बाँपीझ्याला, भक्तपुर । कोरोना महामारीका कारण भक्तपुरका इट्टा भट्टाले यसपाली इट्टा नपार्ने भनेपछि भक्तपुरका फाँटमा गहुँ तथा आलु बाली लगाईएको थियो । करिव ४० वर्ष पछि हिउँदे बाली लगाएका भक्तपुर फाँटमा अहिले किसानलाई गहुँबाली बाली भित्र्याउन भ्याई नभ्याई भएको छ ।
यसरी कोरोना महामारीका कारण इट्टा बनाउने मान्छे ल्याउन गा¥हो भएपछि ईट्टा उद्योगले नै गहुँ लगाउन किसानलाई सहयोग गरेको ईट्टा ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्वाले बताए । ‘हामीले खेत जोत्नदेखि पानी लगाउन सम्म किसानलाई मद्दत गरेका छौं ।’ उनले भने । इट्टाले भरिभराउ हुने फाँटमा अहिले लह लह गहुँ झुलेको छ ।
२०३१ सालदेखी भक्तपुरमा इट्टा उद्योग चल्दै आएको उनले जानकारी दिए । भक्तपुरमा ईट्टा उद्योग संचालन भएदेखि आफ्नो खेत हिउँदमा उद्योगलाई दिदै आएको बताउने मिलन गनेजु यो वर्ष आफूलाई भ्याइनभ्याइ भएको बताउँछन् ।
‘कोरोना महामारीका कारण सवै तिर बन्दाबन्दी छ तर हामीलाई दिन भर फुर्सद छैन ।’ उनले भने । आफ्नो १० रोपनी खेतमा लगाएको गहुँ काट्न सपरिवार नै विहान देखि बेलुका सम्म खेतमै हुने गरेको समेत उनले बताए ।
यसै गरी पहिला पहिला जस्तो गहुँ चुट्न गाह्रो नभएको उनले सुनाए ‘अहिले मेसिन आएकाले एकै छिनमा गहुँ र छ्वाली छुटिने रहेको अझ सजिलो भयो ।’ उनले भने । यसपाली फलेको गुहुँले आफ्नो परिवारलाई दुई वर्ष सम्म खान पुग्ने अनुमान गरेका छन् ।
उनी जस्तै अधिकांस भक्तपुर लगायत धेरैजसो ठाउँका किसानलाई अहिले बाली भित्र्याउनकै चटारो छ । भक्तपुरमा ६२ वटा ईट्टा भट्टा संचालनमा रहेका छन् । एउटा ईट्टा उद्योगले करिव एक सय रोपनी देखि एक सय पचास रोपनी सम्म जग्गा ओगट्ने गरेको ईट्टा ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाले बताउनु भयो ।