अजय प्रधान,
बाँपीझ्याला, दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आज एक सूचना प्रकाशित गरि पर्सि जेष्ठ २६ देखि ३० गतेसम्म ६३ र ६४ बर्ष उमेरसम्मका जेष्ठ नागरिहरुलाई भेरोसिल पहिलो डोज खोप दिलाउने जानकारी दिएको छ । नेपाल सरकारले जेष्ठ नागरिक ६० देखि ६४ बर्षसम्मको उमेर समूहका नागरिहरुलाई खोप दिलाउने भनिएको भएतापनी दोलखा जिल्लामा माग अनुसार खोप दिलाउन नसकिने भएकोले उमेर समूह परिवर्तन गरिएको थाहा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागको पत्र तथा खोप समन्वय एवं अनुगमन समितीको निर्णय अनुसार दोलखा जिल्लाको लागि प्राप्त खोप संख्या डोजको आधारमा यही जेष्ठ २६ देखि ३० गतेसम्म खोप उपलब्ध लगाउने तयारी रहेको उक्त सूचनामा जनाईएको छ । यसरी जेष्ठ २६ गतेदेखी ३० गतेसम्ममा बिगु, मेलुङ, कालिञ्चोक, शैलुङ गाउँपालीका र भीमेश्वर नगरपालीका रहेको छ । यसै गरी जेष्ठ २६–२७ गते जिरी नगरपालीका, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिका र जेष्ठ २९–३० गते दोलखा जिल्लाभरी खोप कार्यक्रम संचालन हुने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनु भएको छ ।
साथै यसरी सो समुहका नागरिकहरुले खोप लगाउन जादा नागरिक्ता, उमेर खुल्ने कागजपत्र वा उमेर खुल्ने वडाको सिफारिस लिई सम्वन्धीत पालिकाले तोकेको खोप केन्द्रमा गई खोप लगाउन पनी आग्रह सहित जानकारी गराईएको छ ।
