८ जेठ, बाँपीझ्याला, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक बताउनु भएको छ । शनिबार एक वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका छन् ।
वक्तव्यमा उनले भनेका छन् ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गर्नु कानून सम्मत नभएको बताएका छन् ।
यसै गरी ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।