Search

नवदुर्गाको यो बर्षको नाच सम्पन्न हुर्दै

नवदुर्गाको यो बर्षको नाच सम्पन्न हुर्दै

१६ असार, बाँपीझ्याला, काठमाण्डौं । झण्डै ११ महिनाको सांस्कृतिक प्रस्तुतिपछि असार कृष्ण अष्टमी अर्थात् बुधबार भक्तपुरका नवदुर्गा गणको एउटा ‘लाइफलाइन’ सम्पन्न हुँदैछ । नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रहृमायणीमा विसर्जन गरेर यो वर्षको नवदुर्गा नाच सम्पन्न हुन लागेको हो । घण्टाकर्ण चतुर्दशीको दिन नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि त्यसमा देवता प्रविष्ट हुन्छन् भन्ने मान्यता छ । साथै, मुकुटधारीमा अलौकिक शक्ति प्राप्त हुने विश्वास पनि छ ।

तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरिएका १२ वटा मुकुटधारीसहित कुल १३ जना कलाकार नवदुर्गा नाचमा प्रत्यक्ष संलग्न हुन्छन् । यो नाचमा भैरव (कालभैरव), महाकाली, बाराही, ब्रहृमायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक-एक र सिंह दुम्ह (नन्दी-भृङ्गी) दुईसहित १३ जना पात्रको संलग्नता हुने शर्मा बताउँछन् ।

तिनै नवदुर्गा गणबाट नाचमा सहभागी हुने कलाकारहरु असार कृष्ण अष्टमी अर्थात् भलभल अष्टमीदेखि श्रावण शुक्ल चतुर्दशीसम्म फुर्सदिला हुन्छन् ।

गठेमगः (श्रावण शुक्ल अष्टमी)को दिनदेखि सुरु हुन्छ नवदुर्गा गणको जीवनरेखा । जसरी मान्छेको जीवनमा १६ संस्कारको चलन छ, त्यसरी नै नवदुर्गाको पनि सबै संस्कार पूरा गर्ने गरिन्छ । नवदुर्गा गणले आफ्नो करिब ११ महिनाको जीवनकालभर भक्तपुरका हरेक टोलमा पुगेर सांस्कृतिक नाच देखाउने गर्छन्

विसर्जनका लागि भलभल अष्टमी नै किन ?
भलभल अष्टमीमै नवदुर्गाको विसर्जन परम्पराले बाँधेको संस्कार हो । जानकारहरु यसको पछि कुनै शास्त्रीय मान्यता नरहेको बताउँछन् ।

संस्कृतिविद् विनोदराज शर्मा (राजोपाध्याय) भलभल अष्टमीको दिन भक्तपुरको नदीमा पहिले ठूलो बाढी आउने र नदीमा थुप्रिएका फोहोरहरु बाढीले बगाएपछि नदी शुद्ध हुने भएकोले नवदुर्गा गणको विसर्जन यो तिथिमा गर्न थालिएको बताउँछन् । ‘नदी वेगेन शुद्धति अर्थात् नदी जति वेगमा बहृयो उति शुद्ध हुन्छ भने जस्तै यसदिन हनुमन्ते खोला बेगले बग्ने भएकोले नवदुर्गा विसर्जनको गर्ने परम्परा राखिएको हो,’ शर्मा भन्छन् ।

नवदुर्गाको अन्तिम नाच ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिठ्ठी नखःको दिन इच्छुटोल नाचिन्छ । सोही दिन मुकुटमा प्रविष्ट गराइएको मन्त्र-कर्म) फिर्ता (निष्कृय) गराउने चलन छ । मन्त्र फिर्ता गरेसँगै नवदुर्गाको मुकुटबाट जीवत्व हरण हुन्छ भन्ने मान्यता भक्तपुरवासीमा छ ।

‘इच्छुटोलमा नवदुर्गाको मन्त्र फिर्ता हुन्छ भन्ने मान्यता राखिन्छ । तर मन्त्र फिर्ता सम्भव हुने कुरा भएन । त्यसैले कर्म फिर्ता गर्ने चलन छ । जसरी कुनै पनि मूर्तिलाई हामीले जीवत्व प्रदान गरेपछि त्यो भगवान हुन्छ । त्यसरी नै उक्त जीवत्व हरण गरेपछि कर्म फिर्ता हुन्छ भन्ने मान्यता हो ।’ शर्माले अनलाइनखबरसँग भने । सिठ्ठी नखःदेखि भलभल अष्टमीसम्म कुनै संस्कार हुँदैन ।

इच्छुटोलमा नवदुर्गाको अन्तिम नाच हुन्छ । त्यो गणका सदस्यहरु देवघरमै बस्छन् । त्यो समयमा सबै भक्तपुरवासी देवी मन्दिरमा एक पटक दर्शन गर्न जानुपर्छ भन्ने मान्यता छ ।

भलभल भन्ने शब्द संस्कृत शब्द हो । खोलामा पानी बग्दा भलभल आवाज आउने भएकोले यो अष्टमीको नाम नै भलभल अष्टमी राखिएको जानकारहरु बताउँछन् ।

भलभल अष्टमीको शब्द सन्धिमार्फत् हुने भलभलाष्टमीलाई अपभ्रंश गराएर यो अष्टमीलाई नेवारीमा भगष्टि भनिन्छ । यसरी गठेमगःको दिनबाट सुरु भएको नवदुर्गाको जीवनचक्र भगष्टिको दिन सम्पन्न गर्ने चलन छ ।

अष्टमीको दिन नवदुर्गा विसर्जन गराउनुपूर्व सबै नवदुर्गा गण बाजाको तालमा एक पटक नगरपरिक्रमा गर्छन् । यो दिन बज्ने बाजाको ताल अरूदिनको तुलनामा फरक हुने गर्छ । जीवनकालभरमा नवदुर्गा गणले भक्तपुरको प्रत्येक टोलमा पुगेर नाच देखाउने गर्छन् । हरेक टोलमा छुट्टाछुट्टै संस्कार गरिन्छ ।

११ महिनाको समयावधिभित्र १६ संस्कार सम्पन्न गरी विसर्जनको तयारी गरिएको नवदुर्गासँगै सिफ द्यः अर्थात् महालक्ष्मीको प्रतिमाको आधा भाग पनि नष्ट गरिन्छ । तर त्यसमा रहेका गहनाहरु भने नष्ट गरिँदैन ।

देवी मन्दिरमा एउटा चाँदीको प्रतिमा हुन्छ । त्यो महालक्ष्मीको प्रतिमा हो । त्यसको पछाडिपटि्ट एउटा कलश राख्ने चलन छ । कलशलाई हनुमान घाटमा विसर्जन गरेपछि नवदुर्गा गणको औपचारिक विसर्जन हुन्छ । कलशमा माछा पनि राखिन्छ भन्ने मान्यता छ । कलशमा राखिने माछाको छुट्टै प्रतीक हुन्छ । जसरी पानीमा माछा मिलेर गायब हुन्छ, त्यसरी नै शरीर पञ्चतत्वमा समाहित हुन्छ भन्ने संकेत यसले गर्ने शर्मा बताउँछन् ।

कलश विसर्जनसँगै नाचमा प्रयोग हुने सबै मुकुटलाई मान्छेको जस्तै विधिबाट अन्तिम संकार गर्ने चलन छ । जसमा नवदुर्गामा भैरवको भूमिका निर्वाह गर्ने व्यक्तिले १२ वटै मुकुटलाई दागबत्ती दिने गर्छन् । मुकुट जले पनि गरगहना र पोषाकहरु भने जलाइँदैन ।

घाटबाट फर्किएपछि सबै मुकुटको किरिया कर्म भैरवले गर्ने गर्छन् । अन्तिम संस्कारपछि नवदुर्गाका कुनैपनि गणलाई देवीमन्दिरमा प्रवेश दिइँदैन । त्यसपछि देवताले फुर्सद पाउँछन् ।

विसर्जनको पूर्वतयारी
नवदुर्गा विसर्जनको करिब १५ दिन पहिलेदेखि तयारी सुरु हुन्छ । तर भलभल अष्टमीभन्दा पहिलेको आइतबार वा बिहीबार नवदुर्गा गणलाई सिजा खुवाइन्छ । सिजाको नेपाली अर्थ ‘अन्तिम भोजन’ भन्ने हुन्छ ।

सिजापछि महालक्ष्मी रिसाएर देवी मन्दिरमा जाने र त्यहाँ महाकालीलाई मन्दिरमा प्रवेश नदिने अनौठो संस्कार छ ।

भलभल अष्टमीको दिनदेखि गठेमंगलसम्म नवदुर्गा गणका कुनै पनि सदस्यलाई मन्दिरमा प्रवेश दिइँदैन ।

सिजापछि सोही दिन गछेँ टोलमा अवस्थित एक चोकमा लगेर गणलाई बि हि अर्थात् चिसो रगत खुवाउने चलन छ । त्यो नै नवदुर्गाको अन्तिम भोजन हो ।

नवदुर्गा पूर्णतः तान्त्रिक देवी हुन् । उनलाई नवदुर्गा नाचमा पूर्ण तान्त्रिक विधिबाट पूजा गरिन्छ । तर सोही नवदुर्गालाई तलेजुमा ल्याउँदा भने वैदिक विधिबाट पूजा गरिने संस्कृतिविद् शर्मा बताउँछन् ।

कसरी हुन्छ नवदुर्गा गणको छनोट
पहिलेको नवदुर्गा नाच छनोट र अहिलेमा धेरै फरक आएको छ । संस्कृतिविद् शर्मा सम्झन्छन् ‘पहिलेपहिले गुरु कर्माचार्यहरु नवदुर्गा नाचमा सहभागी हुन योग्य गणको छनोटमा सक्षम हुन्थे । को योग्य र को अयोग्य भनेर सहजै छुट्याउन सक्ने खालका थिए । तर अहिलेको छनोट विधि बदलिएको छ ।’

पहिलेपहिले नियमित देवी मन्दिरमा सेवा गरेको र रातिमा गर्नुपर्ने कठोर अनुष्ठान समेत पूरा गरेका योग्य कलाकारहरु नवदुर्गा नाचमा सहभागी हुन्थे । तर अहिले कलाकार बन्न इच्छुकहरुमध्येबाट एक जनालाई वनमाला समितिले छनोट गर्ने गरेको छ । व्यवस्थापन मिलाउनको लागि अहिले समिति मार्फत् छनोट गर्ने गरिएको भए पनि पहिलेका जस्ता साधकहरु अहिले पाउन मुस्किल रहेको शर्मा बताउँछन् ।

जात्रामा एउटा बाजाको ताल हुन्छ । त्यसको ताल अरु बेलाको भन्दा अलिकति फरक हुन्छ ।

गठेमगःको दिन नरकपालको खोजी
ब्रहृमायणी, माहेश्वरी, कौमारी, बाराही, इन्द्रायणी, महालक्ष्मी जस्ता देवीका पीठहरुको प्रतिनिधि पात्र हुन् नवदुर्गा गण । गठेमगःको दिन नवदूर्गा गणहरू यही नाचको लागि ३२ लक्षणले युक्त मान्छेको पात्र (खप्पर) खोज्नको लागि बजार निस्कन्छन् भन्ने मान्यता छ । बजारमा जो ३२ लक्षणले युक्त व्यक्ति छ त्यसको खप्परलाई तान्त्रिक विधिले निकालेर लैजाने गर्छन् भन्ने मान्यता छ ।

भक्तपुर पर्यटन विकास समितिका सचिव दीपेशराज शर्मा सो नाचमा हरेक वर्ष नयाँनयाँ पात्र लिएर नवदूर्गा गणहरूले नाच देखाउने गरेको बताउँछन् । नवदूर्गाले तान्त्रिक विधिबाट पूजा पात्र निकालेका व्यक्तिको ६ महिनाभित्र मृत्यु हुन्छ भन्ने जनविश्वास छ । त्यसो त पहिलेपहिले ३२ लक्षणले युक्त व्यक्ति भेटेपछि घर बाहिर गएर नवदूर्गा गणले सो व्यक्तिको कपडा माग्ने गर्थे । जसको कपडा माग्छ त्यो व्यक्ति ३२ लक्षणले युक्त भएको ठहर हुन्थ्यो । तर कपडा नदिएको खण्डमा भने नवदूर्गा गण अर्काे व्यक्तिको खोजीमा जान्थे भन्ने मान्यता छ । अहिले त्यो चलन हराइसकेको छ ।

भक्तपुरका राजा भुवन मल्लले अनिकालबाट जोगिनको लागि सहकाल बोलाउन गरेको यो नाच व्यवस्थित भएपछि नै विभिन्न किसिमका बलीहरूको विकास भएको इतिहासकारहरु बताउँछन् ।

भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ आदि क्षेत्रमा यो नाचको प्रदर्शन गरिन्छ । साथै, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछे लगायतका टोलटोलमा गएर पनि फरक फरक दिनमा यो नाच देखाउने गरिएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!