Search

अषाढ १५, दहि चिउरा खानेदिन, दोलखा अनी नित्पुल खेत

अषाढ १५, दहि चिउरा खानेदिन, दोलखा अनी नित्पुल खेत

अनेकौं चाडपर्व रहनसहन र सामाजिक रीतिरिवाजको सेरोफेरोमा रहेको दोलखाको अतीत सम्झिंदा वर्तमान रोएको आभास छ । यतिबेला दोलखाको घुमटाडा परिसर, देगलचाटाडा परिसर, घटासी चौतारी परिसरमा असारे गीत गुञ्जिदै होलान्, तार्थलीका राउत दिदीबहिनीले गाएका असारे गुञ्जनहरु, फुलपा डाँडागाउँका बस्नेत चेलीबेटीका सुरिलो स्वर, नेगल स्वाक्लोका तामाङ दिदीबहिनीको सेलोले गुञ्जायमान होलान्, राम्पा डोकथलीका दाहाल, सुवेदी दिदीबहिनीका लोकभाकाहरु…

सुकिलो जीउ, हातमा बीउ रोपौं धान फाँटमा,
मुठी रोपेर मौका छोपेर मूरी बोकौं यो काँधमा,
सालको पात घुम बनाइ साथ जाउँ है बेलामा,
हे रामचन्द्र असारे पन्ध्र पर्म गीत गाऊँ मेलामा !
यसरी काँठे र झ्याउरे मौलिकता भित्र समेटिएको दोलखा परिसरलाई बिर्सन त कहाँ सकिन्छ र !

यसपाला नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त ? माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याअक्टरले ? खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ त ?

अरु धेरै प्रश्नहरु छन् है कृषीप्रधान देशका कृषीप्रमी नेपालीहरुलाई सोध्नपर्ने । कुन धान रोप्दै हुनुहुन्छ ? कान्छी मन्सुली, बास्मती, घैया, करियाकामत, बगडी या अरुनै कुनै । असारको १५ को रौनकमा स्वागत छ ।

दोलखामा बिभिन्न चाडपर्व मनाइन्छ । एउटा अलग्गै पहिचान छ, दोलखाको तर यो असारको १५ गते भने स्थानीय दोलखालीहरुमा विशेष रुपमा त्यत्ति लोकप्रियता भने पाईएको छैन । किन होला भन्ने प्रश्न उठ्न सक्ला, असार १५ लाई दोलखाका छत्रछायामा रहेका ब्राह्मण क्षेत्री जातीयता भित्र प्रमुखता रहेको पाईन्छ, यो प्रचलन नेपाल अधिराज्यभर नै रहेको पाईन्छ । यसको मतलब दोलखामा मनाउँदै मनाइन्न भन्न खोजिएको भने चाही होइन ।

आजको दिनमा दोलखाको स्थानीय खेतका फाँटमा रोपाइँको चहलपहल चलेकै हुन्छ । यतिखेर दोलखाको दक्षिणी मध्ये भागमा रहेको खेतहरु नित्पुल, गाबुँ, परपुल, फिबुँ तिर रोपाइँको चटारो चलिरहेको हुन्थ्यो । नित्पुल खेतमा अझ विशेष रमाइलो हुने गर्दथ्यौ । त्यहाँ रहेको एक देवी जसलाई बालकुमारीको रुपमा मानिन्छ, जहाँ पूजाआजा नगरीकन अन्यत्र धान रोप्न थालनी गर्न नमिल्ने प्रचलन थियोे । तर कालान्तरमा ती चलनहरु आधुनिकताको अनुसरणमा हराउँदै गएको पाईन्छ ।

त्यो बेलाको स्मरणमा हेर्दा सो नित्पुल खेतमा रहेको एउटा ठूलो ढुंगा छ । जसको दक्षिणी भागमा पत्थरकै ढोका छ, त्यहाँ अन्य कुनै काठको झ्यालढोका छैन । त्यस पत्थर मन्दिरभित्र एक अलौकिक देवीको आसन रहेको मानिन्छ । तर त्यो सिङ्गो पत्थरले बनेको मन्दिरमा कस्तो खालको कक्ष छ भन्नेबारे कसैले बताउन सकेका छैनन्, यस मन्दिरको बारेमा एउटा लोकोक्ति के छ भने, यो मन्दिरमा रहेको देवी देव अदृश्य छ भन्ने सुनिएको छ ।

परापूर्व कालमा स्थानीय दोलखाली बासिन्दाहरुले कन्या कुमारीहरुको गुफा राख्ने बेलामा जो व्यक्तिको आर्थिक संकटका कारणले गुफामा राखिएका कन्याकेटीलाई सूर्य दर्शनको क्रममा लाउन दिइने कन्यावस्त्र आवश्यक पर्दा सो देवीले फिर्ता ल्याउनुपर्ने शर्तमा दिइन्थ्यो रे, आफ्नो काम कर्म सकिएपछि भनेकै समयमा त्यहाँ पु¥याउन जानै पर्ने, यदि फिर्ता लान अबेर गरिएमा त्यो व्यक्तिको घरमा अनिष्ट हुने गथ्यो रे ।

तर एकजनाले त्यहाँबाट लगिएका वस्त्र भाँडाकुँडा कुनै पनि फिर्ता दिन चाहेनछन्, देवीले अप्रत्यक्ष रुपमा हानी पुर्याउँदा पनि फिर्ता नदिएको कारणले त्यो व्यक्तिको वंश नै नाश गरेको र पछि अन्य व्यक्तिलाई सहयोग नगरेर ढोका खुल्दै नखुलेको भन्ने जनश्रुति छ । यस्तो अलौकिक देवदेवीले बास गरेको दोलखाको परम्परा र संस्कृतिहरु ओझेलमा पर्दै गएको आफ्नो आँखाले देख्नुपर्दा दुःख लाग्नु अस्वभाविक होइन ।

यो पत्थरको मन्दिरको बारेमा अझै अनुसन्धान गरेर यसको महत्वलाई प्रचारप्रसारमा ल्याउन सके दोलखाको महिमा अझै बिस्तार हुनेछ भन्नेबारे सोचनीय छ । अब असार पन्ध्रकै सेरोफेरोमा हेर्दा दोलखा शहर भन्दा बाहिर विशेष रोपाइँ हुन्छ । अर्थात् क्षेत्री ब्राह्मण वर्गका दाजुभाइले दिदीबहिनीले धुमधामका साथ बेठी लगाएर बाजागाजाका साथ असारे धुनमा गीत गुञ्जाउँदै मनाउँदै गरेको पाईन्छ । स्थानीय नेवार जातीमा भने यसलाई सामान्य दही चिउरा खाने दिनको रुपमा मनाउने गर्थे । तर आजभोलि भने प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेर मनाउने गरेको पाइन्छ ।

जे होस् दोलखाको अन्तर कुन्तरको खोजीनीति गरियो भने गर्भभित्रै लुकेर रहेका सयौं किंवदन्तीहरु अनुसारको संस्कृतिलाई उजागर गर्न सफल हुनेछौं जस्तो लाग्छ । असार पन्ध्रको यो महिमालाई मध्यनजर राखेर आफ्नोतर्फबाट सकेको योगदान दिएर दोलखाको मौलिकतालाई विश्वभर प्रचारप्रसार गरौं । हामी नरहेपनि हाम्रो अभियान मार्फत दोलखा युगान्तकारी रहनेछ भन्ने कुरालाई मनन गरौं । जय दोलखा भिमसेन ! जय भैरवकुमारी !

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!