उभौली पर्व

उभौली पर्व

विश्वभरी बस्नु हुने किराँत जाती लगायत सम्पूर्ण नेपालीमा उभौली पर्वको हार्दिक मंगलमय शुभकामना
अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कतिको तैयार हुनुहुन्छ त ? तर, कोराना भाइरसका कारण चाहे जसरी रम्न सकिने स्थिति चाहिँ छैन । किरात समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबै जनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै नाचिन्छ । आउनुहोस्, प्रकृतिका सन्तति, विश्व प्रसिद्ध किरात समुदायले मनाउने वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौँ ।

प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस् । राम्रो बाली लागोस् । पृथ्वीमा कहीँ कतै खाद्यन्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।

कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुईवटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । कोभिड संक्रमण नभएको भए, आज काठमाडौंको टुँडिखेलमा उभौलीको रौनक जम्ने थियो । कोभिड संक्रमण र निधेषाज्ञाका कारण पारम्परिक भेष–भूषामा सजिएका किराती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सगैँ नाचेकोे अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ ।

अनि पुरुषहरू लेकाली कोट, दौरा÷सुरूवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।

यसरी नाँच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचिन्छ । कोभिड कारणले सार्वजनिक ठाउँहरुमा यसपालि यस्ता दृश्य देख्न सकिने अवस्था छैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!