा ढुक्क हुन सकिन्छ ।

दिग्गज फिल्ममेकर नवीन सुब्बा पनि अहिले हात बाँधेर बसेका छैनन् । एक महत्वाकांक्षी सिनेमाको खाका बोकेर दौडिरहेका छन् । भनिहालौं, नवीन सुब्बा यस्ता फिल्ममेकर हुन्, जसले नेपाली सिनेमालाई पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याए, चिनाए । सो चलचित्र थियो, नुमाफुङ ।

सिनेमाका आयामलाई त्यति फराकिलो ढंगले बुझ्ने, समाज र संस्कृतिका अवयवलाई त्यति सूक्ष्म ढंगले केलाउने, मानवीय संवेदना र कलालाई त्यति परिपक्व ढंगले समायोजन गर्न नवीन सुब्बा आफैंमा एक अन्वेषक र द्रष्टा पनि हुन् । समग्रमा उनी एक विश्वविद्यालय हुन्, नेपाली सिनेमाका ।

उनै नवीन सुब्बा एक सिनेमा बनाउँदैछन् । उनका अनुसार यो कथाको सतहमा विकासको नाममा पुग्ने ग्रामीण सडक र त्यसले दुई दाजुभाइबीचको सम्बन्धमा ल्याउने उतार-चढाव छ । राई दाजुभाइबीचको सम्बन्धलाई मेरुदण्ड बनाएर उनले नेपाली समाजको भित्री तह केलाउनेछन् संस्कृति, मिथक अनि चेतनाको भित्री तह उधिन्नेछन् ।

रंगमञ्चदेखि क्यानभासम्म इन्द्रेणी पोत्न सक्ने अनुप बराल असलमा कला-साधक हुन् । सिनेमा उनको जीवनकै एक अभिन्न सत्ता हो ।

उनै अनुप बराल लामो समयदेखि एउटा सिनेमाको निर्माणमा जुटेका छन् । चलचित्र हो, दोख । यसलाई भोजपुरको ग्रामीण भेगमा छायांकन सिध्याएर पोस्ट प्रोडक्सनमा पुर्‍याएका छन् । ‘दोख’लाई एउटा विम्बको रूपमा प्रयोग गरेर उनले समाज, संस्कृति र मनोविज्ञानको अन्तरविरोध पेश गर्नेछन् ।

नेपाली सिनेमाका अध्येता मनोजबाबु पन्तले पनि आफ्नै सिनेमाको गर्भधारण गरिसकेका छन् । त्यसैको लागि उनी पोखरा र काठमाडौं आउजाउ गरिरहेछन् । उनी पहिले सर्ट फिल्म बनाउने र पछि त्यसैलाई फिचर फिल्मको रूपमा तन्काउने खाका बोकेर दौडिरहेका छन् ।

‘बुलबुल’ निर्देशक विनोद पौडेल पनि एक महत्वाकांक्षी सिनेमाको योजना बोकेर हिंडिरहेका छन् । उनीसँग दुई भिन्न कथा छन् । एउटा शरणार्थीको विषयमा केन्दि्रत छ भने अर्को विन्दास युवा पात्रमाथि लक्षित छ ।

समग्रमा, कोरोना संक्रमणले थलिएका नेपाली सिनेमालाई ब्युँझाउने सिनेमा भित्र-भित्रै, चुपचाप-चुपचाप बन्दैछन् । यसले नेपाली सिनेमालाई वैश्विक मञ्चमा उतार्ने र पारखीको ध्यानाकर्षण गराउनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!