Search

चीनले ताल बनेको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम कम

चीनले ताल बनेको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम कम

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण तिनदिन देखि थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखा जिल्लाका डिएसपी भेषराज रिजालले तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताए ।

चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको हो । अहिले चिनियाँ पक्षले नै नदीको बहाव कन्ट्रोलमा रहेको जानकारी दिएकाले तत्कालको जोखिम टरेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताउनु भयो ।

दोलखा जिल्लाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा थुनिएको नदीमा बाढी आउन सक्ने र यसले क्षति पुर्याउन सक्ने आशंका थियो । यसै गरी तामाकोशी ड्यामको अहिले चारवटा ढोका खोलिएको छ । तामाकोशीमा आज बिहान ५ः३० बजे गरिएको मापनमा जलसतह १९७९.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको समेत डिएसपी रिजालले बताउनु भयो ।

यसै गरी तामाकोशीमा लेदोसहितको बाढी आएको छ । बहाव बढेसँगै डिस्चार्ज लेभल पनि बिस्तारै बढाउँदै गएका छौं । सम्भावित जोखिमको सामना गर्न आवश्यक पूर्वतयारी गरेका समेत गरिरहेको थाहा भएको छ ।

शनिबार नै जिल्लामा विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर सम्भावित जोखिम विश्लेषण गरी दोलखाका जोखिम क्षेत्रका बासिन्दालाई राख्न सिंगटीमा तीनवटा टेन्ट बनाइएको छ । जोखिम व्यवस्थापनको पूर्वतयारी स्वरुप माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको थियो भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव ढुंगानाले एक जरुरी सूचना जारी गर्दै दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह सहित जानकारी गराई सकेको छ ।

तामाकोशीमा बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्ने अनुमान गरि सोही अनुसार सर्तकता र सुरक्षणकोे लागि सुचना जारी गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!