Search

सन्दर्भ अषाढ १, दोलखामा फेरप्रथा र यसको महत्व

सन्दर्भ अषाढ १, दोलखामा फेरप्रथा र यसको महत्व

कृषि प्रधान देशको एक धरातलीय स्वरुपमा नेपालको करीब ६५% भूमिमा खेतीपाती नै हुन्छ । जनसंख्याको दर बढ्दो हिसाबले केही भूभागहरु नासिंदै मासिंदै शहरीकरण हुँदै जाँदा कतिपय ठाउँमा जग्गाको अभावले खेतीपाती नै नहुने अवस्थामा पुगेको छ । तर ऐतिहासिक शहर दोलखाको बस्ती भन्दा दक्षिणपश्चिमी भागमा भएको खेतका फाँटहरु भने अझैसम्म खेतीपातीकै रुपमा यथावत् रहेको छ । समयको फेरबदल संगै यहाँको अझ प्रायः अधिकांश जग्गा जमीन बाँझै रहेको छ । तथापि दोलखामा अतीतमा गरिएको फेर प्रथा अर्थात रोपाइँ गर्दा प्रर्म प्रथाको बारे केही चाख लाग्दो बिगतदेखि बर्तमानसम्म यतार्थतालाई यहाँहरुको लागि प्रस्तुत गरेका छौं ।

दोलखा शहरको पूर्वमा राम्पा, डोकथलि, दोल्तीदेखि दक्षिणपूर्व नेगल, डाडाँगाउँ, फूलपा, स्वाक्लोर गगरस हुँदै मध्यदक्षिण तर्फ, गुनाबुँ, फिबुँ, पर्पुल, नित्पुल, गगर्बुँ, दुल्बुँ, चोक, खर्दि हुँदै कुल्सीग्वार, टाबुँ, जौसी, नारायणबुँ, थिलिबुँ, चिसलती, दाखाबुँ, कोसती, चापती, वत्क भएर खेतैखेतको पृष्ठभूमिमा दोलखाको जीवन व्यतीत भएको थियोे त्यो जमानामा र अहिले पनी कती जग्गा जमीनले त निरन्तरता नै पाएको छ भने कति जग्गा जमीन बाँझो रहेको छ ।

यिनै कृषिको उर्वरता भित्र समेटिएका दोलखाली किसानहरूको जिन्दगानीमा खेतीपाती गर्नुमा पनि छुट्टाछुट्टै विशेषता छ असारे रोपाइँको पृष्ठभूमि रहेको छ जसलाई फेर प्रर्थाको नामले अर्थात प्रर्म प्रथाको नामले चिनिन्छ ।

रोपाइँ शुरु हुनु पूर्व वैशाखको अन्त्यतिरबाट जब गहुँको बाली भित्र्याउने बेला हुन्छ । त्यतिबेला नै एकदुई पाटोको गहुँ काटेर त्यस पाटोमा धानको ब्याड राखिन्छ । यसलाई स्थानीय दोलखाली नेवारी भाषामा “या पुया तइरी’ भनिन्छ । अनि जब जेठ महिनाको आधाआधिमा दोलखाका स्थानीय बासिन्दाहरुको टोलटोलमा आआफ्नो समुदायको बीचमा एउटा कमिटी गठन हुन्छ ।

जुन कमिटीको प्रारम्भिक चरणमा दोलखा नगर भित्रका दाजुभाइ इष्टमित्रको सहभागी हुन्छ, यस कमिटीको नाम नै “फेर” राखिएको हुन्छ जसलाई हामीले यसलाई फेर प्रथा भनेर उल्लेख गरेका छौं ।

यो “फेर प्रथा” शब्दको परिभाषित हिसाबले हेर्दा बाँलाई देखि रोपाइँ सम्मको लागि खेतमा प्रर्म गरेर दिन दिनै आलोपालो गरेर गर्ने कार्यलाई नै फेर अर्थात “फेर प्रथा” नामाकरण दिईएको छ । यस कार्य समूहगत रुपमा काम गर्ने कमिटी दोलखा नगर भित्र करीब १० देखि १२ समूह जति हुन्छन् । फेर बस्नु भन्दा पहिले स्थानिय वासिन्दाहरु बिच सर–सल्लाह गर्नको लागि दुङ्गल टोल, पिङ्गल टोल, कोतसाल टोल, बहिर टोल, श्यामसुन्दर टोल, ट्वाल्चा टोल, डोकलुङा टोल, टँसिचा टोल, गुर्कोट टोल, कोर्छे टोल, गणेश टोल, तारीगाउँ, पालचुटी टोल, डोक्छे टोल, थात विहार्छे टोल, टसिचाबाली टोल र भीमसेनथान आदी टोल टोलमा भेला हुन्छन् ।

जसलाई टोली नेता छान्ने हो उसैको घरमा एक साँझ रमाइलो जमघट हुन्छ । जुन साँझमा सर्वसम्मतीले टोली प्रमुखको चयन हुन्छ । त्यो प्रमुखलाई स्थानीय दोलखा नेवारी भाषामा “नाइके” भनिन्छ । त्यसैमा एकजना भण्डारेको चयन हुन्छ । जसलाई ’ “सुरील” भन्ने गरिन्छ । यसरी “नाइके”, “सुरील” र प्रत्यके दिनको लागि घरबाट खेत पू¥याउने खेतबाट घर पू¥याउने गाईबस्तु गोठालो “सा ग्वाठला” को समेत चयन हुन्छ ।

यसरी चयन भएपछि सगुन लिने चलन रहेको हुन्छ । सगुन सं–संगै समैबजी एैराक खाने चलन रहेको छ । यस पछी अन्य कार्य विभाजन गरिन्छ । “नाइके” को प्रमुख काम नै हरेक सदस्यको खेतको पालो छुट्टाउनु हो, उनैको आदेश बमोजिम सबैजना हरेकले प्रत्येकको खेतमा आवश्यकता अनुसारको खेतालाको रुपमा उपस्थिति जनाएर नाइकेले विभाजन गरेको कार्यभार सम्हाल्नु पर्छ ।
नाइके र सुरीलको छनौट कार्यक्रममा कुनै हानाथाप हुदैन ।

जुन व्यक्ति टाठोबाठो परिपक्व हुन्छ उसैलाई समुहले मान्यता दिएर चुनिने गर्दछ । त्यसपछि रोपाइँका लागि सबैलाई अप्ठ्यारो नपर्ने हिसाबले दिन र गते मिलाएर खेतको कामलाई दुई वर्गमा कार्य छुट्याइएको हुन्छ । पहिलो वर्गलाई बाँझो पल्टाउने “बाँलाईरी” भनिन्छ भने दोस्रो वर्गलाई रोपाइँ गर्ने “या पिइरी” भनिन्छ ।

पहिलोचरण बाँलाइरी (बाँझो पल्टाउने) :
पहिलो चरणमा “फेर” बैठकमा पारित भए अनुसार शुरुमा कति हल गोरु लाग्ने, कतिजना आलीवालिका राख्ने, कतिजना पाटो र कान्ला सफा गर्ने राख्ने भन्नेबारे नाइकेले तोके अनुसार हुन्छ, यसमा खेतको पाथी र क्षेत्रफलको आधारमा कामदार राखिन्छ । अर्थात् एकदिनमा ८ रोपनीदेखि १० रोपनी जग्गाको काम सकाउनुछ भने त्यस हिसाबमा २ हल गोरु, ३ जना आली राख्ने, ३ जना कान्ला पाटो मिलाउने गरि तोकिन्छ ।

यदि चाँडै सकाउने लक्ष राखिएमा संख्या थप्न पनि सकिनेछ । यो कार्यमा पनि गहुँ या अन्य बाली लगाएको जग्गा हो भने सामान्य हिसाबले काम गराईन्छ । यदि वर्षैभरिको जग्गा हो भने उक्त जग्गाधनीले बाँझो खनाएको बापतमा जरिवानाको नियम राखिएको हुन्छ । त्यसको फलस्वरूप जग्गाधनीले कुखुराको मासु खुवाउनुपर्छ, अन्यथा पैसाको हर्जना तिर्नुपर्ने हुन्छ ।

“सुरील” हुने मान्छे भण्डारे जस्तै हो जसको भागमा खाद्यान्न र पेय पदार्थको जिम्मेवारी हुन्छ । जसको खेतको पालो जुन दिन हुन्छ, त्यही दिन बिहानै सुरीलले एउटा थुन्से र माटाको घ्याम्पो बोकेर उक्त व्यक्तिको घरमा जान्छ र घरमूलीले खटाइएको जाँड, खाजा खानको लागि बनाईएको तरकारी लिएर खेततिर लाग्ने गरिन्छ । खेतमा पुगेपछि सुरीलले घरबाट ल्याएको घ्याम्पोलाई, (जसलाई स्थानीय नेवारी भाषामा कोंलर बहन) भनिन्छ ।

उक्त घ्याम्पो भित्र कुनैपनि अन्नको जाँड हुन्छ, त्यो घ्याम्पोको फेदको अगाडिको भागमा सानो दुलो बनाएको हुनेछ, त्यो जाँडमा पानी हालेर समय मिलाएर दिनको दुईपटक खेताला (समुहमा काम गर्ने) हरुलाई पिलाउने गरिन्छ ।

जसलाई त्यो जाँड पिलाउने समयलाई “सुनीय थ्व तोई व्यला” भनिन्छ, पहिलोपटक एउटा खेतको काम ३०–४०% सकिएको बेलामा यसरी पिलाईन्छ भने दोस्रोपटक ६०–७० % काम सकेपछि पिलाईन्छ जसलाई “बलताइँरी” भनिन्छ । यसक्रममा पनि नाइकेले नपिएसम्म अरुले पिउन नहुने चलन रहेको छ । त्यसपछि काम पूरा भएपछि मात्र खाजा खुवाईने चलन रहेको छ ।

पहिलो चरणमा खनजोत गरिएको खेतमा ७–८ दिनको फरकमा रोपाइँ गर्ने समय तोकिएको हुन्छ, त्यतिबेला खेतमा पानी लाउनको लागि टाढाको सरकारी कुलोबाट पानी ल्याउनुपर्ने भएकोले जग्गाधनी एक्लो छ भने ती “फेर” सदस्य भित्रकै केही सदस्यहरू मिलाएर रातभरि पाला बसेरै भएपनि खेतमा पानी लाउन सहयोग गर्ने गरिन्छ ।

यो रोपाइँको बेलामा अगिल्लो चरणको भन्दा कामदारको संख्यामा अलि वृद्धि गरिएको हुन्छ । किनकि यसमा रोपाहारहरुलाई मेलो दिनुपर्ने भएकाले पुरुषतर्फबाट अलि चाँडो काम सकाउनु पर्ने हुन्छ । यसमा ३ हल गोरुको आवश्यकता पर्छ, पहिलो हल गोरु जोताहालाई “चउँलसा वाइरी” भनिन्छ ।

जसमा हलो बाँधिएको हुन्छ, यसले डल्लो फुटाउँदै माटोलाई खन्न र खियाउन सहज बनाईदिन्छ, त्यसपछि यही गोरुले जोत्दै गएको ठाउँमा दुईजना “दुक्वारी” गर्ने हुन्छ, जसको काम थुप्रिएको माटोलाई कोदालीको सहयोगमा गहिराइ पुर्ने काम हुन्छ अर्थात् पाटोलाई सम्याएर फल्याक जोत्नलाई सहज बनाउने गर्छ, यसपछि अर्को हल गोरु फल्याक राखेर माटो अग्लो ठाउँबाट होचो ठाउँमा लगेर सतह मिलाउने गर्छ, यो फल्याकद्वारा जोतिने कार्यलाई स्थानीय नेवारी भाषामा “मिल्सा वाइरी” भनिन्छ ।

यसमा जुआ त उही हुन्छ, तर हलोको ठाउँमा छालाको डोरी बनाएर फल्याकमा बाँधेर ढिस्को हिलोलाई सम्याउने गरिन्छ । यसरी करीब पाटो सम्मिएपछि आली लगाउनेको काम हुन्छ, यसलाई आली राख्ने “पुल्च तइरी” भनिन्छ, यही आलीवालाको साथमा अवस्था हेरेर बाउसे “चोखो ज्य यकु” हरुले पाटोको कुनाकाप्चा सबै मिलाएर रोपाहारहरुको लागि रोपाइँ गर्न सहज बनाइ दिन्छन् ।
यो काम अन्तिम बेलासम्म चालू हुन्छ जबसम्म तोकिएको जग्गामा काम सकिँदैन । रोपाहारहरुको कुरा गर्दा पाटोको बनोट र क्षेत्र अनुसार खटिएको हुन्छ । उनीहरु एउटा हातमा धानको बीउ लिएर अर्को हातले रोप्दै जान्छन् ।

केहीगरि महिलाहरूले रोप्दारोप्दै समयले नभ्याउने जस्तो देखिएमा या अँध्यारो हुँदै गएमा पुरुषले पनि रोप्न सहयोग गर्नुपर्नेछ । यसमा पनि नाइकेले जग्गाधनीलाई जरिवाना तिर्नुपर्ने सहमति भएपछि मात्रै पुरुषले रोप्न पाइने नियम छ ।

एउटा रमाइलो पक्ष पनि छ । दोलखाको रोपाइँमा त्यो के भने, जुन खेतमा धान रोपिन्छ । त्यो खेतमा धान चुट्ने खलो पाटो हुन्छ, जहाँ धान पाकेपछि चुट्ने काम गरिन्छ, त्यस पाटोको बीचमा “भाखरी स्वारीइरी” (भकारी स्थापन गर्ने) काम हुन्छ । त्यही रोपाइँको दिनमा । त्यसमा जुन रोपाहारको मेलो पर्छ, उसैले थापना गर्नुपर्ने भएकोले यो क्षणमा सबैलाई उत्सुकता जगाउँछ । तर त्यो थापना गर्ने महिलालाई भने कठोर तपस्या गरेकोे जत्तिकै हुन्छ ।

किनकि त्यो खला पाटोमा जब धानको बीउको मुठा नै गाडेर भकारीको आकार बनाउन थाल्छ, लगत्तै चारैतिरबाट हिलो पानी बर्साउन थाल्छ । अर्थात् त्यही मेलामा आउनेहरुले हिलो छ्यापेर रमाइलो गर्ने गर्छन् । यो स्मरणीय कुरा नै हुन आउँछ । सकेसम्म त ती महिलाले पनि बाँकी राख्दिनन् । कहिलेकाहीँ त घम्साघम्सी पनि पर्नसक्ने अवस्था आउँछ । हिलो छ्यापेर त अन्यत्र पनी खेल्ने गरिन्छ । तर अन्त खेलेको मनोरञ्जनको लागि भनेर खेल्ने गरिन्छ । दोलखामा यसरी हिलो छ्यापेर खेल्नुको यसतो विशेषता रहेको छ ।

यसरी दोलखामा भएको रोपाइँका ती क्षणहरुले कौतुहलता जगाइ राख्छ । अब दोलखामा रोपाइँ गर्दा चलाउनुपर्ने औजारहरुको कुरा गर्नुपर्दा “हलोलाई– ’सिठु’, जुआलाई– ’यिउ’, अनौलाई– ’क्वाक्मुठी’ त्यसैगरी जुआ र हलोलाई जोड्ने छालाको डोरी हलुङ्गोलाई ’नर्खी’ फलामको फालीलाई ’फाल’ र लामो काठलाई ’यिसु’ भनिन्छ । यस्तैगरी, कोदालीलाई ’कुरी’, कोदालोलाई ’त्वार्नी’ भनिन्छ ।
अब यस रोपाइँको दोलखामा अलग्गै पहिचान गराउने कुरा भनेको खाजा खुवाउने बेलामा दिइने ’म्वार्टुली’ हो । जुन दोलखाको मौलिकतामा पर्न आउँछ । यो भटमासलाई २ दिन अगाडिदेखि भिजाएर टुसा निकालेर झोलयुक्त तरिकाले पकाईन्छ । सबैले काम सकेपछि खाजा खुवाउने काम हुन्छ ।

यसै गरी जुन दिन फेरको सदस्यको खेतको रोपाई हुन्छ त्यो दिन नाईकेलाई विहानै व्याकुन घरमा पू¥याई दिने परम्परा रहेको छ भने आफ्नो नातागोता घरमा पनी ब्याकुन पू¥याउनु पर्छ । तर चेलीबेटीलाई भने धान रोपेको अवसरमा घरमा बोलाएर म्वारटुलीको झोल, आलु तरकारी लगायत दुई तिन थोक तरकारी र अचारको साथमा भात खुवाउने चलन अर्को विशेषता रहको छ ।
अर्को विशेषता धान रोप्दा खेरी खेतमा खाजा खान बोलाउने चलन रहेको छ ।

यसरी खाजा खान बोलाएपछी खाजा खान आउने आफन्त, साथीभाई, साथीसंगी, पाहुना र स्टमित्रहरुले खेतमा रोपाहारहरुलाई चकलेट र अन्य फेरका समूहका सदस्यहरुलाई चुरोट, विडी र कतै कतै मानले रक्सी पनी ल्याईदिने चलन रहेको छ । यसै गरी अविवाहीत युवा युवतीले आफ्नो साथीसंगीलाई विशेष निम्तो दिएर बोलाएको हुन्छ । जसको लागि खेतमा पनी मान, मर्यादाका साथ भिन्न परिकारका खाजाको व्यवस्था गरेका हुन्छन् । तर हाल यो चलन दिन प्रतिदिन हराउँदै गएको छ ।

यसै गरी रोपाइँको अन्तिम दिन जसको खेतको पालो पर्छ । उसकै खेतमा समापनको कार्य हुन्छ, यसबेला पनि रमाइलो नै हुन्छ । फेरका प्रत्येक सदस्यहरु मनलागी नलागी हिलो छ्यापा छ्याप गरेर खेलेको हुन्छन् । यसलाई स्थानीय दोलखावासीले “स्वनकाइरी” भन्छन् अर्थात् प्रसाद ग्रहण गर्ने दिनको नामले प्रसिद्धता पाएको छ ।

यसै गरी जुन खेतमा रोपाइँको सबै काम सकिन्छ । त्यसपछि नाइकेले तीनवटा कोदाली आलीमा गाडेर पुजा गर्छ । अनि आली लगाउने दुई या तीनजनाले त्यो कोदाली जुधाएर हिलोमा खेल्दै रमाइलो गरेर त्यो वर्षको रोपाइँलाई विसर्जन गरिन्छ । यसरी विर्सन पश्चात रोपाहार र फेरका सदस्यहरुले टिका लगाएर सगुन लिएर समापन गर्ने चलन छ ।

तर कतै कतै समापनको दिनमा खुसीयाली मनाएर फेरको सदस्य अर्थात खेतको धनीले बाजा बजाएर मनोरञ्जन दिएको पनी हुन्छ ।

तर अहिले दोलखामा धेरैजसो खेतहरु काम गर्ने ज्यामी र पानीको अभावले गर्दा बाँझो अवस्था रहेको छ । यसरी बाँझो खेत दोलखामा मात्र नभएर नेपालराज्य भरीनै यो हालत भएको छ । यसको लागि स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकाले साच्चिकै कृषि प्रधान देशको ईज्जत राख्न लगाउनको लागि पहल गरेर स्थानिय वासिन्दाहरुलाई अनिवार्य खेती गर्नको लागि उत्प्रेरणा दिलाई सहभागी गराउन पहल गरेको खण्डमा यो फेरप्रथा कथा र किम्वदन्ती जस्तो मात्र हुदैन थियो की भन्ने हाम्रो ठम्याई रहेको छ । …
जय भीमसेन । जय कृषि ।। जय दोलखा ।।।

यस लेखमा प्रयोग गरिएको फोटोहरुमा स्थानिय सहयोगी युवा पत्रकार शिवजी प्रधान, सन्जीप श्रेष्ठ, समित श्रेष्ठ र स्थानिय समाजसेवी भरत प्रधानका साथै केही फोटोहरु फेसवुकबाट साभार गरिएको छ । साथमा वहाँहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौं । साथै आगामी दिनहरुमा पनी यसै गरी सहयोगको अपेक्षा गरेका छौं ।
बाँपीझ्याला मिडिया परिवार
द्वाल्खा – काठमाण्डौं

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment