Search

रिक्तता भित्र मानव !

रिक्तता भित्र मानव !

कल्पना श्रेष्ठ महर्जन

जतिसुकै तिक्तता नहोस् किन,
जस्तोसुकै रिक्तता नहोस् किन,
मान्छेलाई जरा गाडेको छ नि,
लोभ र लालचको पराकाष्ठाले,
स्वार्थ, दम्भ, कलुषित वासनाले,
उथलपुथल बनाएको छ अर्थले !

धर्म गर्ने भन्ने मुख मन्त्र भित्र,
जालसाजी, षड्यन्त्रको तन्त्र,
खोला, मन्दिर, चौर , सडक,
सबैमा एकाधिकार हडप,
जहिले पनि अभावको राग,
यसरी बस्न खोज्छ यहाँ कि.
देखावटी रिक्तता भित्र मानव !

सारा सम्पत्ति बगरमा परिणत छ,
धाराका पानी धमिलो भएको छ,
त्यही पानीमा माछा मार्ने लत छ,
त्यही बगरमा मानवीयको बध छ,
जहाँ हिजो शहर थियो अब तट छ,
राहतमा आँखा गाड्ने नियत छ !

सञ्जाल ओइरिन्छन् नारा सुनाउँदै ,
आआफ्नो तरिकाले डम्फू बजाउँदै,
बेनियमी दस्तावेजमा नाम जताउँदै,
वास्तविक पीडित नै पाखा लगाउँदै,
बिचौलियाहरुलाई अगाडि बढाउँदै,
लाजमर्दो तानाबाना झण्डा सजाउँदै ।

कतिसम्मको घिन पचाउन सक्दो हो,
कतिमात्रै धरातल बेचेर ठग्दो हो,
सखाप भएँ, सुकुम्बासी बनाए रे,
कसैलाई केही अपराध गरिन रे…
दैवले किन हामीलाई मात्रै सताए रे,
राजस्व छलेर करोड कमाएँ भन्दैनन् !

यता कमिसन…! उता कमिसन,
कमिसन बिना नहुने प्रमोसन ,
क्षेत्रीय अवलम्बनमा नि कमिसन,
बजार अवलोकन गर्दा कमिसन,
हुँदाहुँदै अहिले राहतमा कमिसन्
हेर्दाहेर्दै त लेदो माटोमा कमिसन ?
……………………………………
२०७८/०३/०७
लाजिम्पाट, काठमाडौं ।

              

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!