बाँपीझ्याला, लमजुङ । दुईतिन दिनदेखि लगातार भएको अविरल वर्षाका कारण आएको बाढीले मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको छ । एक घरमा आशिंक क्षति पुगेको छ भने ४० घर प्रभावित भएको छ । डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने आशा गरिएको छ ।
स्थानीय खोलामा आएको बाढीले गर्दा सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको हो । ३८ घरमा बाढीले ल्याएको बालुवा, ढुंगा तथा माटोसहितको लेदो पसेर बस्न नहुने अवस्था बनाएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले ती घरमा सफाइ गरी पुनः बस्न लायकको बनाएको छ । ‘बाढीको कारण विस्थापित भएका चार परिवारका २३ जना सदस्यलाई सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनु भयो ।
उनका अनुसार जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिका–४ स्थित नयाँबजारको घट्टेखोलामा अचानक पानीको बहाव बढ्न गई सोही स्थानमा रहेको पक्की पुललाई काठ, ढुंगा र माटोले पुरी उक्त खोलाको पानी नयाँबजारतर्फ पसेको थियो । खड्काले भने, ‘बाढीका कारण सोही वडा बस्ने कर्मा छुमु गुरुङको घरको पछाडिको भाग भत्काई घर पूर्ण क्षति गरेको, सोही वडामा सञ्चालित धर्म महर्जनको घर (सांग्रिला होटल) को पछाडिको भाग भत्किएर घर समेत पूर्ण क्षति भएको छ ।’
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले पक्की पुलको वरिपरिको भाग समेत बाढीले बगाएको बताए । मनाङमा बाढी आउँदा बिहीबार मात्रै २ वटा काठे पुल बगाएको छ। विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । चामे गाउँपालिका–१, तिमाङ खोलामा बाढीले मानिस हिँड्ने काठे पुल बगाएको छ । काठे पुलमुनि सवारीसाधन आवतजावत गर्ने बेलिब्रिज धरापमा पारेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो ।