Search

अन्तर्राष्ट्रिय फिल्म सिटीलाई बजेट विनियोजन नहुनु दोलखा जिल्लावासीको लागि दुर्भाग्यको कुरो हो ।

अन्तर्राष्ट्रिय फिल्म सिटीलाई बजेट विनियोजन नहुनु दोलखा जिल्लावासीको लागि दुर्भाग्यको कुरो हो ।
मदनदास श्रेष्ठ, बरिष्ठ कलाकार

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा न. –२ ऐतिहासिक साँस्कृतीक शहर स्थित थात बिहार्छे टोलमा बुबा नारायणदास श्रेष्ठ र आमा रुद्रमाया श्रेष्ठको कोखबाट बि.सं. २००५ सालमा जन्मनु भएका माईला छोरा मदनदास श्रेष्ठ हुन् । वि.सं. २०२२ सालदेखि करारमा नियुक्ती भई रेडियो नेपालबाट रेडियो नाटक प्रस्तुत गर्दै आउनु भएका श्रेष्ठ २०३५ सालबाट स्थाई नियुक्तीपाई २०६६ सालसम्म रेडियो नेपालमा कार्यरत हुनु हुन्थ्यौ । यसै गरी २०३५ सालमा रेणु श्रेष्ठसंग बैबाहिक जिवनमा बाँधिनु भएका श्रेष्ठको जेठि छोरी मनिला श्रेष्ठ प्रधान र कान्छा छोरा रेमनदास श्रेष्ठ हुनु हुन्छ ।
बि.सं. २०२७ सालमा दोलखाबाट एस.एल.सी उतिर्ण गर्नु भएका श्रेष्ठले प्रविणता प्रमाण तहसम्म अध्ययन गर्नु भएको छ । २०२१ सालमा राष्ट्रिय नाचघर काठमाण्डौमा क्षेत्रपाटी कलाकेन्द्रबाट प्रस्तुत गरिएको पहिलो नाटक “गहना” बाट पहिलो रंगमञ्च यात्रा शुरु गरी धेरै नाटकमा अभिनय गर्नु भएको छ । त्यसै गरी तत्कालिन नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानमा २०२७ सालदेखि आवद्ध भएर नाट्य कलाकार भएर काम गर्दै आउनु भएका श्रेष्ठ नेपाल टेलिभिजनको स्थापनाकाल २०४१ सालदेखि सानो पर्दा टेलिभिजनको बिभिन्न कार्यक्रम सहभागी भई संचालन गर्दै र टेलिफिल्म अभिनय यात्रा शुरु गर्नु भएको हो । यसरी सबभन्दा पहिले नेपाल टेलिभिजन स्थापना भए पश्चात प्रशारण गरिएको पहिलोे टेलिफिल्म “फ्युज गएको जिन्दगी” बाट अभिनय यात्रा शुरु गरेर त्यसपछी चक्रविउ, निमिक्त नायक, आफैले निर्देशन गरेको “आवरण” र बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबशं आचार्यले निर्देशन गरेको मदन बहादुर र हरिबहादुर लगाएत ३ दर्जन भन्दा बढी टेलिफिल्ममा अभिनय गरि सक्नु भएका छन् भने अहिलेपनी अभिनय यात्रालाई निरन्तरता दिई रहनु भएको छ ।
यसै गरी ठुलो पर्दाको चलचित्र त्यसवेला शाहि नेपाल चलचित्र संस्थानले निर्माण गरेको, प्रदिप रिमालले निर्देशन गरेको “के घर के डेरा” बाट २०४३ देखि चलचित्र क्षेत्रमा आफ्नो अभिनययात्रा शुरु गर्नु भएको थियो । अहिलेसम्म वहाँले एकदर्जन भन्दा बढी ठुलो पर्दाका चलचित्रमा अभिनय गर्नु भएको छ ।
आफु कलाकार भएपनी सधै प्रशंसा मुद्रामा देखिन्नु हुने ख्याती प्राप्त बरिष्ठ कलाकार मदनदास श्रेष्ठ दोलखाको स्थानिय समाजमा स–साना बच्चादेखि लिएर बृद्धसम्मको मायाँको प्रतिक बन्न सफल हुनु भएको छ भने कलाकारीता क्षेत्रमा नेपालीहरुको मन भित्रको ढुकढुकी बनेर सम्पूर्ण नेपाली जनताको उर्जा श्रोत हुन सफल श्रेष्ठ हुनु भएको छ । आफ्नो जागिरे जिवन पश्चात दोलखा काठमाण्डौंंको सामाजिक क्षेत्रमा प्रवेश गरि सामाजिक कार्यमा व्यक्त हुनु हुन्छ । यसै गरी दोलखा जिल्लाका पत्रकारहरु, साहित्यकारहरु र कलाकारहरुको संलग्नतामा गठन भएको “श्रष्टा समाज दोलखा” को अध्यक्ष, साँस्कृतीक डब्बली दोलखाको अध्यक्ष हुनु हुन्छ । गौरीशंकर क्याम्पस चरिकोट दोलखाको सहयोगको लागि २०६८ सालमा सदरमुकाममा चरिकोटमा सम्पन्न भएको महायज्ञको संयोजक भएर काम गर्नु भएको थियो । यसै गरी हाल वहाँ जेष्ठ नागरिक महासंघको अध्यक्ष हुनु भई जेष्ठ नागरिकहरु संगको हरेक क्रियाकलापमा सहकार्य गर्दै आउनु भएका नेपालको ख्याती प्राप्त बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठज्यूसंग यस बाँपीझ्याला मिडियाको तर्फबाट उपेन्द्र प्रधान सँग भएको महत्वपूर्ण कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरेका छौं ।

हजुर नमस्कार ।
नमस्कार ।

कोभिड १९ को संक्रमणबाट बचाउनको लागि सरकारले निषेधाज्ञा जारी गरी जनतालाई घर घरमा थुनेर राखेको अवस्था छ । यस समयमा यहाँको दिन चर्चाको बारेमा केही बताई दिनु हुन्छ की ?
कोभिडको संक्रमणले नेपाल मात्र नभएर बिश्वभरी यस महामारीको कारणले गर्दा जनताहरुको दैनिक जिवन तहस नहस भएको अवस्था छ । यसै गरी म लगाएत मेरो परिवारमा पनी यस दोश्रो पटकको कोभिडको संक्रमण बेहोर्नु प¥यौ ।

धर्मपत्नी रेणु श्रेष्ठको साथमा

त्यसकारणले गर्दा हामी घरमै आईसोलेसनमा बस्यौ र औषधी उपचार ग¥यौ । करिव करिव अहिले हामी सवै ठिक भएको अवस्था छ । तर यस दोश्रो पटकको कोभिडको संक्रमणले धेरै नेपाली दाजुभाई, दिदिबहीनीहरुले आफ्नो ज्यान घुमाउनु प¥यो । यस अवस्थामा मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछु ।

यसै गरी यसपाली कोभिड दोश्रोमा धेरैलाई संक्रमण हुनुमा सरकारको धेरै कमी कमजोरी रहेको छ । जव भारतमा संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै थियो त्यसलाई मनन गरी खुल्ला सिमानालाई जति सकिन्छ त्यती कडा गरी सिल गर्नु पर्ने थियो । त्यो भएन, राती राती आवत जावत रहेको छ । त्यो अहिले पनी यथावत रहेको छ । यस्ता क्रियाकलापलाई पुर्ण रुपमा बन्द गर्नु पर्ने त्यो भएन हरेक कुरामा सर्तकता अपनाउनु पर्ने थियो त्यो भएन र अहिले यो हालत भोग्नु परेको छ । यसै गरी जनताले पनी नियम पालना गरेको पाईएको छैन ।

अर्को तर्फ सरकारले जुन कोभिडको लागि भनेर विर अस्पताल लगाएतका अस्पतालहरुलाई छुट्टाएको थियो । त्यसमा पर्याप्त सुविधा उपलब्ध गराउन सकिएन, यसै गरी संक्रमणलाई एम्वुलेन्स सुविधा उपलब्ध नभएको अवस्था सिर्जना भयो । अक्सीजनको समस्या ठुलो रह्यो । यसै गरी स्वास्थ्य सामाग्री खरीद बिक्रिमा ढिला सुस्ती रह्यो । तर पछिल्लो चरणमा सरकारले जनतालाई कोठामै राखेर कोरोना संक्रमण नियन्त्रणको प्रयासमा लागेको छ र अहिले केही संक्रमणको संख्या कम हुदै गएको पनी छ ।

बरिष्ठ कलाकार त्यस माथी समाजसेवामा लागि पर्नु भएको छ । तपाईंको बिचारमा जन्मभूमी दोलखा अनी सिङ्गो दोलखा जिल्लालाई कसरी हेर्नु हुन्छ ?
अव म समाजसेवी चाही होईन यसमा म आफुलाई त्यो ढंगमा प्रस्तुत गर्न चाहन्न । कलाकार चाही हो, त्यस्मा तपाईहरु सवैले मान, सम्मान दिएर बरिष्ठताको उपाधी पाएको छु । यसमा खुसी व्यक्त गर्दछु र त्यसको लागि सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहीनी र शुभचिन्तकहरुमा आभार व्यक्त गर्नुका साथै हार्दिक धन्यवाद दिन चाहन्छु ।

दोलखा जिल्लाको सवालमा कुरा गर्नु पर्दा सामाजिक अभियान्तका रुपमा आफुले गर्न सक्ने सहयोग गर्नु पर्छ भन्ने मान्यता राख्दछु । त्यही अनुसार गरी पनी राखेको छु । यसै गरी पहिला पहिला म विशेषतः दोलखा शहरमा मात्र केन्द्रीत थिए । अहिले समग्र जिल्लालाई नै समेट्ने प्रयासमा लागेर बसेको छु । त्यो कुरा मैले भन्दा पनी यहाँहरुले मुल्याङ्कन गर्ने पर्ने कुरा हो ।

अव, समग्र रुपमा दोलखा जिल्लाको विकासको कुरा गर्नु पर्दा हामी पछी नै परेका छौं । यो किन भयो भने पहिले देखिनै राजनितीक आग्रह पूर्वाग्रहका कारण यस्तो हुर्दै आएको छ । यसै गरी सिङ्गो जिल्लाको विश्लेषण गर्नु प¥यो भने

दोलखा जिल्ला नेपाल भरीको मात्र नभएर विश्व भरीकै लागि चिनाउने प्रसिद्ध दोलखा भीमेसन, त्रिपुरासुन्दरी माई, माहांकाल मन्दिर, टहलेश्वर मन्दिर, शिवपोखरी, कालिञ्चोक भगवती, बिगु गुम्वा, लगाएतका धामीकस्थल, पर्यटकिय स्थानहरुले शोभनिय नेपालको स्विजरल्याण्डले प्रसिद्धता प्राप्त जिरी अनी लिङ्कन बजार, सय थुम्काको शैलुङ डाँडा, बेदिङ गुम्वा, च्छोरोल्पा ताल, लामाबगर लप्ची, हनुमन्तेश्वर डाँडा, देउ ढुंगा र यसै गरी चम्पूजा पार्क, मञ्जुश्री पार्क, बृन्दावन पार्क, मयुरपार्क, बुद्धपार्क, भ्युटावर, सिमपानी, खोरथली खुल्ला चिरियाखानाको सफारीमार्ग, हात्ती छहरा, राङराङ्थली स्थित थामी संग्राहलय र खरिढुंगा लगायत धेरै पर्यटकिय स्थलहरु रहेको छ ।

तर यसलाई अहिलेसम्म हामीले चाहेको जती सदुपयोग गर्न सकेका छैनौं ।

जेष्ठ नागरिक संस्कृतविद् सत्यमोहन जोशीको साथमा

नेपालमा बहुदल आउनु भन्दा पहीले पनी नेताहरुको खिचातानीले विकास हुन सकेको थिएन । त्यसै गरी बहुदल आएपछी पनी जनप्रतिनिधीहरुको गुट, उपगुटका कारणले गर्दा एउटाले गर्न चाहने अर्कोले गर्न नदिने बाँझो हाल्ने कार्य भएको कारणले गर्दा प्रचारमुखी छ तर विकास भने जिल्लामा समस्टीगत रुपमा हुन सकिरहेको छैन । यो मेरो नजरमा मात्र सिमित नभएर जिल्लावासीको नजरमा यही रहेको छ ।

अव दोलखा जिल्लामा के भईदिए राम्रो हुन्छ जस्तो लाग्छ त ?
दोलखा जिल्लामा सवभन्दा पहिले त बाटोकै समस्या रहेको छ । त्यो तपाई हामीले देखेकै छौं । गाउँ गाउँमा पक्की बाटो पुग्नु प¥यौ यसरी पक्की बाटो बन्यो भने त्यो गाउँ, ठाउँको निश्चित रुपमा विकास हुन्छ । अव हेरौ खाडिचौर देखि चरिकोट जिरी जाने बाटोको हातल २० औं बर्ष भईसक्यौ बाटो अहिलेसम्म राम्रो बन्न सकेको छैन । यसमा जनप्रतिनिधीहरुले चासो देखाएको जस्तो पनी छ, नदेखाएको जस्तो पनी छ यसमा विशेष पहल जनप्रतिनिधीहरुले नै लिनु पर्छ र वहाँहरु कै कमजोरीले गर्दा जिल्लाको बाटोघाटो लगाएत हरेक क्षेत्र तहस नहस भएको अवस्थामा छ ।

दोलखा जिल्लाकै दोश्रो पुरानो स्कूल भीम पब्लीक हाईस्कुल अहिलेको भीम माध्यमिक विद्यालय दोलखामा सभाहल निर्माणाधिन अवस्थामा रहेको छ । उक्त सभाहल निर्माणको लागि उपत्यकामा पूर्व विद्यार्थी समाजको संयोजकको जिम्मेवारी पाएर काम गरिरहनु भएको छ, त्यसको बारेमा केही बताई दिनु हुन्छ की ?
यो चाही दोलखा भीम माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुको तर्फबाट चिन्हको अथवा उपहारको रुपमा केही बनाउने भन्ने सोच तयार भएर एउटा समिती गठन भएको रहेछ । सोही अनुसार हाल सभाहल निर्माणाधिन अवस्थामा रहेको छ । जसमा दोलखामा संयोजक पत्रकार भाई रमेश खतिवडा हुनु हुन्छ भने उपत्यकामा मेरो संयोजकत्वमा सहयोग समिती गठन गरेको छ । उपत्यकामा पूर्व विद्यार्थीहरुलाई एकपटक भेला पनी गराई सकेका छौ । अहिलेसम्ममा छ सात लाख रुपैया संकलन गरि सकेको अवस्था रहेको छ । धेरै भन्दा धेरै पूर्व विद्यार्थी दोलखा जिल्लावासिहरुको यस पुन्य कार्यमा सहभागी हुनेछन् भन्ने आशा एवं विश्वास लिएका छौं । अहिले कोभिडको संक्रमणको कारणले गर्दा स्थगन जस्तै भएको छ ।

यसै गरी यस बाँपीझ्याला पत्रिकाबाट के अनुरोध गर्न चाहन्छु भने तपाई हाम्रो सक्रियता र सहभागीतामै हामीले अध्ययन गरेको भीम माध्यमिक विद्यालयमा सभाहल बन्दै छ यस पुन्य कार्यको लागि यहाँहरु देश भित्र बाहीर जहा भएपनी आफुले सक्ने सहयोग गरी सहभागी भई दिनु हुन जानकारी साथ हार्दिक अनुरोध गर्दछु । यही सन्देश वहाँहरुलाई दिन चाहन्छु ।

अव अलि प्रसंग बदलौं, दोलखा जिल्लाको लाकुरीडाँडा स्थित निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म सिटीलाई आर्थिक बर्ष २०७८/०७९ को बार्षिक बजेटमा सरकारले बजेट बिनियोजन गरेको देखिन्दैन किन होला ?
यो चाही हाम्रो दुर्भाग्य नै हो । त्यसमाथी दोलखा जिल्लाकै शसंक्त जल्दाबल्दा युवा नेता सम्वन्धीत मन्त्रालयको मन्त्री पनी हुनु हुन्थ्यौ । अव वहाँकै कार्यकालमा आफ्नो जिल्लाको त्यत्रो ठुलो बहुबर्षिय आयोजनामा बजेट बिनियोजन गर्न त्यती चासो नदेखाउनुमा वहाँको भन्दा पनी हामी सम्पूर्ण दोलखा जिल्लावासीहरुको दुर्भाग्य नै हो । बरु यो भन्दा अगाडीका सञ्चारमन्त्रीज्यूहरुले केही न केही बजेट विनियोजन गरी दिनु भएको थियो । तर यो पटकमा सरकारले बजेट राखेन भनेर आत्तिहाल्नु पर्ने अवस्था भने छैन तैपनी अलिकती ढिलासुस्ती र गाहे चाही पक्कै हुन्छ ।

यस कार्यको लागि विदेशी दातृसंस्थाहरु खोजी वहाँहरुसंग पत्रचार, कुराकानी गरी दिवंगत माननिय स्वर्गिय पशुपती चौलागाई, चलचित्र विकास वोर्डका अध्यक्ष र म लगायत यस संग सम्वन्धीत व्यक्तिहरु बिच धेरै पटक छलफल र बैठकहरु बसी यसलाई अगाडी बढाएका थियौ । यसलाई पनी स्विकृत दिनु पर्ने त मन्त्रालय बाटै हो । त्यो बेलामा पनी मन्त्रीज्यूले त्यती चासो देखाउनु भएन र त्यो दातृ संस्था पनी त्यतीकै हरायो ।

बरिष्ठ कलाकार मदनकृष्णको साथमा

अव सरकारीस्तर बाट कहि कतै भएन भने पनी निजी स्तरबाट भने पक्कै हुन्छ र फिल्म सिटी निर्माण हुन्छ । यसै गरी अहिले बम्बईको एउटा फिल्म उद्योग संग हाम्रो कुराकानी भईरहेको छ । सायद अव कोभिडको संक्रमण केही कम भएपछी वहाँहरु स्थलगत अध्ययनको लागि ठाउ हेर्ने आउने कुरा पनी भएको छ ।

तर फिल्म सिटी पक्कै बन्छ, यसै गरी सरकारले फिल्मसिटी जस्तै सातै वटा प्रदेशमा फिल्म स्टुडियो बनाउने योजना ल्याएको छ, यसै गरी काभ्रेमा बनाउने भनेर ठुलो बजेट बिनियोजन गरेको छ । यसको लागि पूर्व संचार मन्त्री लाग्नु भएको छ । तर त्यो ठाउँमा जग्गा कहाँ छ ? के छ ? केही थाहा छैन तर बजेट त्यत्रो विनियोजन भएको छ । यी बिभिन्न कारणले गर्दा पनी दोलखामा फिल्म सिटी बन्छ । यस कार्यको लागि म सधै प्रयत्न गरिरहने छु ।

काभ्रेमा फिल्मसिटी बनाउनको लागि त्यत्रो ठुलो बजेट विनियोजन भएको छ भनेर भन्नु भयो, तर दोलखा जिल्लाको लाकुरीडाँडामा आजभन्दा नौ बर्ष अगाडी शिलान्यास भएको अन्तर्राष्ट्रिय फिल्म सिटीलाई बजेट विनियोजन नहुनुमा जिल्लावासीे मन्त्रीले चासो नदिएकोले हो की ? हजुर संयोजकले चासो नदेखाउनु भएर बजेट विनियोजित नभएको हो यसबारेमा अलि प्रष्ट पारी दिनु हुन्छ की ?
काभ्रे जिल्लामा बजेट विनियोजन हुनु दोलखा जिल्लामा बजेट विनियोजन नहुनुमा किन कसरी हो यो सबै सरकारले जानोस मैले यस बारेमा कसरी जान्ने । त्यसै गरी संघिय सरकारमा पनी हाम्रै जिल्लाको मन्त्री हुनु हुन्छ । केन्द्रीय सरकारमा सञ्चार मन्त्री हाम्रै जिल्लाका हुनु हुन्थ्यौ, वहाँसंग पनी धेरैचोटी पटक पटक ध्यानाकर्षणको लागि मेरो तर्फबाट अनुरोध सहित कुरा राखेकै थिए ।

यसै गरी वहाँको प्रेस सल्लाहकार राजेन्द्रजी संग पनी कुरा राखेको थिए । तर सुनुवाई भएन, किन गर्नु भएन वहाँको कुरा हो मलाई थाहा छैन । म त समन्वय गर्ने समितीको संयोजक मात्र हुँ । तर नेपाल सरकारको यस परियोजनामा तिस पैतिस करोड लगानी भईसकेको छ । यसमा यआईको काम, डिपिआरको काम जस्ता महत्वपूर्ण कार्यहरु सवै सिद्दिएर अहिले सडक कालोपत्र लगायत अन्य महत्वपूर्ण कार्यहरु धमाधम हुर्दैछ, तर सरकारले यस पटक किन बजेट बिनियोजन गरेन थाहा भएन अव निजी लगानीको लागि पहल कदमी भईरहेको छ ।

त्यसो भए यस पटक उक्त फिल्म सिटीको लागि बजेट बिनियोजन नै नहुने भयो होईन त ?
ल अव कसरी हुन्छ र अव त बजेट भाषण नै भईसकेको अवस्था छ । अव अर्को कुरा बागमती प्रदेश भित्र हामी छौं । त्यसैले बागमती प्रदेशको पनी दायित्व हो । अव बागमती प्रदेश सरकारले बजेट राखी दिने भन्ने कुरा थाहा भएको छ । र त्यतातिर पहल कदमी भईरहेको छ । यसको लागि सम्वन्धीत जनप्रतिनिधी र सांसदज्यूहरु र सम्वन्धीत निकायका मुख्य व्यक्तित्वहरु संग छलफल समन्वय गरेर अनुरोध पनी गरेको छु ।

धर्मपत्नी रेणु श्रेष्ठको साथमा, दोलखा भीमसेन परिसर अगाडी

हुन त यो भन्दा अगाडी तिन करोड पचासलाख राखेको थियो । तर खर्च गर्न ज्यादै समस्या भयो, प्राविधीक कुरा नै बुझ्न गाहे भयो । यसै गरी पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, पूर्व संचार मन्त्री माधव पौडेल, पूर्व मन्त्री शेरधन राई र सहरी विकास बिभागको विशेष सहयोगमा म लगायत मेरो टिममा कार्यरत समूहका सदस्यहरुको सक्रियता र स्थानिय दोलखा जिल्लावासीहरुको सहयोगमा धेरैभन्दा धेरै पूर्वाधारका कामहरु सम्पन्न भईसकेको अवस्था रहेको छ ।

अव यती पूर्वाधार बनी सकेको परियोजनालाई सरकारले किन बजेट विनियोजन गरेन त्यो थाहा भएन र यो बुझ्ने कुरा पनी रहेन । दोलखा जिल्लाकै युवा नेता संचारमन्त्री हुदा यस कार्यमा सहयोग गरेको भए धेरै राम्रो हुने थियो । तर किन गर्नु भएन मलाई थाहा छैन ।

दोलखा जिल्लाको ऐतिहासिक, साँस्कृतीक धरोहरको रुपमा ख्याती प्राप्त ऐतिहासिक शहर दोलखा रहेको छ । यस भित्र रहेको भाषा, संस्कृती, परम्परा र चाडपर्वहरु दिन प्रतिदिन लोप हुँर्दै गएको छ, सम्पदाहरु नास भएर जिर्ण अवस्थामा पुगेको छ । अव यसको संरक्षणको लागि तपाईको विचारमा के गर्नु पर्ला ?
अव भाषा, संस्कृती, परम्परा र चाडपर्वहरु दिन प्रतिदिन हराउर्दै गएको छ । यो हाम्रो दोलखामा मात्र नभएर काठमाण्डौं, ललिपुर, भक्तपुर र किर्तिपुर जस्ता ठुला शहरहरुमा पनी विस्तार विस्तारै मासिन्दै गएको अवस्था छ । यस बारेमा भन्ने हो भने सरकारले त चासो दिएकै पाईन्दैन । अव यो समस्या भनेको हामीले भन्दा पनी राज्यले चासो दिएर संरक्षण गर्नु पर्छ ।

यसै गरी दोलखा शहरको कुरा गर्नु पर्दा त्यहाको भाषा, संस्कृती, चाडपर्व, परम्परा र सम्पदामा आफ्नै मौलिकता र भिन्न पहिचान भएकोले पनी यसको महत्व छ त्यसैले यस्को संरक्षण नितान्त जरुरी रहेको छ । त्यसैले यसको संरक्षण स्थानिय निकायले गर्नु पर्छ र त्यसले बार्षिक बजेट विनियोजन गरेर अगाडी बढ्नु पर्छ । साथै दोलखावासी र सम्वन्धीत गुठीयारहरुले यसको लागि आवश्यक पहल गर्नु पर्छ । यदी स्थानिय निकायबाट मात्र सकिन्दैन भने प्रदेश सरकार संगको समन्वयमा यी कार्यहरु सम्पन्न गर्न अति आवश्यक रहेको छ ।

अझ भन्ने हो भने केही न केही दोलखाका स्थानिय युवाहरुको सक्रियताले भीमेश्वर नगरपालीको केह िसहयोगले दोलखा भित्रको जात्रामात्रा परम्परा संचालन हुर्दै आएको छ तर यसले मात्र पर्याप्त छैन । त्यसै गरी द्वाल्खाको नेवारी भाषाको क्षेत्रमा आफुले गर्न सक्ने यस बाँपीझ्याला पत्रिकाले सहयोग गरी सचेतकको भूमीका निर्वाह गर्दै आएको छ, यसको लागि पनी स्थानिय निकायको सहयोगको आवश्यकता छ ।

साथै सबै ठाउँमा सवैले नेतृत्व लिन सकिन्दैन कसै न कसैको नेतृत्व स्विकार गरेर दोलखाको सामाजिक क्रियाकलापलाई सहयोग पुग्ने कुरामा अगाडी बढ्नु पर्छ । यसै गरी संस्कृती, परम्परा जात्रामात्रा र गुठीहरुको बार्षिक सुची तयार गरेर संचालन कसरी गर्ने गराउने भन्ने बारेमा व्यापक छलफल, अन्र्तक्रिया गरी यसको समस्या समाधानको बाटो पहिल्याएर बिना पूर्वाग्रह अगाडी बढ्नु पर्छ ।

यसै गरी यस कार्यको लागि स्थानिय वासिन्दाहरुबाट मात्र पहिला पहिलाको जस्तो संरक्षण गर्न खोजेर अहिलेको अवस्थामा यो सम्भव छैन त्यसैले स्थानिय निकायले यस कार्यको जिम्मेवारी लिएर, स्थानिय, केन्द्रीय बार्षिक कार्य योजना भित्र पारेर बजेट तर्जुमा गरी सहयोग गर्नु पर्छ र यसो गरेको खण्डमा संचालन प्रक्रियामा सहज र सजिलो हुने निश्चीत छ ।

दोलखाको गुठीको कुरा गर्दा भेड्पु र कालिञ्चोकको गुठी लगायत अन्य गुठीहरु पर्छ । अव यसको संचालनको लागि के गर्नु पर्ला ?
दोलखा भित्रको स–साना गुठीहरु भन्दा पनी अहिले भेड्पु र कालिञ्चोकको गुठीमा ठुलो समस्या आएको छ अव यसको समस्या समाधान कसरी गर्ने र गराउने भन्ने बारेमा राज्यले चासोका साथ समाधान गर्ने तिर लाग्नु पर्छ । जवदेखि बहुदलिय व्यवस्था नेपालमा आयो त्यसपछी भेड्पुको गुठीको जग्गा जमीन कमाउने मोहीहरुले आयस्था दिएको छैन ।

यी कुरालाई स्थानिय स्तरबाट र राज्य स्तरबाट चासो लिएर समस्या समाधान तिर लाग्नु पर्छ । भीमेश्वर भगवानको नाममा रहेको जग्गाको आम्दानीको श्रोतलाई कसरी नास हुन नदिने त्यो बारेमा सोचनिय कुरा छ । यसै गरी कालिञ्चोकको जग्गाहरु पनी दोलखावासीको गुठी भित्र पर्ने जग्गा नै हो । यो पनी अन्यत्रका मान्छेहरुले आम्दानीको श्रोत बनाएर खाईरहेका छन् ।

यसबारे पनी हामीले चासो दिनु पर्छ । यी सवै कुरामा दोलखावासीहरु एक भएर सरकार संग निकासको लागि समन्वय गरी समस्या समाधानको बाटोमा लाग्नु पर्ने मुल आवश्यकता रहेको छ । र जहाँसम्म स–साना गुठीहरुको कुरा छ ती गुठी संचालनको लागि पहिला पहिलाको जस्तो थोरै आम्दानीले पुग्दैन यो कारणले धेरै जात्रामात्रा लोभ हुने अवस्थामा छ । यसरी संस्कृती, परम्परा, जात्रामात्रा र गुठीहरु संचालनको लागि छुट्टै एउटा निकाय तयार गरेर संचालन प्रक्रियामा अगाडी बढाएर जानु पर्छ ।

दोलखाको नेवारी जातीले बोलिने मातृभाषाको कुरा गर्नु पर्दा उपत्यकाका तिन शहर काठमाण्डौं, ललिपुर र भक्तपुरका नेवार जातीले बोलिने नेवार भाषा भन्दा दोलखाको नेवार जातीले बोलिने नेवार भाषा भिन्न छ र यसको छूट्टै मौलिक विशेषता रहेको छ । तर दिन प्रतिदिन लोप हुदै गएको पनी छ, अव यसको संरक्षण र निरन्तरताको लागि के गर्नु पर्ला ?
अव दोलखाको नेवारी जातीको मातृभाषाको कुरा गर्नु पर्दा स्थान विशेषले फरक रहेको पाईन्छ । यसरी उपत्यकामा बोलिने नेवारी भाषा जस्तो काठमाण्डौ, ललितपुर र भक्तपुरमा बोलिने भाषामा केही भिन्नता रहेको छ । यसै गरी हामीले दोलखामा बोलिने नेवारी भाषामा त करिव करिव पचास प्रतिशत जती भिन्नता रहेको छ ।

यसै गरी हामीले बोलिने नेवारी भाषा, तौथल, दुति, जेठल र लिस्तीका नेवार जातीले बोलिने नेवार भाषामा धेरै जसो मेल खाएपनी केहीमा फरकै छ । यसै गरी कति नेवार जातीले त आफ्नो मातृृभाषाको प्रयोग गर्न समेत सकेका छैनन यो दुःखको कुरा छ । यस्तै भएर गएको खण्डमा हाम्रो दोलखाको नेवारी भाषा पनी लोप नहुने भन्ने छैन । त्यसैले हामी हामी बिच, छलफल अन्र्तक्रिया आदी गरेर यसको संरक्षण कसरी गर्ने यसको लागि के गर्ने राज्यलाई के भन्ने, भन्ने बारेमा हामीले नै पहल गर्नु पर्छ । यसको लागि हामी विच एकता र सहमती हुन अती आवश्यक छ ।

यसै गरी तपाईहरुकै पहलमा द्वाल्खा नेवारी भाषाको एउटा पुस्तक खँुकुठी नाम दिएर शब्दकोष निकाल्नु भएको छ । द्वाल्खा नेवारी भाषाबाट शुरुदेखि यो बाँपीझ्याला पत्रीका निकाल्नु भएको छ । दुईपाने पत्रिकाबाट विकास गरेर आज अनलाईन पत्रिकासम्म संचालनमा ल्याउनु भएको छ । यो भाषा विकासक्रमको खुड्किला मध्येको एक रहेको छ, यसको साथै साथै यसलाई संरक्षण गर्ने भन्ने बारेमा लागि रहनु भएको छ ।

यसको लागि वडा नं. २ का अध्यक्ष विराजमान श्रेष्ठको सहयोग र सहभागीता रहेको छ । यो हामी सवैको लागि खुसी कुरा भएको छ । यसै गरी यस कार्यमा हामी सवै दोलखावासीहरुको सहयोग र सहभागीता हुनु पर्छ । तर कति कुरामा हाम्रो मौलिक शब्दहरु पाईरहेका छैनौ । जस्तै हामीले स्याउदाई भन्छौ यसको नेपालीमा ढोग्य भन्ने अर्थमा जान्छ र नमस्तेलाई हामीले के भन्ने त ? त्यसैले भएको भाषीक शब्दलाई खोज्ने र नभएको भाषीक शब्दलाई कसरी के गरेर जाने भनेर अनुसन्धान गर्नु पर्छ ? हामी बिच छलफल, बहस गरेर समस्याको समाधान गर्नु पर्छ ।

यसको लागि स्थानिय निकायबाटै सहयोगको आवश्यकता रहेको छ । यसरी भाषा, संस्कृती लगायत हरेक क्षेत्र सरकार संग जोडिने भएकोले त्यस्को लागि स्थानिय सरकारले समेट्नु पर्छ । यदी स्थानिय सरकारले मात्र सम्भव छैन भने प्रदेश सरकारको दायित्व र जिम्मेवारी भित्र पर्छ भन्ने मेरो भनाई रहेको छ ।

जेष्ठ नागरिक महासंघको केन्द्रीय अध्यक्ष हुनु हुन्छ । यसको बारेमा केही बताई दिनु हुन्छ की ?
यो २०४३ साल देखि शुरु भएको संस्था हो । यसै गरी नेपालमा युवा संघ छ, महिला संघ छ अनी बाल संघ छ र अपाङ्ग संघ छ । यसरी सवै निकायको संघ–संस्था छ तर जेष्ठ नागरिकको बारेमा बोल्ने कुनै संघ संस्था छैन । त्यसैले उ सधै दबिएर बस्नु पर्ने, कसैले उसको समस्याको बारेमा आवाज उठाई नदिने र राज्यलाई सूचना पू¥याउने माध्यम भएन त्यसकारण यसको दर्ता भएको हो । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक लिलादेवी केसीको नेतृत्वमा जेष्ठ नागरिकहरुलाई पढाउने, प्रौढकक्षा संचालन गर्ने भनेर वहाँहरुले एउटा प्रौढ कक्षा शुरु गर्नु भएको हो ।

यसरी शुरु भएपछी जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि हामी संगठित हुनु पर्छ र त्यसको लागि एउटा संस्था चाहिन्छ भनेर जेष्ठ नागरिक सञ्जाल भनेर वहाँहरुले दर्ता गर्नु भएको हो । त्यसैबाट विस्तार भएर २०६८ सालमा आएर जेष्ठ नागरिक संघ भनेर नेपाल भरीका सम्पूर्ण जिल्ला भरी गठन गरि अगाडी बढेको हो ।

सबै जिल्लामा संघहरु गठन भए पश्चात पछी महासंघको नामाकरणबाट अगाडी बढेको हो । पछी सरकारले यसलाई मान्यता दिए पश्चात सरकार संगको सहकार्यमा पहिले ७५ जिल्लामा यसको शाखा कार्यालयहरु थियो भने अहिले ७७ जिल्लामा शाखा राखेर काम अगाडी बढाएका छौं ।
यसै गरी यस महासंघको पहिलो अध्यक्ष डा. लिलादेवी केसी हुनु हुन्छ ।

त्यसपछी आएर डा. गौरीशंकर लाल दास यसको अध्यक्ष हुनु भयो । त्यसपछी सर्बोच्च अदालतको न्यायाधिस एवं राष्ट्रिय मानवधिकार आयोगका अध्यक्ष रामनघिना सिंह हुनु भयो । त्यसपछी चौथौ अध्यक्षमा मैले कार्यकाल सम्हालेको छु । मेरो पनी कार्यकाल सिद्धी सकेको अवस्था छ । अव यो कोभिडको कारणले गर्दा मात्र यसको अधिवेशन हुन सकेको छैननी ।

मेरो कार्यकालमा म लगायत मेरो टिमले दुई तिनवटा कामहरु सम्पन्न गर्ने मौका पाए । जेष्ठ नागरिकहरुको बारेमा एउटा ऐन बनाएका छौं । यस भित्र जस्तै जेष्ठ नागरिक आफ्नो आमा बुबाहरुलाई घरपरिवार बाट टाढा बनाएर आश्रममा लगेर राख्ने होईन की घर परिवारमै राख्ने वातावरण मिलाएर राख्नु पर्ने, जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने खर्चको लागि छोराछोरीहरुको कमाईको दश प्रतिशत वहाँहरुको लागि छुटाउनु पर्ने, जेष्ठ नागरिकहरुको लागि सुनुवाईको लागि एउटा निती निर्माण गर्ने छुट्टै संरचना तयार गर्ने, छोराछोरीहरुले पालन पोषण गरेन भने तिनीहरुलाई के गर्ने भन्ने लगायतका बुंदाहरु समावेश गरेर ऐन निर्माण गरेका छौं ।

यसै गरी २०५१ सालमा पूर्व प्रधानमन्त्री स्वर्गिय मनोमोहन अधिकारीको पालादेखि लागु गरेको जेष्ठ नागरिकहरुको लागि स–सम्मान बृद्ध भक्ता भनेर राज्यबाट प्राप्त रु. १००।– भयो र पछी पाँचशय हुर्दै एकहजार पुग्यो र त्यो बृद्धभक्ता भन्नु हुदैन यसलाई जेष्ठ नागरिक भक्ता भनेर आवाज उठायौ । त्यही अनुसार त्यो भक्ताको नामाकरण गर्ने मौका मिल्यो । यसै गरी जेष्ठ नागरिक मन्त्रलालय नभएकोले सरकार संग समन्वय र पहल ग¥यौ त्यस पछी अहिले महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय भनेर नामाकरण गर्न सफल भयौ त्यो मन्त्रालय अहिले स्थापित भएको छ । त्यसपछी भर्खरै मात्र प्रत्येक बर्षको पौष ११ गते राष्ट्रिय जेष्ठ नागरिक सम्मान दिवश मनाउने क्याविनेटबाट पास सरकारले निर्णय गरि सकेको छ । यसरी धेरै निर्णयहरु जेष्ठ नागरिकहरुको हक अधिकारको लागि गर्न सफल भएका छौं ।

बाँपीझ्याला अनलाईन पत्रिका पढ्नु हुन्छ ? यसलाई अझ अगाडी बढाउन के गर्नु पर्ला ?
पढ्छु किन नपढ्नु नी । मलाई लाग्छ यो पत्रिका २०५५ सालदेखि प्रकाशनमा ल्याएको जस्तो लाग्छ । किन भने मेरो अन्र्तवार्ता २०५६ मा लिएको मलाई याद छ । यसै गरी शुरुको प्रकाशनदेखि अहिलेसम्म यस पत्रिकाले कहिले उकालो कहिले ओरालो हुर्दै आज अनलाईनसम्म पुग्न सकेकोमा खुसी व्यक्त गर्दछु । यस बाँपीझ्याला पत्रिकालाई दोलखा शहरको मुखपत्र अनि सिङ्गो दोलखा जिल्लाको सूचनाको श्रोतको रुपमा विकास गर्नु पर्छ भन्ने मेरो धारणा रहेको छ ।

हिजोका दिनहरुमा कुनै हाम्रो दोलखाको समाचारहरु, विकास निर्माणका क्रियाकलापहरु लगायतका महत्वपूर्ण कुराहरु सजिलै र तुरुन्तै प्रकाशन गरी जनमानसमा पू¥याउन गाहा्े थियो आज अनलाईनको विकासले गर्दा सजिलो भएको छ । त्यसै गरी बाँपीझ्याला पत्रिका अनलाईनमा प्रकाशन शुरु भएर यी सवै कार्यहरुलाई सजिलो बनाई दिएको छ । यसै गरी दोलखा जिल्ला घरभई विदेशमा बस्नु हुने दोलखावासी दाजुभाई, दिदिबहीनी, छोराछोरी, नाती नातीनीहरुको लागि र सम्पूर्ण नेपालीहरुको लागि समाचारको स्रोतको रुपमा यसले सहयोग गर्दै आएको छ ।

यस कुरालाई हामी सम्पूर्ण दोलखा जिल्लावासी र विशेषतः दोलखावासीले बुझ्न जरुरी रहेको छ । त्यो माथी दोलखाको नेवारी भाषाको प्रबद्र्धन गरी दोलखावासीहरुको पुराना पुस्ताहरुलाई निरन्तरता दिन र नयाँ पुस्ताहरुलाई प्रयोगमा सहयोग पू¥याउने यसको अर्को उद्देश्य अनी लक्ष्य रहेको छ । यस कार्यमा तपाई हामी सहभागी भई सहयोग गर्नु पर्छ ।

यसै गरी यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भई सहयोग गर्ने सवैमा आभार व्यक्त गर्दै निरन्तरताको कामना गर्दछु । अर्को कुरा हामी बिचको आत्मीयता यही भाषा, संस्कृती परम्पराको माध्यमबाट रहने र पहिचान दिने भएकोले यसको जर्गेना गर्ने अहिलेको आवश्यकता रहेको छ भने त्यसै गरी संरक्षण गर्नु पनी उतिकै महत्वपूर्ण बिषय बनेको छ । यस कार्यको लागि मेरो पनी सहभागीता र सहयोग रहने छ भन्ने प्रतिवद्धता जाहेर गर्दछु ।

यस पत्रीका मार्फत दोलखावासी लगायत जिल्लावासीको लागि केही भन्नु हुन्छ की ?
सर्व प्रथम दोलखाको सामाजिक क्रियाकलापमा हामी सवै एकठाउँमा उभेर अगाडी बढ्नु पर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ । दोलखा शहरको विकास निर्माणको क्रियाकलापमा राजनितीक रुपमा भन्दा पनी सामाजिक रुपमा एकठाउँमा बसेर अगाडी बढ्नु पर्छ ।
यसै गरी दोलखा जिल्लावासीहरु सम्पूर्णमा जिल्लाको समग्र विकासको लागि हामी एक भएर अगाडी बढौं ।

प्रकृतीले हामीलाई जुन उपहार दिएको छ त्यसको सदुपयोग गर्न हामी पछी नपरौं, यस पुन्य कार्यमा तपाईं हामी सबै सहभागी भई सहयोग गरौ । राजनितीक प्रतिशोधको आधारमा कुनै विकास निर्माणका क्रियाकलापलाई असर पुग्ने काम नगरौं । आफ्नो पहिचान भन्दा ठुलो केही छैन त्यसैले जिल्लाको पहिचाहन हुनु नै हामी सम्पूर्ण दोलखाजिल्लाबासीको लागि गौरव हुन्छ यही कुरालाई हामी सवैले मनन गरौ ।

अन्तमा मेरो बिचारलाई जनमानस समक्ष पू¥याउन सहयोग गर्ने यस बाँपीझ्याला पत्रिकालाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु । साथमा उद्देश्य प्राप्तीको लागि निरन्तरताको कामना गर्दछु ।
जय दोलखा भीमेश्वर, जय होस् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!