Search

यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ : विज्ञ

यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ : विज्ञ

५ असार, बाँपीझ्याला, काठमाडौं । सरकारले नै यो वर्षको मनसुनमा गत बर्षहरुमा भन्दा धेरै जनधनको क्षति हुन सक्ने प्रक्षेपण मनसुन सुरु हुनुभन्दा अघि नै सार्वजनिक गरेको थियो । नभन्दै मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा आएको बाढीपहिरोले व्यापक क्षति पुर्‍यायो । विपदमा जानकारी राख्नेहरु यो झन् ठूलो विपत्तिको पूर्वसंकेत भएको बताउँछन् ।

यस वर्ष झन् ठूलो विपत्ति आउन सक्छ भन्नु पछाडिका कारणहरु यी हुन् ।

आगलागीका घटना
गत वर्ष सुक्खायाममा व्यापक आगलागीका घटना भए । २०७७ कात्तिकदेखि चैत महिनाको बीचमा ७३ जिल्लामा २ हजार ७ सय १३ वटा आगलागीका घटना भए । जबकी २०७६ सालमा यही पाँच महिनाको बीचमा ४० जिल्लाका १८८ स्थानमा आगलागीका घटना भएका थिए । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार २०७७ सालमा क्षेत्रफलको हिसाबले पोहोरभन्दा २० गुणा बढी भूभागमा डढेलो लागेको सरकारी तथ्यांक छ ।

यी आगलागीका घटनाबाट साना ठूला रुखबिरुवा, झाडी र बुट्यानहरु सखाप भएका छन् । प्राधिकरणका प्रमुख पोखरेल भन्छन्, ‘पहाडको रूखपात र पानी सोस्न सक्ने क्षमता डढेलोले घटाइदिएको छ । त्यसैले यस वर्षको मनसुनमा विपदका घटना वृद्धि हुनसक्ने आंकलन गरिएको छ ।

बढी पानी पर्ने पूर्वानुमान
मौसमविदहरुले यस वर्षको मनसुनमा देशको अधिकांश भागमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण मनसुन सुरु नहुँदै सार्वजनिक गरेका थिए । यस वर्ष नेपालमा मनसुन भित्रिएपछि वर्षाको मापनलाई हेर्ने हो भने वर्षभरि पर्ने पानी पाँच दिनकै बीचमा परेको छ ।

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो र दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिएको थियो । मनसुन सुरु भएदेखि असार १ गतेको बीचमा म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्ले र पाल्पाको गण्डाकोटमा २ सय मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद डा। इन्दिरा कँडेल बताउँछिन् । मनाङमा वर्षभरिमा सरदर ३९५ मिलिमिटर पानी पर्दछ ।

मनसुन अवधिको चार महिनामा मात्रै सरदर २३४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठका अनुसार मुस्ताङमा मनसुन अवधिभर सरदर २७१ मिलिमिटर पानी परेको रेकर्ड मौसम विज्ञान विभागसँग छ तर त्यसको ३० प्रतिशतभन्दा बढी पानी दुई दिनकै अवधिमा परेको छ ।

मनाङ जिल्लामा प्रिमनसुन अवधिमै पनि अन्य वर्षहरुको तुलनामा बढी पानी परेको थियो । हिउँ पनि धेरै परेको थियो । त्यसैले त्यहाँको जमिन कमजोर भयो र यस वर्षको मनसुन सुरु हुनासाथ विपत्ती निम्तायो । असार सुरुकै वर्षाका कारण मनाङमा मात्रै एक हजार भन्दा बढी व्यक्ति विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

कोरोना संक्रमणको महामारी
कोरोना भाइरसको दोस्रो लहरले यस वर्ष नेपाल पनि नराम्रोसँग प्रभावित भयो । असार ३ गतेसम्म पनि ७५ जिल्लामा निषेधाज्ञा जारी रहनुले संक्रमणको जोखिम कायमै रहेको थाहा हुन्छ । वर्षायाममा पनि कोरोना संक्रमणको दोस्रो लहरको प्रभाव कायमै रहने देखिएको छ । बाढी, पहिरो, डुबान लगायतको पूर्वतयारी र प्रतिकार्य कोरोना संक्रमणले प्रभावित हुने चिन्ता सरकारी अधिकारीहरुलाई छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा भन्छन्, ‘उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापनहरु कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती छ । बाढी र डुबानको अत्यधिक जोखिम रहेका जिल्लाहरु नै कोभिडको पनि धेरै जोखिममा छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!