Search

दोलखा त्यसैपनि अनुपम संस्कृति र मौलिक चाडपर्व तथा जात्रामात्राले भरिएको प्राचीन परम्पराको ऐतिहासिक साँस्कृतीक शहर हो ।

दोलखा त्यसैपनि अनुपम संस्कृति र मौलिक चाडपर्व तथा जात्रामात्राले भरिएको प्राचीन परम्पराको ऐतिहासिक साँस्कृतीक शहर हो ।

प्रा.डा. श्याम जोशी !
उहाँको पहिचान नै अर्थशास्त्र पुस्तकका पानाहरु हुन् ! उहाँको अथक कलमको परिभाषा साहित्यका लहरले दर्शाउँछ भने कलमको अविरल यात्रामा हरेक विद्यार्थीले साथ दिईराखेका छन् । उहाँ हुनुहुन्छ ऐतिहासिक एवम् प्राचीन नेवारी शहर अभयपुर दोलखाका नक्षत्र प्राध्यापक डाक्टर श्याम जोशी “विछोड” । सामाजिक सेवामूलक कार्य गर्न धेरै दैलो र आँगन चहार्नु जरुरी छैन, स्वच्छ र पवित्र मनले सेवा गर्ने नै हो भने एउटै पिंढीमा बसेरै गर्न सकिन्छ, सस्तो लोकप्रियताको होडबाजीमा लागेर पदको लोलुपतामा फस्नु सामाजिक सेवाको लागि अत्युत्तम नहोला ।“
प्रा.डा. श्याम जोशी ।
दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. २ डोकलुङा टोल बस्नुहुने पिता स्वर्गीय लालबहादुर जोशी र माता स्वर्गीय मानलक्ष्मी जोशीको गर्भबाट जन्मनु भएका छ परिवार मध्ये सबैभन्दा कान्छो सुपुत्र हुनुहुन्छ प्राध्यापक डाक्टर श्याम जोशी । तिन दाजुहरु र दुई दिदीहरुको प्यारो भाइ श्याम जोशी । उहाँको जन्म २००८ साल जेठ १ गते भएको हो । हाल उहाँ काठमाडौं महानगरपालिका वडा नं.३१ शान्तिनगरमा स्थायी रुपमा बस्दै आउनु भएको छ । उहाँको वैवाहिक जीवन श्रीमती शारदा जोशीसंग भएको हो । शिक्षाको खुड्किलामा उहाँले अर्थशास्त्र बिषयमा विद्यावारिधि गर्नुभएको छ भने पेशाको हिसाबले अर्थशास्त्र विषयमै प्राध्यापक हुनुहुन्छ ।
२०२४ साल देखि नै साहित्यिक क्रियाकलापमा सकृय रुपमा लागिपर्नु भएको डाक्टर श्याम जोशीज्यूले विभिन्न पत्रपत्रिकामा साहित्यका थुप्रै विधाहरुमा कलम चलाउनु भएको हो । २०५० साल देखि अर्थशास्त्र विषयका पाठ्यपुस्तक लेखनमा सकृय हुनुभएर माध्यमिक स्तर देखि महाविद्यालय सम्मका पाठ्यपुस्तक लेख्नुभएको छ । यसै सिलसिलामा उहाँको व्यक्तिगत, सामाजिक, साहित्यिक र दोलखाको ऐतिहासिक गतिविधिबारेमा हाम्रो यस बाँपिझ्याला अनलाइन पत्रिकाका प्रतिनिधि बालकृष्ण श्रेष्ठ “पासा“ संग भएको अन्तरंग संवाद यहाँको सामु जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

हजुर हाम्रो यस बाँपिझ्याला अनलाइन पत्रिकामा स्वागत छ ।
धेरै धेरै धन्यवाद छ १ यस्तो भाइरसको महामारीले झेलिरहेका बेलामा पनि मलाई सम्झेकोमा फेरि पनि धन्यवाद ।

जन्मघर ऐतिहासिक शहर दोलखामा भएको हो, त्यही जन्मघरको सेरोफेरोमा बाल्यकाल कसरी बिताउनु भयो ? यस बारेमा केही महत्वपूर्ण स्मरण बताई दिनु हुन्छ कि ?
शुरुआत राम्रो लाग्यो मलाई १ आफ्नो जन्मघर दोलखाको यादहरु नआउने त कुरै भएन अव स्मरणको हिसाबले पनि धेरै कुराहरु छन् कुन चाहिँ संस्मरण बताउँ त !

यहाँलाई कुन संस्मरणले अझै घच्घच्याएको छ त्यही सुनाउनु भए हुन्छ ।
हाम्रो दोलखाको अधिकांश परिवार कृषिमा आधारित भएकोले अधिकांश घरको छानो परालले छाएको हुन्थ्यो । संयुक्त परिवार प्रथाले गर्दा एउटा घरमा धेरै परिवार बस्थे, मर्दा पर्दा, खेतीपाती, घर निर्माण गर्ने काममा एक आपसमा धेरै पर्मप्रथामा सहयोग आदानप्रदान हुन्थ्यो । दोलखा शहर भित्र सतप्रतिशत नेवार जातीय बाहुल्यता भएको कारणले चाडपर्व, जात्रा मेलामा सगुन, समैबजी (प्रसाद) को रुपमा जाँड र रक्सीको प्रयोग अधिक हुने भएकोले रमाइलो हुनका साथै झगडा पनि हुने गथ्यौ ।

फागु पुर्णिमामा होली खेल्दा र लाखे नाच नचाउदा तल्लो टोल र माथिल्लो टोलका दाजुभाईहरुको बिचमा कुटाकुट नै हुन्थ्यो । यसरी झगडा र कुटाकुट नहुँदा त जात्रा जात्रै जस्तो नलाग्ने खल्लो महशुस हुन्थ्यो, पसलहरु चल्ने बजार त माथिल्लो टोलमा मात्र थियो ।

जहाँ धुलिखेल, बनेपाका साहुहरुले पसल चलाउँथे, त्यसैले मैले मेरो एकजना साथीलाई माथिल्लो टोललाई ’डाउन टाउन’ भनेर परिचय दिएको थिएँ । त्यतिबेला यहाँका अधिकांश मानिसहरु गरीबको निरपेक्ष रेखामुनि रहेको थियो, यही कारणले लवाईखवाईमा निम्न स्तर न थियोे नै । तर अहिले यसमा धेरै भन्दा धेरै सुधार आएको छ । यो हामी सबैको लागि खुसीको कुरो भएको छ ।

स्मरण घतलाग्दो सुनाउनुभयो, अनि यहाँको बाल्यकालको स्कुलको जीवन त दोलखा मै व्यतीत भएको होला, त्यो समयमा विद्यार्थी हुँदाखेरि त्यस्तो कुनै तिक्तताको अनुभव छ कि ?
त्यस्तो तिक्तता त खासै थिएन तथापि मैले विर्सन नसकेको तिक्तता एउटा छ भन्नुपर्ला, स्कुलमा एउटा विषयमा अनुत्तीर्ण भएपनि उतिर्ण गराउँछ र कक्षा चढाउँछ भन्ने कुरा थाहा पाएर मैले मलाई मन नपर्ने हिसाब (गणित) विषय पढ्नै छोडिदिएँको थिए । फलस्वरूप त्यही विषयमा फेल भएरै दस कक्षाको टेष्ट परीक्षासम्म पास गरेको थिएँ ।

यहाँको तिक्तता रमाईलो रहेछ, अबको प्रसङ्ग राजनीति तिर जाउँ । राजनीति प्रति हजुरको धारणा के छ ? र दोलखामा राजनीतिक हिसाबले केही परिवर्तन भएको देख्नुभएको छ त ?
प्रत्येक सामाजिक प्राणीलाई विद्यमान राजनीतिले तिनका दिनचर्यालाई असर पार्छ । त्यसैले म अपवादमा छैन, त्यसबेला केही व्यक्ति राजनीतिमा लागेका थिए, जस्तो कि आदरनिय व्यक्तित्वहरु स्व. चन्द्रकृष्ण जोशी, स्व. राम नारायण प्रधान, स्व. तिर्थ बहादुर श्रेष्ठ आदि । तर जन समुदायमा राजनीति प्रति खासै चासो र जागरण थिएन, हाल आएर प्रजातन्त्र, लोकतन्त्र, शैक्षिक उन्नति आदिले गर्दा जनजागरण र राजनीतिक चेतना बढेको हो । तर दुःखको कुरा सम्पूर्ण जिल्लावासी एकातिर र दोलखाली मात्रै एकातर्फ हुने पृथकीकरणले गर्दा राजनीतिक रुपमा दोलखाली उच्च तहमा पुग्नबाट वञ्चित हुनुपरेको छ ।

अनि हजुर दोलखाको उन्नति र प्रगतिका लागि दोलखाको कुनै सामाजिक संघ–संस्थामा आवद्ध हुनुहुन्थ्यो कि ? यसबारेमा केही बताई दिनु हुन्छ की ?
किन नपाउनु र भएको कुरा भन्ने हो । अँ म दोलखाको कालिन्चोक युवा क्लबमा २०२७ सालदेखि सदस्यसचिव, उपाध्यक्ष तथा अध्यक्षको रुपमा रहेर धेरै वर्षसम्म समाजसेवाको काम गरें । क्लबको औपचारीक दर्ता मेरै पालोमा भएकोे हो । त्यसैबेला यस क्लबको सकृयतामा पाउरोटी उद्योग स्थापना, प्रौढशिक्षा, वृक्षारोपण, सार्वजनिक शौचालय निर्माण, मन्दिर तथा संस्कृतिको संरक्षण र स्वास्थ्य शिविर जस्ता सामाजिक कल्याणको काम गरेका थियौं ।

दोलखाको केही मन्दिरबाट चोरिएको देवताको मूर्ति फिर्ता गर्नको लागि सबै दोलखालीलाई एकताबद्ध गरिएको थियो । त्यसैबेला बाढी पहिरो पिडीत जिल्लावासीलाई सहयोग गरेकै कारणले यो कालिन्चोक युवा क्लबको नाम निकै लोकप्रिय भएको थियोे । त्यसैले गाउँ गाउँमा पनि क्लवहरु भटाभट खोल्न थालेका थिए, दोलखालीहरुलाई सामाजिक सेवामा लाग्न यस क्लबले उत्प्रेरित थियो । पछि यस क्लव छोडेपछि द्वाल्खा गुठीको महासचिव भएर काम गरें । उक्त अवधिमा दोलखामा विभिन्न कार्यहरू गर्नुको अतिरिक्त घरेलु कपडा उद्योग स्थापना गर्ने कार्यमा समेत योगदान पु¥याउने काम भयो । विभिन्न श्रोतबाट आर्थिक श्रोत जम्मा गरेर गुठीको आर्थिक अवस्थालाई सुदृढ बनाउनमा सहयोग पु¥याएँ । जिल्लावासीहरुलाई स्वास्थ्य शिविरको माध्यमबाट ठूलो सहयोग पु¥यायौं ।

दोलखाली युवाले हाल आएर धेरै संघ संस्थाहरु छुट्टाछुट्टै रुपमा खोलेका कुरा हामीले देख्दै आएका छौं, सबैको आ–आफ्नोतर्फबाट लक्ष र उद्देश्य फरक होला यसबारेमा हजुरको के धारणा छ ?
दोलखाली युवायुवती होस् या प्रौढ होस् जोसुकैले जे जस्तो संस्था खोलेपनि मूलतः दोलखा र दोलखावासीहरुको सेवा गर्ने र समुन्नतिको लागि पहल गर्नकै लागि हुने भएकाले प्रौढले गुठी र युवावर्गले क्लव या समितिको माध्यमबाट योगदान गरौं । प्रतिस्पर्धात्मक संस्थाहरू गठन गरेर संख्या नबढाऔं भन्ने मेरो विगतको धारणा हो, हाल विद्यमान संस्थामा उचित भूमिका नपाएर आफ्नो योगदानबाट आफैंले जस लिउँ, नेतृत्व प्रदर्शन गरुँ जस्तो आदि ईत्यादि कारणले विभिन्न संघ–संस्था खोलेको महशुस गरेको छु । तर पनि केही संस्थाले उल्लेख्य काम गरेको पनि देखेको छु । तैपनि सबैले समन्वयात्मक रुपमा प्रतिस्पर्धात्मक हैन कि पूरकको रुपमा योगदान गरे भने यसलाई नकारात्मक रुपमा सोच्नुपर्ने जरुरी छैन ।

हजुरले अर्थशास्त्रमा पिएचडी गर्नुभएको छ । अर्थ विज्ञ पनी हुनुहुन्छ, अर्थशास्त्र सम्बन्धिपुस्तक धेरै प्रकाशित गर्नुभएको छ, यस कार्यको लागि उच्च मनोबल कसरी प्राप्त गर्नुभयो ? कसैबाट प्रेरणा पाउनु भएको हो कि या अन्य कारण छन् ?
मेरो बुबा स्वर्गीय लालबहादुर जोशी तत्कालीन दोलखा अदालतको अधिवक्ता हुनुहुन्थ्यो । उहाँ स्वयम् शिक्षित हुनुभएको हिसाबले छोराछोरीलाई पढाउनुपर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो, बुबाको चाहना अनुरुप नै हाम्रा दाजुभाइले पढाइमा विशेष ध्यान दियौं, माध्यमिक तह देखि नै अर्थशास्त्रमा विशेष रुचि भएकोले पनि र बुबाको प्रेरणाको कारणले यस विषयमा उच्च शिक्षा हासिल गर्न सफल भएँ । मेरा साथीहरूले पढाइलाई बिचमै छाडेर जागिरे तिर लागेर पैसा कमाउन तिर लागे, तर मलाई शिक्षाको भोकले सताइरह्यो ।

फलस्वरूप दोलखाबाट अर्थशास्त्र विषयमा पिएचडि गर्ने अर्थशास्त्र विषयको पहिलो प्राध्यापक बन्ने व्यक्तिको रुपमा पहिचान दिलाउन सफल भएँ । त्यसपछि पब्लिक युथ क्याम्पस धोबीचौर काठमाडौंमा पढाउँदै क्याम्पस प्रमुख समेत भएँ, करीब दुई दशकसम्म नेपालमा अर्थशास्त्र विषयको पाठ्यपुस्तक लेख्नमा लोकप्रिय भएर शिर्ष स्थानमा रहें ।

दोलखाको सांस्कृतिक चाडपर्वमा पनि घुलमिल गर्नु भएकै होला, त्यस्तो केही अविस्मरणीय कुराहरु भए बताउनु होला…!
दोलखा त्यसैपनि अनुपम संस्कृति र मौलिक चाडपर्व तथा जात्रामात्राले भरिएको प्राचीन परम्पराको ऐतिहासिक साँस्कृतीक शहर हो । दोलखाली नेवार जातीको अलग्गै पहिचान छ । त्यसैले त्यहाँका चाडपर्व, जात्रामात्रा र परम्परा आफ्नो हैसियत अनुसार अति उत्साह पूर्वक मनाईन्थ्यो र मनाउँदै आएका छौं । हाम्रो समयमा अर्थात् त्यतिखेर मानिसहरूको आयस्रोत कम थियोे ।

कमै खर्चमा मनाउथे, अहिले धेरै कुरामा विकास भएकोले आयश्रोत पनि वृद्धि भएकोले अलि तामझामका साथ मनाउने गर्छन् । विशेषगरी वडादशैंमा परदेशिएका दाजुभाइ साथी संगी जम्मा हुने भेटघाट हुनेहुँदा रमाइलो नहुने कुरै भएन । अनि माथिल्लो सेङ (स्वयम्भू चैत्य) अगाडि जम्मा हुने र तीतामिठा कुरा हुने गथ्यौ ।

खड्ग जात्राको दिनभर दशैंको रोनकता अर्कै हुन्थ्यो, केटाकेटी, युवायुवती, बुढाबुढी सबैजना आ–आफ्ना धुनमा खड्ग जात्रा हेर्ने अनि नयाँ नयाँ लुगा लाउनेहरुलाई हेरेर टिकाटिप्पणी गर्दा अर्कै मज्जा हुन्थ्यो । अनि हिलेजात्राको बेलामा गाईजात्राको राती ’ट्वाकल प्याखन’ (सामुहिक कृष्ण लीला) नृत्य, त्यसैगरी पाँच रातसम्मको भैरवकुमारी जात्रा नृत्य हेर्नाकालागि हिलो वर्षा नभनी मैन्टोल बालेर अगाडि पछाडि कुद्दाको मज्जा अलग्गै हुन्थ्यो । अझ दोलखामा त्यतिबेला जनैपूणिर्माको दुई दिनअगाडि तल्लो टोल, दुङ्गल र माथिल्लो टोलमा एकैसाथ लाखे निकाल्दाको क्षण रोमाञ्चक लाग्थ्यो । गाईजात्राको दिनदेखि षष्ठीसम्म लगातार नृत्य प्रहसन आदि हुने हुँदा दोलखामा अत्यन्तै रौनक लाग्थ्यो ।

अनि हजुर साहित्य र नाट्यकलामा पनि पोख्त हुनुहुन्थ्यो तर विगत केही दशकदेखि त्यतातिर देखिनु भएन, हजुरद्वारा लिखित दोलखाको मातृभाषामा लेखिएको र मञ्चन गरिएको पूर्णाङ्की नाटक “ मिसामि “ (नारी वा महिला) को बारेमा केही बताउनु हुन्छ कि ?
मेरो साहित्याक यात्रा २०२६ सालदेखि प्रारम्भ भएको हो । मेरो पहिलो प्रकाशित रचना निर्माण सामयिक संकलनमा प्रकाशित “उनी के हुने होलिन्“ कथा हो । त्यसपछि सामयिक मासिक, साप्ताहिक र दैनिक पत्र पत्रिकामा थुप्रै कथा, कविता, नाटक, निबन्ध प्रकाशित भएका छन् । पहिला पहिला मैले श्याम ’विछोड’ को नामले आफ्ना रचना प्रकाशित गर्ने गर्थें, यसरी साहित्यिक लेखनमा लाग्दा पारिश्रमिक नआउने हुँदा विद्यार्थी जीवनमा केही कठिन हुन्थ्यो, त्यसैले २०३० सालदेखि पैसा आउने लेखतिर केन्द्रित हुन थालें ।

त्यसपछि २०५० सालदेखि २०७० साल सम्म पाठ्यक्रममा आधारित अर्थशास्त्रको पाठ्यपुस्तक लेख्नमा तल्लीन भएँ र ती सबै लोकप्रिय बने । यसरी अर्थशास्त्र विषयको पाठ्यपुस्तक विद्यालय देखि महाविद्यालयसम्मको लागि लेख्नमा व्यस्त भएपछि साहित्य लेखनबाट टाढिदै गएँ ।

साहित्यिक लेखनमा लागेर कथामा एकपटक र कवितामा एकपटक पुरस्कृत भएको छु, र पुस्तक लेखनको सिलसिलामा केही संस्थाबाट सम्मानित भएको छु । मैले थुप्रै साहित्यिक रचनाहरु लेखेको भएपनि २ वटा चाहिँ मेरालागि अविस्मरणीय बनेको छ ती हुन् २०३० सालमा म आफैले लेखेर निर्देशन गरेको दोलखाली नेवारी भाषामा बनाएको नाटक “मिसामि“ (आईमाई) र २०३८ सालमा तिलिन्चो परिवारद्वारा प्रस्तुत “बदलिँदो परिस्थिति“ नामक सामाजिक नाटक ।

“मिसामि” नाटक दोलखाको नेवारी भाषामा स्थानीय विषयवस्तुलाई समेटेर बनाएको थिएँ । यस नाटकको मुल सार नै आईमाईको शत्रु आईमाई नै हुन्छन् भन्न खोजिएको थियोे भने “बदलिँदो परिस्थिति” नाटकमा जातीयताको सामाजिक रुपान्तरण देखाउन खोजिएको थियोे । जसमा छुवाछूतको अन्त भएको चित्रण गरिएको थियोे भने यसमा भूमिपति धनी क्षेत्रीको छोराले सार्किनीको छोरीसंग प्रेम गरेर वैवाहिक जीवन बिताउन खोजेको कुरा उल्लेख थियोे ।

मैले यो नाटकको कारणले आलोचना समेत खेप्नु परेको थियोे । संयोगको कुरा के छ भने “मिसामि” नाटकमा बाल कलाकार वर्तमान ईन्जिनियर प्रा. डा. हरि दर्शन श्रेष्ठ (डोक्छें) ले बाल कलाकारको भूमिका निभाएको थियोे भने “बदलिँदो परिस्थिति” मा उनैले नायकको भूमिका निभाएको थियोे । एकपटक तत्कालिन राजकुलेश्वर प्रा.वि.को तर्फबाट सोही स्कुलको प्राङ्गणमा हल बनाएर टिकट बिक्री गरेर सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थियौं ।

दोलखाको नेवारी भाषा दोलखामा मात्रै सिमित नभएर यही भाषा सिन्धुपाल्चोकको तौथल, लिस्ति र जेठल अनि काभ्रेपलान्चोकको दूतिमा पनि बोल्ने गरिन्छ । यस्को निरन्तरता र संरक्षणको लागि के कस्तो कदम चाल्नुपर्ला ?
हाम्रो मातृभाषा हाम्रै जातीले मात्रै बोल्ने हो । हामी दोलखाको नेवार जातीले आफ्नो मातृभाषा बोल्छौं यसै गरी सिन्धुपाल्चोक जिल्लाको तौथल, लिस्ती, दुती, जेठल र काभ्रेपलाञ्चोक जिल्लाको दुतीमा बोल्ने गरेको पाईन्छ । यो बस्ती बिस्तार र दोलखाका चेलीबेटीहरु बिहावारी भएर गएपछी ती ठाउँहरुमा दोलखाको नेवारी भाषाको विकास भएर गएको पाईन्छ ।

यसै गरी हाम्रो आफ्नो मातृभाषा अरुले बोल्दैनन् र बोल्ने होइनन् पनि, तसर्थ यसलाई निरन्तरता र संरक्षण कसरी गर्ने भन्ने हो । विगतमा अधिकांश बिहेबारी दोलखा भितरै हुने भएकोले हाम्रो दोलखाको नेवारी भाषा हाम्रा आफ्ना छोराछोरीले सजिलोसँग सिक्थे तर अहिले बाहिरका अर्थात दोलखाली नेवार भाषा नजान्ने बाहिरको चेलिहरु संग बिहे हुने र बिहे गरेर ल्याउने भएकोले पनि घरमा नेपाली बोलिन्छ ।

त्यसैले घरमा छोराछोरीले सिक्ने अवसर नमिल्दा पनि यसमा असर परेको छ । तसर्थ यसको संरक्षणका लागि हामीले दोलखालीहरुलाई सजग बनाउन पत्रपत्रिकामा प्रकाशित गर्ने, विभिन्न विधामा पुस्तक प्रकाशन गर्ने, गोष्ठी सेमिनार गर्ने गर्नुपर्छ । यसै गरी यस बाँपिझ्यालाले पनी यसमा योगदान दिइरहेको छ, यसको लागि धन्यवाद दिन चाहन्छु ।
यसको साथै बाँपीझ्यालाले हाम्रो मातृभाषाको निरन्तरता, संरक्षण र प्रयोग कसरी गराउन भन्नेमा सहयोग गर्न सकिन्छ भन्ने उद्देश्य लिएर अगाडी बढीरहेको छ । यस कार्यलाई हामी दोलखाली सबैले सहयोग गर्नु पर्छ । त्यसै गरी हामीले दोलखामा दोलखाकै नेवारी भाषामा नाटक देखाए पछि अरु कसैले देखाएको थाहा छैन ।

कालिञ्चोक युवा क्लवको अध्यक्ष हुँदा एक दुईपटक हाम्रै मातृभाषा मात्रै बोल्ने र माईन्युट पनि दोलखाली नेवारी भाषामै राख्ने गरेको थिएँ । तर यसले निरन्तरता पाएन ।
यसै गरी बोलीचालीमा निरन्तरता कसरी दिने र संरक्षणका बाटोहरु के हो भन्ने बारेमा हामीमा आपसी छलफल गर्नु अति आवश्यक रहेको छ ।

दोलखाका अधिकांश लोक संस्कृति लोप हुँदै गएको देखिन्छ, जस्तो कि ’हिपाथामी’, ’खट्प्याखन’ आदि जुन हाम्रो अति नै मौलिक परम्परा हो, यसबारेमा हजुरको के धारणा छ त ?
दोलखाका केही संस्कृति लोप हुँदै गएको छ । जुन दुःखद कुरा हो, यसलाई हामीले संरक्षण गर्ने पहल गर्नुपर्छ । दोलखाका संस्कृतिहरु गुठीद्वारा सञ्चालित थिए । विभिन्न कारणले आयश्रोत सुक्यो र जात्रामात्रा लोप हुन पुग्यो, तसर्थ पर्याप्त आयश्रोतको व्यवस्था गर्न जरुरी छ, अक्षयकोष खडा गरेर हुन्छ कि के गर्दा हुन्छ भनेर दोलखाका सबै संघ संस्थाहरुले पहल गर्नुपर्छ ।

यसै गरी स्थानिय निकायले यसको संरक्षणको लागि सहयोग र पहल गर्नु पर्छ । जुन कुरा राज्यको दायित्व र जिम्मेवारी भित्र पर्दछ । यसै गरी दोलखाको पहिचान नै यहाँको भाषा, संस्कृति र परम्परा हो, दोलखाको आर्थिक उत्थानको मार्ग नै हाम्रो संस्कृतिको संरक्षण हुनु हो ।

अब हामी करीब अन्ततिर पुग्दा एउटा कुरा सोधि हालौं, हजुरको नामको पछाडि उपनाम “विछोड“ राखिनुमा के रहस्य वा उद्देश्य होला जान्न सक्छौं कि ?
उ बेला कवि लेखकहरुले उपनाम राख्ने चलन आएको थियोे जस्तो कि; अंजीर ’ पिडित’, किशोर ’झुत्रे’, गोविन्द ’ वियोगी’ आदि । हामी दोलखाका केही साथीहरूले पनि उपनाम राख्यौं जस्तै कि शान्त ’ पापी ’, बलराम ’ आशिक’, र मैले श्याम ’ विछोड’ । संयोगको कुरा त्यतिबेला मेरो केटीसाथी संग विछोड पनि भएको थियो। पछी अरु संग बिहे भयो त्यसपछी उपनाम हटाई दिएँ । हा हा हा ।

ओहो धेरै नै रमाइलो तीता मीठा कुरा सुनाउनु भएकोमा अत्यन्तै खुशी लाग्यो । अब अन्त्यमा हाम्रो यो बाँपिझ्याला अनलाइन पत्रिका मार्फत यस पत्रिकालाई र दोलखाका बासिन्दालाई केही भन्नु हुन्छ कि ?
आफ्नो मातृभूमि प्रति हृदयदेखि समर्पण गरेर आफ्नो भाषा, साहित्य, संस्कृति, परम्परागत मौलिकतालाई विश्व सामु उजागर पार्न कम्मर कसेर अगाडि बढेकोमा खुशी व्यक्त गर्छु । तर सूचना सम्प्रेषण गर्दा सत्य तथ्यमा आधारित भएमा मात्र यसको विश्वसनीयता हुन्छ, संस्कृतिविद् इतिहासकार बनाउने रहरले हावादारी तर्क दिनुको सट्टा सप्रमाण कुनै पनि कुराको व्याख्या हुनुपर्छ ।
यस्तो कोरोना महामारीको बेलामा संक्रमणको समेत पर्वाह नगरीकन समाचार, सूचना सम्प्रेषण गर्न लागिपरेकोमा प्रमुख सम्पादक भाई उपेन्द्र प्रधान, व्यवस्थापन पक्षका बालकृष्ण “पासा“ भान्जा लगायत लगायत यस पत्रिकालाई प्रत्यक्ष अप्रत्य सहयोग गर्ने अनी बाँपिझ्याला डटकम परिवारलाई हृदयदेखि धन्यवाद छ । यस पत्रिकाले दोलखा भीमेश्वर नगरपालिका भित्रलाई मात्रै होइन कि सिङ्गै दोलखा जिल्ला र राष्ट्रियताको हितका लागि आवश्यकीय समाचार विषयगत रुपमा उठान गरेर सर्वोपरि हितकर काम गर्न सकोस् यही शुभकामना छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment