समुद्र र म

समुद्र र म

मधु “माधुर्य”
“मिराज” को बिस्कुन सुकाएर बसेको मरुभूमिलाई
नस्टाल्जा “ओयसिस !” बल्झिरहेको बेला
नदेखेर समय–एक्सरे
समुद्रको गीत गाइदिएछु‘
यो असमन्जस घडीमा
सारेगमको सप्तक फोरेर टाढा–टाढा भागिरहेछन् पीडा–स्वरहरू
दुखको न्युक्लिएस वरिपरि आ–आफ्नै कक्षमा भौँतारिरहेका –
मरुभूमि
पानी

तितर–बितर छौँ अहिले आफ्ना अक्ष÷कक्षबाहिर–
ठोकिएर अनुपस्थित समयको गजधम्म भित्तामा
जहाँबाट प्रारम्भ हुन्छ
शून्यताको महायात्रा !
यो दृश्यको उपस्थिति –
शब्दमा छैन ÷ आवाजमा छैन
रूपमा छैन ÷ रङ्गमा छैन
तरङ्गै तरङ्गको क्वान्टम संसारः
पदार्थ, चेतना र ऊर्जाको त्रिवेणी
म त्यहीँ हराउन थालेँ
क्वान्टम–आँधीभित्र देख्दैछुः
सृष्टिकर्तासँगको गोप्य वार्तालाप धाइरहन्छ नित्से
दास क्यापिटल रुजु गराउन कुदिरहन्छ मार्क्स
कलम खोज्दै हिँड्छन् सेक्सपिएर र तोल्स्तोई
पसिना पुछ्दै हेगेललाई कुरिरहेछ आइन्स्टाइन
र दुःखको क्रेमाटोरियामा लम्पसार क्राइस्टमाथिका प्रश्न–ट्याग देखिरहेछु –
“‘किन मारिन्छन् देह आफूलाई “देवता हुँ” भन्नेहरूको ?
किन ढालिन्छन् देह आफूलाई “महामानव हुँ” भन्नेहरूको ‘?”
शनैः शनैः अस्तु बग्छन्
क्वान्टम–नदीमा‘. !
प्रत्यक्ष इन्द्रिय–अनुभूतिद्वारा दुर्गम–क्षेत्र घोषित
क्वान्टम–संसारः
प्रकाश र तरङ्गहरूको लेकबेँसी
जहाँबाट निस्केको अराजक स्वतन्त्रता–
मेरा सामु ब्रह्माण्ड बनेर घुमिरहेछ
एक–एक मुठी जिजीविषा लिएर
प्रत्येक मान्छे आइरहन्छ ÷ गइरहन्छ
म बाहिरको “म” तिम्रा सामु हिँडिरहेछ‘
अवतार–लीलाका आगामी दृष्यहरूमा
खेल्दै आत्म–अस्वीकृत भूमिका
सुखान्त नाटक “द ग्याङ्ग अफ गड्स” को
हाल, अमेरिका (युएस)

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!