Search

समय–संगत–४

समय–संगत–४

बालकृष्ण “पासा”
शुक्रबार मध्यान्तर पछि स्कुल छुट्टी भयो । प्रायःजसो सबै विद्यार्थी घरतर्फ लागिसकेका थिए, बसन्तको समूह र रायनको समूह स्कुलको प्राङ्गणबाट बाहिरिएपछि अलि परको चौरमा गएर बस्न थाले, त्यो दिन मेघा र स्नेहा भने उनीहरू संग नबस्ने भनेर घरतर्फ लागे । यता बसन्तको समुहमा बस्ने छात्राहरु पनि थिएनन् ।

शिशिरलाई उनीहरू भए ठाउँ जानलाई त्यत्ति रुचि त थिएन, तैपनि साथीहरूलाई छोडेर जान मन भएन । त्यसैले रायनले बोलाउनुको कारणबारे बुझ्न सामेल भयो । एउटा खुल्ला चौर । कोही डण्डीबियो खेल्न व्यस्त थिए, अलि पर एक समूह भलिबल खेल्न व्यस्त थिए, उनीहरू भने अलि पर बसेर गफ गर्न थाले । सोही सिलसिलामा बसन्तले रायनलाई सोध्न थाल्यो,…

“ल भन त रायन् के कुरा छ शुक्रबार भेट्ने भनेको होइन र !“ उसको कुरा सुनेर रायनले भन्यो,….“ विक्की भन्दे न यार.. हाम्रो प्रोग्रामको बारेमा…“ त्यसपछि विक्कीले चारैजनाको मुख हेरेर..भन्न थाल्यो–..

“हेर साथीहरू ! हामी यहाँ पढ्न आउँछौं, पढेर घर जान्छौं, होमवर्क गर्छाैं, फेरि भोलिपल्ट स्कुल आउँछौं…यस्तै मात्र हाम्रो दिन बित्छ, यो बेला भनेको हामीले ठाउँ ठाउँमा घुमेर बाहिरी वातावरण ठाउँहरुको बारेमा बुझ्नुपर्ने उमेर हो, सँधैभरि स्कुलको पर्खाल भित्र मात्रै रहेर बस्दा भोर हुंदैन र !…“ विक्कीको कुरा सुनेर शिशिरले भनी हाल्यो––…

“अनि हाम्रो बेला नै यही पढ्ने, होमवर्क गर्ने त हो नि, कहिलेकाहीँ खेल्न पाएका छौं अब २ वर्षमा त हामीले पढाइ पूरा गरिहाल्छौं नि त,.. बाहिर पनि कहाँ जाने हो र….“ शिशिरको कुरा काट्दै रायनले भन्यो,….

“तिमीहरू त अति नै सोझा छौ यार… बाहिरी प्लेस भनेको बाहिर नै नि, कहिलेकाँही यसो गएर हेर न अनि थाहा पाउँछौ, नपत्याए हेर… म देखाउँछु “ भनेर आफ्नो झोलाबाट एउटा सानो ल्यापटप निकाल्यो । त्यसलाई खोलेर भन्न थाल्यो …“

“हेर यसमा एउटा डकुमेन्ट्री छ, यो पनि हामी जस्तै स्कुलका स्टुडेन्टहरु छन् उनीहरू पनि प्लस टु पास गरेर ग्र्याजुयट ज्वाइन्ट गरेर पढ्नेहरू हुन्, तर कति मज्जाले बसेका छन्, हेर राम्ररी…गलार्स ब्वाइज कति राम्रोसँग मिलेर ईन्ज्वाय् गरेका छन्…“भनेर खोल्दै थियोे, यता हेमन्तले निकै चासो दिएर हेरिरहेको थियोे, बसन्तले पनि ध्यान दिंदै थियोे, तर शिशिर र शरद अचम्मित हुँदै एक अर्कामा ’ के हो ’ भन्ने संकेतसूचक इसारा गरेर हेरिरहेका थिए ।

शिशिरलाई अचम्म लाग्नु अस्वाभाविक थिएन, किनकि स्कुलको ल्याबमा डेस्क टप कम्प्युटर मात्रै थियोे, त्यो पनि विज्ञान र स्वास्थ्य पढाउने बेलामा मात्रै चलाउनुपर्ने त्यो पनि जम्मा हप्ताको ३ पटक मात्रै । त्यसैले त्यो ल्यापटप देखेर वाल्ल परेको थियोे । उ अलिक फरक खालको सोचमा डुबेको देखेर विक्कीले भन्न थाल्यो….

“लौ यो त डम्व जस्तै ट्वाँ पर्न थाल्यो यार, हेरन… यो पनि कम्प्युटर नै हो नि… हेर न.. राम्रोसँग अनि थाहा पाउनेछौ, स्टुडेन्ट कस्तो हुनुपर्ने रहेछ भनेर… “. भनेपछि सबै त्यतैतिर झुम्मिन थाले । रायनले बिस्तारै विक्किलाई बोलाएर भन्यो..

“विक्की… यो यिनीहरू हेर्दै गर्लान् हामी पसल पुगेर आउँ जाउँ…“ भनेर लागे । यता उनीहरू ४ जना डकुमेन्ट्री हेर्नमा व्यस्त हुन थाले ।

यता शिशिरको घरमा उनका बाबू आमा घाँटी तन्काई तन्काई छोराको बाटो हेरिरहेका थिए, उता शरदको घरमा पनि त्यही हालत थियोे, बसन्तको घरमा चाहिँ खासै फरक थिएन, किनकि बसन्तको घरमा उनका बाबुआमा थिएन , शहरमै बसेकाले उनकी काकीले रेखदेख गर्ने गरेकीले त्यत्ति चिन्ता मान्नुपर्ने कुरा थिएन, फेरि वसन्त पढाइमा लगनशील पनि, सम्पूर्ण जिम्मेवारी प्रअ त्रैलोक्यले लिएकाले पनि उनकी काकीलाई समेत चिन्ता थिएन ।

अब रह्यो शरदको कुरा । उ पनि प्रअको प्यारो र घर पनि नजिकै भएकोले ढुक्कसँग बसेका थिए । तर त्यो दिन अलि ती केटाहरू अगिपछिको तुलनामा निकै नै ढिलाइ नै घर पुगेकाले सबैको घरमा सशंकित तुल्याउँदै थियोे, तर पनि चारैजनाले आआफ्ना घरमा एउटै आवाज, एउटै कारण बताएर टार्न सफल भए, त्यो के भने नयाँ नयाँ साथीहरू भेला भएकाले केहीबेर रमाइलो गरेको कुरा बताएका थिए ।

उता रायन र विक्की भने ती सोझा विद्यार्थीहरूको मन जित्न सकेकोमा निकै ठूलाठूला योजना नै सफल भएको जस्तो आभाष पाएर खुशी हुँदै घरमा पुगेका थिए । विक्की पनि खुशी हुँदै झोला हल्लाउँदै घर भित्र पसेको मात्रै थियोे, उनकी आमा सरस्वतीले भान्साकोठाको ढोकाबाट नै…
“विक्रम !….. “ विक्कीको वास्तविक नाम विक्रम नै हो ! आमाको आवाज सुन्ने बित्तिकै टक्क रोकिएर…“ यस मम् !“ भन्यो । त्यसबेला मेघा र स्नेहा त्यहीँ भित्र नै थिए । सरस्वतीले अलिकता कडाइका साथ भन्न थालिएको “स्कुल छुट्टी भएको ६ घण्टा भैसक्यो, दिदीहरु आएर होमवर्क सकाएर लुगाफाटो धोएर खाजा खाईसके तिमीहरू चाहिँ किन….“ आमा चाहिँको कुरा सुनेर विक्कीले भन्यो … “ म म्..साथीहरू संग पढाइको विषयमा नै कुरा गरिरहेका थियौँ नि, त्यो बसन्त र शरदसंग …”

सरस्वतीले फेरि भन्न थालिन्– “…पहिलो कुरा मलाई आमा भन्ने गर, हामी कुनै विदेशमा छैनौं, आफ्नो माटोमा बसेर माटोकै भाषा बोल्ने कोशिस गर.. दोस्रो कुरा… मलाई झुक्याएर छलेर कुरा नगर… पहिलेको जस्तै रिकर्ड नराम्रो आयो भने राम्रो हुनेछैन.. जाउ हातमुख धोएर आउ…“। उनको कुरा सुनेर विक्की झोला राखेर धारातिर गयो । सरस्वतीलाई एउटै चिन्ता थियो कि रायनको संगतले नराम्रो लत नबसोस् भनेर ।

सन्तानको मायाले उनलाई निकै पिरलो त थियोे नै, फेरि मेघराजले गरेको हरेक सहयोगको कारणले टाढिन पनि कठिन भएको थियोे । उता भित्री कोठामा रहेका उनकी छोरी स्नेहा र मेघा आफ्नै संसारमा थिए, स्नेहालाई कताकता केही भएको जस्तो केही नपुग जस्तो भएर छट्पटी भैरहेको थियोे, घडी उठेर झ्यालबाट बाहिर हेर्थिन्, घडी सोफामा थ्याच्च बस्न पुग्थिन्, मेघा भने टिभीमा आएको कार्यक्रम हेर्दै स्नेहाको स्थिति हेर्दै अनुमान लगाउँदै थिइन्,…

“ओई स्नेहा… होइन तँलाई के भएको नि आज खूब छट्पटाएकी छस् त… के भयो..? होमवर्क पनि सकियो, कपडा पनि धोइ सकिस् त…!…“ तिनको कुरा सुनेर.. स्नेहाले अलिकति कुरा मोड्दै भनिन्…

“होइन त्यस्तो केही होइन , अब के गरुँ भन्ने सोचिरहेकी नि…“ झ्यालमा पर्दा मिलाउँदै भनिन् । तर तिनको मनमा केही दिन अगाडि हेमन्तसंग मेघाको आँखा जुधेको कुराले छट्पटी भएकोे थियोे । उनलाई हेमन्त र मेघामा भएको भावावेश परिवर्तनले उथलपुथल भएको थियोे । तर मेघालाई स्नेहाको त्यो परिवर्तित अवस्था प्रति त्यत्ति ख्याल थिएन, र आफू भित्र भएको महशुसलाई घुम्साएर राखेकी थिइन् , मेघालाई पनि हेमन्तको हेराइले केही झस्काइ त भएको थियोे तर पनि त्यत्ति ध्यान दिएकी थिइन तर जब स्नेहाले हेमन्तको प्रसङ्ग कोट्याउन थालिन् तब मेघालाई प्रभाव पर्न थाल्यो । यतिबेला स्नेहाले कुरा निकालिन्….

“मेघा….! अस्ति त तिमी खूब मस्किएकी थियौ त… निकै मन परेको छ कि के हो ?“ मेघालाई झसङ्ग भयो । उनले बुझेर या नबुझेर अक्मकिदै….
“ के मन पर्यो…?? कस्तो मस्केको कुरा गरेकी तैंले…?“ अन्जानमै सोधिन् ।

“ उ… उ… हेर न यिनको स्वाँग फेरि… ! हामीलाई थाहै नभएको जस्तो…“ स्नेहाले अझै कुरा कोट्याउन खोजिन्, । तर मेघाले कुरा फेरिपनि नबुझेको भान पारेर उल्टै सोधिन्…

“ होइन, कस्तो कुरा गरेकी तैंले… कस्को बारेमा कुरा गर्दैछस्… कुरा बुझे…पो…“ केही सम्झे जस्तै गरेर… “ ए ए त्यो बसन्तेको कुरा… साथी साथीमा कुरा गर्दा हाँसोखुशी त भै हाल्छ नि… त्यसलाई पनि मस्केको भन्छन् त पागल…“ तिनको कुरा सुनेर स्नेहाले मनमनै भन्न थालिन्.’ हेर न कुरा मोडेकी… मलाई थाहा नभएको जस्तो…’ यसरी उनीहरू बीचमा प्रसङ्ग भित्र बाहिर कुरा हुंदैगयो ।

रात परिसकेको थियोे । शिशिर र हेमन्त होमवर्क गर्न व्यस्त थिए, शिशिरको बाआमा भान्सा मै थिए, आफ्नोे काम सकेर उनीहरू सुत्ने तरखरमा थिए, त्यसैबेला कसैले ढोका ढकढक्याउन थालेको आवाज आयो, दुवैजना सशंकित हुँदै ढोका तर्फ जानेबेलामा बाहिरबाट बसन्तको आवाज आयो ।…..
“शिशिर ! ढोका खोल न !“ बसन्तको आवाज सुन्ने बित्तिकै शिशिरको बुबाले ढोका खोलिदिंदै…“ ओहो बाबू ! बसन्त यति राति…“ वसन्त र हेमन्त दुवैलाई देखेर.. शिशिरको बुबाले फेरि भन्यो…“होइन बाबुहरुको आज मिटिङ नै छ कि के हो ?“ अनि हेमन्तले भन्यो..
“हजुर काका पढाइको बारेमा कुराकानी गर्नुछ, भोलि शनिबार कता कता हुन्छ त्यै भर… काका काकी खाना खानुभयो त ?“ भन्दै माथिल्लो तलामा लागे ।

बसन्त र हेमन्त आएको देखेर शिशिरलाई पनि अचम्म लाग्यो, शरद त अलिक नजिकै भएकोले आउनेजाने भैरहन्थ्यो । तैपनि शरदले सोधिहाल्यो ।
“ होइन ! वसन्त तिमेरु त यति राति आयौ त्यस्तो के पर्यो है…?“

“ए त्यस्तो केही होइन, मलाई त्यो रायनले भनेको कुरामा सकसक लाग्यो के अब हामीसँग मोबाइल छैन हेर, हाम्रो हेडसरले पनि अलि अप्ठ्यारो नै पारेको छ के, जमाना अनुसार त चल्न दिनुपर्ने हो नि है..! “ बसन्तले भन्ने बित्तिकै हेमन्तले भन्यो,

“ एउटा कुरा त त्यो पनि सही हो सम्पूर्ण कुरा नै मोबाइल मार्फत गर्न सकिंदो रहेछ, क्यालकुलेटर, क्यालेन्डर, डिक्सनेरि सबैको सुविधा हुने रहेछ..त… हामीलाई चाहिँ किन बन्देज गर्नुभएको होला…“
“अनि मोबाइलमा त जे पायो त्यो फोटो हाल्ने, कुन्नि के के चलाउने रे, त्यसले गर्दा मान्छेलाई अल्छि पनि बनाउछ रे नि त,…“..
क्रमशः..५…

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!