Search

नेवारी धर्म संस्कृती, परम्परा र चाडपर्व नेपालको अस्थीत्व र पहिचान भएकोले यसको संरक्षण गर्न नेपाल सरकार र स्थानिय नियकायले अग्रसरता लिनु पर्छ ।

नेवारी धर्म संस्कृती, परम्परा र चाडपर्व नेपालको अस्थीत्व र पहिचान भएकोले यसको संरक्षण गर्न नेपाल सरकार र स्थानिय नियकायले अग्रसरता लिनु पर्छ ।
राजेन्द्र श्रेष्ठ,
वडाध्यक्ष, का.म.न.पा वडा नं. –२

चित्त नबुझेको कुरालाई सामाजिक सञ्जालको माध्यमबाट हुन्छ या प्रत्यक्ष भेटेर हुन्छ सम्बन्धित निकायमा पुर्याएर स्थानीय जनताको भलाईका लागि अहोरात्र खटेर काम गर्न पटक्कै नहिच्काउने जनप्रतिनिधि मध्येका एक काठमाडौं महानगरपालिकाको वडा नं. २ को युवा प्रतिनिधि हुनुहुन्छ वडाध्यक्ष राजेन्द्र श्रेष्ठ ।
स्थानीयवासीले कुनैपनि पीडा भोग्न नपरोस् र कसैलाई अप्ठ्यारोमा पर्ने काम नहोस् भनेर चनाखो भएर लागिरहेका वडाध्यक्ष राजेन्द्र श्रेष्ठलाई कसैसँग खुसामद गर्नुपर्ने जरुरी देखिदैन । जनताले जनताकै विकास र सुरक्षाको लागि चुनावमा जिताएर पठाएपछि जनताकै लागि तत्परता देखाउनु नै आफ्नो कर्तव्य सम्झिने राजेन्द्र श्रेष्ठज्यूले कसैको धम्की र घुर्कीको प्रवाह नभएको कुरा हामीलाई बताउनुभएको छ । माथिल्लो निकायले तोकेर आएको कुनैपनि सामाजिक कार्यक्रमलाई समूदाय र समूदायका सदस्यहरु समक्ष प्रस्तुत गरेर बिना पक्षपाती समानरुपले कार्ययोजना सफल बनाउनुपर्ने आफ्नो दायित्व सम्झिनु हुन्छ ।
काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाटका निवासी बुबा राम बहादुर श्रेष्ठ र आमा धनमाया श्रेष्ठका सुपुत्र राजेन्द्र श्रेष्ठको जन्म लाजिम्पाटमा नै भएको हो । उहाँले काठमाडौंकै जुद्धोदय पब्लिक हाइस्कुलबाट एसएलसी उतिर्ण गर्नु भएर सरस्वती क्याम्पसबाट प्रमाणपत्र तह पूरा गर्नुभएको हो ।
राजेन्द्र श्रेष्ठज्यूको राजनीतिक पृष्ठभूमि नेकपा (एमाले) भित्र समाहित भएतापनि उहाँको सैद्धान्तिक बिचार अनुसार कुनैकुनै नेताहरूको अस्वाभाविक कदमलाई मान्यतामा राख्न चाहनुहुन्न । जनताको सेवामूलक कार्यमा खट्नु पाउँदा खुशी मान्नुहुन्छ । कसैलाई काख र कसैलाई पाखा गर्ने नियतमाथि खुलेर विरोध जनाउन पछि पर्नुहुन्न ।
२०७७÷७८मा आएको विषम महामारी रोग कोभिड–१९ ले पारेको असहज परिस्थितिमा पनि पारिवारिक संकटलाई थाती राखेर उहाँ अहोरात्र खट्नु भएको कुरामा स्थानीय बासिन्दाले उहाँको खुलेर प्रशंसा गरेको कुरा सर्व विदितै छ । यसै सिलसिलामा जनप्रतिनिधि राजेन्द्र श्रेष्ठज्यू संग वर्तमान परिस्थिति र सामाजिक सेवाको बारेमा हाम्रो यस बाँपिझ्याला अनलाइन पत्रिकाको तर्फबाट बालकृष्ण “पासा“ संग भएको संवाद यहाँहरुको लागि प्रस्तुत गरेका छौं ।

राजेन्द्र ज्यू, नमस्कार ! यहाँलाई हाम्रो बाँपिझ्याला अनलाइन पत्रिकामा स्वागत छ !
नमस्कार ! अनि धेरै धेरै धन्यवाद छ, बाँपीझ्याला अनलाइन पत्रिकामार्फत सम्झिनु भएकोमा धेरै खुशी सहित आभार व्यक्त गर्दछु, एउटा प्रश्न म आफै सोध्न मन लाग्यो, त्यसपछि मात्रै तपाईंको जवाफ दिनुपर्ला जस्तो लाग्यो,
सोध्नुस् कस्तो प्रश्न हो ? कतै यो ’बाँपिझ्याला’ शब्दको बारेमा त होइन….?
सही अनुमान लगाउनु भयो, हुनसक्छ यो ’ बाँपिझ्याला’ तपाईंहरूको दोलखाको स्थानीय मौलिक शब्द होला, यसको मूल अर्थ बुझ्न पाए अझ राम्रो हुनेथियो कि ?
हो यो हाम्रो दोलखाको मौलिक शब्द नै हो । सरल रुपमा भन्नुपर्दा ’बाँपि’ को अर्थ त करङ (मेरुदण्ड जोडिन दायाँबायाँका हड्डी) हो, यही करङ जस्तै आकारको काठले दायाँबायाँ तलमाथि गाँसेर बिच बिचमा ससान चारपाटे दुलो बनाएको हुन्छ ।

जहाँबाट कोठाबाट बाहिर हेर्दा देखिने तर बाहिरबाट हेर्दा नदेखिने हिसाबले बनाएको झ्याललाई बाँपीझ्याला भन्ने गरिन्छ । त्यस्तै खालका झ्याललाई यता काठमाडौं उपत्यकाको नेवारी भाषामा ’टिकी झ्या’ भनिन्छ भने नेपाली भाषामा ’ आँखिझ्याल’ भनिन्छ । अनी हामीले दोलखाको नेवारी भाषाबाट बाँपीझ्याला भन्छौं ।

अनि तपाईंले दोलखाको भ्रमण गर्नुभएको छ कि छैन ?
हजुर म दोलखाको भीमसेनको दर्शन गर्न तीनपटक गएको छु । एकपटक गाडीमा र दुईपटक बाईकमा गएको छु ।

कस्तो लाग्यो त दोलखा केही स्मरण छ कि ?
दोलखा ठाउँ एकदमै रमाइलो लाग्यो । हाम्रो देशमा यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरु पनी रहेछ भनेर मलाई गौरव लागेको छ । सुनकोसीको तिरैतिर गएर खाँडीचौरबाट उकालो हुर्दै डाँडापाखा छिचोल्दै जाँदा खरिढुङ्गा पुगेर हिमश्रृङ्खलाहरु देखिँदा मनै रमाइलो लाग्ने, अनि मुडे निगालेको आलु खेतीको रमणिय दृश्यलाई जहिल्यै स्मरणीय छ । त्यसपछि चरिकोट पुगेर ३÷४ किमि पूर्व लागेपछि पुगिने दोलखा शहरको दृश्यले मन झनै उत्साहित भएको थियोे । झन् दोलखा नगरमा प्रवेश गरेपछि मनै आनन्दित भएको थियोे । आफ्नै मौलिक नेवारी भाषा, धर्म, संस्कृती परम्परा र साक्षात भीमसेनको पवित्र धार्मीक स्थलले त झन दोलखालाई पवित्र बनाएको छ ।

हजुर त काठमाण्डौं महानगरपालीका वडा नं.–२ का अध्यक्ष हुनुहुन्छ, हिजोआज कोभिड– १९को कारणले लकडाउन पनि छ यो अवस्थामा के गर्दै हुनुहुन्छ त ?
म त यतिबेला पूर्णतः वडाबासीकै सेवामा व्यस्त छु । पहिलो कोभिडले पनि धेरैलाई दुःखसास्ती खेप्नुपरेको थियोे । अहिले दोश्रो कोभिड वेभले कामपा वडा नं –२ लाई धेरै प्रभावित पारेको छ । जसले गर्दा थुप्रै मानवीय क्षति हुँदा १०÷१२ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ, यस दुःखद घडीमा शोक सन्तप्त परिवाजमा हार्दिक सम्वेदना व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना गर्दछु ।

यो भयावह परिस्थितिमा पनि हजुरको त्याग र लगनशीलता देखेर वडाका बासिन्दाले धेरै नै प्रशंसा गरेको सुनेका छौं, यो दोश्रो लहरमा चलिरहेको खोप, सुरक्षा र राहतको लागि कस्तो प्रक्रिया अपनाउनु भएको छ त ?
यो दोस्रो लकडाउनको समयमा का.जि.म.न.पा. वडा नं. २ ले भेरोसिल खोप लगाउने दोश्रो डोज र एन्टिजेन्ट टेष्ट गरेको छ । लकडाउनका कारण रगत अभावमा बिरामीहरूको उपचार अप्रेसनमा असर परेको छ भन्ने सूचना पाए लगत्तै हामीले रक्तदान कार्यक्रम राखेर रक्त संकलन कार्य गर्यौं । उक्त कार्यमा यो रक्त संकलनबाट सोचेभन्दा बढी नै १०२ पाकेट भएको थियोे । यो अरुको तुलनामा ६४ पाकेट बढी हो । राहतको हकमा अत्यन्तै पीडितलाई मात्रै दियौं । तर हामीले यस कामलाई सामाजिक सञ्जालमा तस्बिर राखेर पीडितको भावनासंग खेल्न चाहेनौं । विशुद्ध मनले गरेको सेवालाई प्रचारप्रसार गरेर महानता नदेखाउने हाम्रो सिद्धान्त रह्यो ।

राजेन्द्र ज्यू, यो वडा नं २.को अध्यक्ष नेकपा एमालेको सूर्य चिन्हबाट विजयी भएर आउनु भएको हो । अनी यहाँले पार्टीको सांगठानीक सदस्य कहिले प्राप्त गरी सक्रिय रुपमा कहिलेदेखि लाग्नुभएको हो त ?
म पहिले २०४१ सालमा १० कक्षामा पढ्दै नै प्रतिबन्धित अनेरास्ववियुका संयोजक थिएँ । जुनबेला म १६ वर्षको मात्रै थिएँ । २०४२ सालमा रामपुर क्याम्पसका विद्यार्थी नेता मित्रमणि आचार्य हत्यापछि काठमाडौंमा शोक शोभा भएको थियोे । उक्त शोक सभामा सम्मिलित हुन पहिलो चोटि जुलुसमा भाग लिएको थिएँ । त्यसपछि हरेक आन्दोलनमा सहभागी भएर २०४९ मा नेकपा एमालेको सांगठित सदस्य प्राप्त गरें । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट अत्याधिक मत ल्याएर वडा सदस्य भएको थिएँ । यही हो मेरो राजनीतिक पृष्ठभूमि ।

अहिलेको वर्तमान सरकार र सम्बन्धित राजनीतिक पार्टीको भूमिकाबारे कस्तो अनुभव गर्नु भएको छ ?
नेपालको राजनीतिको कुरै नगरौं, कुरा सम्झेर ल्याउँदा नउ घृणा जागेर आउँछ । एकजना नेता ठिक लाग्दैन, अब सरकारी हिसाबले के भन्नू र खै, मनोमानी हिसाबले चलेको छ । त्यसैले २०४६ साल भन्दा यताका नेता र कार्यकर्ता सबैको सम्पत्ति निस्पक्ष रुपमा छानबिन गरेर राष्ट्रियकरण गर्न सक्ने नेताको खाँचो छ । अरु कुरै नगरौं ।

नेवारी संस्कृति र परम्पराको हिसाबले अग्रस्थानमा छौं । तर अहिले आएर नेवारी भाषा, धर्म संस्कृति र परम्परा लोपोन्मुख छ, यसबारेमा केही भनी दिनु हुन्छ की ?
नेवारी भाषा, धर्म संस्कृती र परम्परा मात्रै होइन कि नेवार जाति नै हराउँदै गैरहेको अवस्था छ । नेवार भनेर नेवार जाती हामी गर्व गर्छौं । तर हामी आफैले आफ्नो मातृ भाषा प्रयोग गर्न हिच्किचाएका छौं । अधिकांश अलि बढी नै पढ्नेहरु अष्ट्रेलिया, जापान, अमेरिका, जर्मन आदि देशमा जानलाई हतारिएका छन् ।

यहाँ भएकाहरुले पनि नयाँ जमानाको अपव्याख्या गरेर धर्म संस्कृति मान्न छोड्दै आएका छन् । पूर्खाहरुको अनुसरण गरेका नेवार जातीको भाषा, धर्म संस्कृती, परम्परा र चाडपर्वहरु त हाम्रो पाला सम्म मात्रै सिमित होला कि भन्ने चिन्ता छ । हाम्रा छोराछोरी नातिनातिनीलाई अहिले नै अनिवार्य तालिम र प्रशिक्षण नदिएको खण्डमा ती भाषा, सस्कृती र परम्परा नहराउला भन्न सकिन्न । नेवारी धर्म, संस्कृती, परम्परा र चाडपर्व नेपालको पहिचान भएकोले यसको संरक्षण गर्न नेपाल सरकार र स्थानिय निकायले नै अग्रसरता लिनु पर्छ ।

आज विश्वभरि फैलिएको कोरोना महामारीको कारण जनजीवन अस्तव्यस्त बनेको छ, यसको प्रभाव हामीले पनि भोगेका छौ, पहिलो लहर साम्य हुन लागेको थियोे, एक्कासी दोश्रोपटक झन भयावह बनेर आएको छ, यसमा कसको कमजोरी होला र ?
यसमा सर्व प्रथम सरकारको कमजोरी छ । सिमाना खुल्ला छोडी दियो । त्यसपछी कमजोरी जनताको पनि छ । बिहे, व्रतबन्धको साइत फेरि नआउला जस्तो गरेर हतारो गर्ने, पार्टी भोज गर्नैपर्ने, हुलमुल भिड गर्न हुन्न भन्दाभन्दै पनि राजनीतिक जात्रा गर्ने, जुलुस उठाउने, रथयात्रा गर्नैपर्ने जिद्दी प्रवृत्तिका कारणले पनि हो । अर्को नागरिकहरु पनि बन्द हुनलागेको खबर आउनासाथ गाउँ घरतिर ओइरिने, फेरि खुल्यो भनेपछि शहरतिर धुइरिने कारणले पनि हो यो अवस्थाको सृजना भएको, अब हामी आफै सचेत भएर हिंडौं, आफू बचौं, अरुलाई बचाऔं, यत्ति हो मेरो कुरा ।

अन्तमा यस बाँपिझ्याला अनलाइन पत्रिकाको लागि समय दिनुभएकोमा हृदयदेखि आभार व्यक्त गर्दै यसै पत्रिकामार्फत केही सन्देश दिन चाहनु हुन्छ ?
मेरो व्यक्तिगत तर्फबाट र जनप्रतिनिधिको हैसियतले वडा नं. २ लाजिम्पाटको तर्फबाट तपाईंहरूको यो बाँपीझ्याला पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । दोलखा नेवारी भाषा, संस्कृतिलाई समेटेर आफ्नो पहिचान दिलाउनमा सफलता मिलोस् यही छ शुभकामना । प्राकृतिक सौन्दर्यता, धार्मीक ऐतिहासिक साँस्कृतीक शहर र मौलिक भिन्न दोलखाली नेवारी भाषा रहेको दोलखाको ऐतिहासिकतालाई थप उर्जा प्रदान गर्न यस पत्रिकाको क्रियाशिलताको आवश्यकता रहेको छ । यस अभियानमा सहयोग गरी दोलखावासी एक भएर अग्रसर हुन सकोस् भन्ने कामना पनी गर्दछु । यसै गरी फेरी पनी मलाई दोलखा जानको लागि तपाई संगको लामो बातचित र यस पत्रिका मार्फत प्रेरणाका कारक बनेको छ । धन्यवाद !

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!