१० बाँपीझ्याला, काठमाण्डौं । कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई काउन्सिलमा दर्ता, सूचीकरण नगर्ने र सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई पनि दर्ता नगर्न आग्रह गर्ने प्रेस काउन्सिल नेपालले आज सोमबार बसेको काउन्सिलको भर्चुअल बैठकले निर्णय गरेको छ ।
राजनीतिक वा गैरराजनीतिक भन्नेबारे काउन्सिलले जारी गरेको विज्ञप्तिमा विस्तृत खुलाइएको छैन । प्रेस काउन्सिल नेपाल बोर्डका सम्पूर्ण सदस्यको उपस्थिति रहेको उक्त बैठकले कोभिड–१९ का कारण सिर्जित विभिन्न समस्या समाधानका लागि काउन्सिलको सम्पूर्ण शक्ति (टिम) एकताबद्ध भएर लाग्ने लगायतका निर्णय गरेको कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले कोभिड–१९ को दोस्रो लहरपछि देशभरका पत्रकार÷मिडियालाई परेको समस्या र पत्रकार आचारसंहिताको पालना एवं उल्लङ्घनको अवस्था अध्ययन गर्न बिभिन्न प्रदेशमा रहेका काउन्सिल सदस्यलाई जिम्मेवारी तोकी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्ने निर्णय समेत गरेको छ । साथै बैठकले देशभरका कोरोना पीडित पत्रकार, सङ्क्रमित पत्रकार, निधन भएका पत्रकारका परिवार तथा आफन्तलाई राहत तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाता, सहयोगी संस्था तथा मनकारी व्यक्ति र संस्थालाई अपिल गरी समन्वयमा काम गर्ने निर्णय गरेको जनाइएको छ ।
यस्तै बैठकले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारलाई थप सावधानी अपनाइ समाचार सङ्कलन, सम्प्रेषण गर्न आग्रह गर्ने, निषेधाज्ञा जारी भएपछि प्रकाशन हुन नसकेका पत्रपत्रिकाको वर्गीकरण प्रभावित हुन नदिन पत्रपत्रिका वितरण सम्परीक्षण समितिलाई लेखी पठाउने निर्णयसमेत गरेको छ ।
मिडियाका रूपमा युट्युब÷अनलाइन टिभीका नाममा सञ्चालित माध्यमको अनुगमनका सम्बन्धमा नीतिगत निर्णयका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः जानकारी गराउने, यस्ता युट्युब÷अनलाइन टिभीलाई काउन्सिलमा सूचीकरण हुन आउन आह्वान गर्ने निर्णय पनी उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार आचारसंहिता प्रचार–प्रसारका लागि तत्काल जिङ्गल बनाई सन्देश प्रवाह गर्ने र प्रत्येक हप्तामा एकदिन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेजस्ता निर्णय गरिएको कार्यबाहक अध्यक्ष बुढाथोकीले बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म देशभरका १६ जना पत्रकारको निधन भएको ८ सय ५० जना कोरोनाबाट सङ्क्रमित भएकामा ८ जना आइसियू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको र २ सय ५० जना सक्रिय सङ्क्रमित रहेको काउन्सिलले उल्लेख गरेको छ ।
बैठकले स्वर्गिय पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । यस्तै सम्पूर्ण सङ्क्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।