Search

बगरमा बदलियो त्यो मेलम्ची बजार !

बगरमा बदलियो त्यो मेलम्ची बजार !


बालकृष्ण श्रेष्ठ “पासा”

एकाबिहानै खबर आयो मेलम्ची डुब्यो रे ! हेलम्बु छोप्यो रे ! तिम्बु, चनौटी र याङ्दी बालुवा र लेदो माटोमा विलुप्त भयो रे ! सबैको मुखबाट “ला, बिचरा, मान्छेलाई के भयो होला ? कहाँ गए होलान् ? मेरा मान्छे उतै थिए‘ मेरा साथीहरू ट्राउड माछा खान गएका थिए । च्व च्व च्व भन्दै विरक्त र उदासीन अनि वेदनाले भरिएको वाक्यहरु कानमा ठोकियो ।

तर त्यस्तो भयावह भयानक स्थितिबारे कल्पना सम्म गरिएको थिएन जुन कुरा हरेक सञ्चार माध्यमले छ्याप्छ्याप्ती कतै छापिएको थियोे, कतै घोषित अघोषित संचार संजालले धमाधम प्रत्यक्ष प्रसारण गर्दैथिए, टिभि मोबाइलमा समाचारको लर्को आईरहँदा आफ्नो छिमेकी जिल्ला सिन्धुपाल्चोक धुरुधुरु रोईरहेको आभासले मन विक्षिप्त बन्न पुग्यो, चुकचुकाउनु र सुस्केरा हाल्नु सिवाय केही बाँकी रहेन, कति चीत्कार भरिए होलान्, कति मूर्छा परे होलान् ती अकल्पनीय परिदृश्यले भाव विह्वल बनायो ।

हरेक वर्ष कुनै न कुनै कतै न कतै सिन्धुपाल्चोक जिल्लामा पीडा त नभएको होइन, कहिले सूनकोसीको किनार, कहिले बाह्रबिसे परिसर, कहिले बलेफि क्षेत्रमा बाढी र पहिरोले आक्रान्त पारेको सिन्धुपाल्चोक यसवर्ष मनसुनको शुरुआतमै सबैको तिर्खाको मुहान, ढुंगा बालुवा र गिट्टी खानी मेलम्ची, हेलम्बु, तिम्बु, लार्के र याङ्दीलाई बगरमा परिणत हुनेगरि अकल्पनीय प्रकोपले जरा गाडिएको समाचारका अडियो श्रव्य दृश्यले कसलाई पो मन थाम्न सहज होला र ! त्यसमाथि घरपालुवा जनावरहरु बाँच्न र बच्न खोज्दाखोज्दै भयंकर बाढीसंग संघर्ष गर्दागर्दै मृत्युवरण गरेको दृश्यले मन कहालीलाग्दो हुनपुगेको छ ।

असार १ गतेबाट पर्न शुरु भएको मनसुनी वर्षाले मेलम्चीको तालमा जम्मा गर्न लार्केखोलाबाट पानी ल्याउने जलमार्गमा एक्कासि पहिरो गएर खोलाको बाटो थुनिएपछि पानी बग्न नपाएर ताल बन्दै गएछ । निकासी बाटो नपाएपछि सोही ताल विष्फोट भएर बग्न थालेछ । त्यसैमा ईन्द्रावती खोलामा आएको बाढी र मेलम्ची खोलाको बाढी समेत मिसिन जाँदा मेलम्ची बजारको लागि त्यो बाढी अभिशप्त बन्न पुग्यो ।

त्यो अप्रत्याशित प्राकृतिक प्रकोपको कारणले भरखरै मात्र विकासको अनुहार देख्न पाएको मेलम्ची बजारले भयावह स्थितिको सामना गर्नुपर्यो । हरियाली खेतबारीहरु बगरमा परिणत भएको आफ्नै आँखाले देख्नुपर्यो । अग्ला अग्ला घरहरु जमिनमुनि भासिएर, खोला संगै बगेको देख्दा कुन मन नरोलान् र ! कतिले अकालमा ज्यान गुमाउनु पर्यो, जीवितै रहेकाहरु पनि मरेतुल्य हुनुपर्दाको पीडा वेदनालाई सहनु कसरी त ?

३०–४० वर्षसम्म मेहनत गरेर जोहो गरेर आर्जेको सम्पत्ति ३ दिनमै सखाप हुनपुगेको छ । मेलम्ची बासिन्दाको । त्यतिमात्र कहाँ हुनु र मेलम्ची खानेपानीका कामदारहरु समेत कति त बाढीले बगाएर कता पुर्याए अत्तोपत्तो लागेको छैन । जो जीविकोपार्जनका लागि अन्यत्रबाट पनि आएका थिए, कतिपय व्यापार गर्नकालागि बाहिरबाट पनि आएर होटल पसल गरेर पनि बसेका हुँदाहन् त्यो मेलम्चीमा । मेलम्ची मात्रै होइन यो बाढीले हैबुङ, हेलम्बु, तालामाराङ, लार्के बस्ती, चनौटे, याङ्दी गाउँदेखि बाहुनपाटी, पटाप, छाप सबैलाई विखण्डित पारिदियो यो बाढीले, यसैको प्रत्यक्ष असर मण्डन देउपुर र दोलालघाट सम्म पर्न पुगेको छ ।

सबैको आशाको केन्द्रबिन्दू मेलम्चीको कोलाहलमय त्रासदी पूर्ण वातावरणमा सिंगो बागमती प्रदेश नै विक्षिप्त बनेको छ । मेलम्ची सम्म त विभित्र सामाजिक संघ संस्थाको आँखा पुगेर झीनो राहत पाएकाछन् तर तिम्बु, हेलम्बु र चनौटेतिर ती करुणादायी मन भावनाको नजर कहिले पुग्नेछन् भनेर स्थानीयवासीले आँखा ताकेर बसेका छन् । मानवीय कल्याणकारी समुहहरुको ती कदमहरु त्यहाँ पनि पुगोस् भन्ने कामना मात्रै गर्न सकिएको छ यो कलमले ।

सिन्धुपाल्चोक जिल्लामा मात्रै हरेक वर्ष हरेकले प्राकृतिक प्रकोप बेहोर्न बाध्य भएका छन् सिन्धुपाल्चोक बासिन्दाहरु । स्थानीय जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार २०६८ सालदेखि २०७७ सालसम्म दुई हजार जना मान्छेले ज्यान गुमाएका छन् । ३६ हजार ३७१ वर्गमीटर जग्गा बगरमा परिणत भएको छ । सिन्धुपाल्चोक जिल्लामा मात्रै २०७१ सालदेखि २०७७ सम्म २०३ जनाको ज्यान गएको छ । यस्तै प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर राखेर सिन्धुपाल्चोकका केही स्थललाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको रहेछ । तर प्रतिस्पर्धात्मक अर्थ कुम्ल्याउने प्रवृत्तिले अटेरी बनेर नियम कानुनको धज्जी उडाउँदै जथाभावी जताततै घर बनाउने व्यापार गर्नेहुँदा पनि यो अवस्थामा जोगिन कठिनाई परेको हुनसक्छ भन्न असहज नहोला ।

यस्तो अप्रत्याशित र अकल्पनीय अवस्थामा कुनै कठिनाइ अप्ठ्यारो नमानीकन अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई जति सलाम गरेपनि अपुरो नै होला । सानोतिनो झिनामसिना कुरामा कुनैकुनै प्रहरी र सेनाको भवितव्यं घटनाले वितृष्णाको नजरले हेरेपनि आँखिरमा तन मन लगाएर जनधनको सुरक्षा र सम्भारका लागि यी दुई विभागलाई साधुवाद दिन कंजुस्याईँ गर्नहुन्न । कुनैकुनै नागरिकको दृष्टिकोणले कतैकतै नराम्रो लागे तापनि सेना र प्रहरी देश र नागरिकका लागि अपरिहार्य छ ।

यस्तै गरि यो विपदमा धेरै सामाजिक संघ, संस्था र व्यक्तिगत रुपमा साथ सहयोगमा साथ दिंदै आएका छन् । समाजिक प्राणीको हिसाबले समाज र देशको लागि मानवीय सचेतता संगालेर सेवा गर्नु महान धर्म हो भन्ने कुरालाई मनन गर्न सक्नुपर्छ ।

यसै सिलसिलामा असार ३ गते एउटा सामाजिक संस्थाले राहत वितरणका लागि मेलम्ची पुगेपछि त्यहाँ झडपको स्थिति सृजना भएको रहेछ । यस्तो कुरा सुन्दा अत्यन्तै दुख लाग्यो । खासकुरा के रहेछ भनेर बुझ्दा त्यहाँ राहत बाँड्न जाने क्रममा स्थानीय बुद्धिजीवी र प्रशासनको रोहबरमा बाँडिने कुरा हुँदा स्थानीय राजनीतिक पार्टीका एक समुहले आफ्नो पार्टीको झण्डा र ब्यानर राखेर बाँड्न लगाउने मनशाय राखेको थाहा पाएपछि स्थानीय वासिन्दा र युवाहरुले यस्तो विपदको बेलामा पनि राजनीतिकरण र पार्टीको विज्ञापन गर्न खोजेको भनेर विरोध गर्दै ब्यानर च्यात्तिएको अवस्था रहेको छ । जुन फेसबुकको “नारी“ पेजबाट एकजना शेर्पा साथीले प्रत्यक्ष प्रसारण गरेको छ ।

यो अति नै निन्दनीय कुरा हो । अर्कै दाताले आफ्नो क्षेत्रमा परोपकारीको कार्यक्रम राख्दा अनेरास्ववियुका केही युवा जमातले आफ्नो नामको ब्यानर राखेर हस्तक्षेप गर्नु दुःखद कुरा हो भन्दै विरोध जनाउनु नराम्रो कुरा होइन । आफ्नो जिल्लामा भएको यस्तो त्रासदी पूर्ण अवस्थामा आफैंले सहयोग गर्नुको सट्टामा उल्टो राजनीतिकरण गर्नु अस्वभाविक हो भन्दै चर्को विरोध गरेर केहीबेर झडपको स्थिति भएको देखिन्छ ।

समाजमा यस्ता खाले वितृष्णा फैलाउने जमातप्रति सबैले चनाखो भएर प्रतिकार त गर्नैपर्छ, चाहे ती जुनसुकै पार्टी या संघ, संगठन र समुदाय किन नहोस्, कसैले अर्काको प्रतिष्ठामा आँच आउने काम गर्छ भने ।

मेलम्ची मात्रै होइन यतिबेला नारायणी नदि, सप्तकोसी, मादि मस्र्याङ्दीले पनि त्यत्तिकै वितण्डा मच्चाईरहेको छ । विगतका मनसुनी बेलामा आएको बाढीको घनत्वमा वृद्धि भएको कुरा जलवायु विज्ञान विभागले जनाएको छ ।

अन्तमा, दैनिकी गुजारा चलाउने क्रममा मौकाको फाइदा उठाउन खोज्ने केही नागरिकलाई पनि चेतना जगाउन जरुरी देखिन्छ । जस्तो कि माछा समात्न जाने, काठ दाउरा बटुल्ने कार्यले बगाएर ल्याएको सामान लिने झीनो लोभको कारणले ज्यान जोखिममा पार्ने कुरा प्रत्यक्ष देखिन आएको छ । यतातिर पनि सम्बन्धित पक्षले ध्यान दिए उत्तम हुने थियोे ।

मेलम्चीको बजार बगर बन्यो, पूनः उस्तै शहर बनाउन त मुश्किल नै पर्ला, बाढीले उर्लाएका आँसुलाई शब्द समवेदना बाहेक दिन केही सकिएन, लेदो माटो र हिलोमा भासिएका घरहरु उठाउन नसकौंला, कर्जा लिएर बनाइरएको घर, लगाएको खेती उकास्नलाई सहयोग गर्न नसके पनि सक्ने दाता संघ संस्थाले चिन्तन मनन गरेर चहर्याईएको घाउमा मल्हम लगाउने काम कुरा गरौ त्यस अभियानमा हामी सवै सहभागी बनौं ।

अन्तमा यस्तै अप्ठ्यारो परिस्थितिमा पनि मौकामा चौका हान्ने नियतले पीडित पक्षलाई पाखा लगाएर विचौलियाको माध्यमबाट आएका अन्य बिना पीडितलाई पहिचान गरेर मानवीय देन स्पष्ट रहोस् । यस्तो संवेदनशील घडीमा पीडित पक्षलाई पाखा लगाएर क्षेत्र बाहिरका मान्छेहरुले पीडित वर्गको लिस्टमा नाम लेखाउनु भनेको लाजमर्दो कुरा हो ।

मानव भएपछि दैवीय चेतना, भौतिक भावनालाई आत्मसात् गर्न जान्नुपर्छ । यो अत्यन्तै दुखद परिस्थितिमा परेर ज्यान घुमाएका मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ! पीडितवर्ग सबैमा गहिरो समवेदना ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!