काठमाडौँ महानगरका ३२ वटा वडा र त्रि. वि. शिक्षण अस्पताल गरी ३३ वटा केन्द्रबाट खोप दिइँदै
बाँपीझ्याला, काठमाडौँ । जेठ २ देखि ५ गतेसम्ममा काठमाडौँ महानगरका खोप केन्द्रबाट ४३ हजार १८ जनाले कोविडविरुद्धको खोप भेरोसेल (चाइनीज खोप) लिएका छन् । यो संख्या महानगरका वडास्तरीय ३२ वटा खोप केन्द्र र शि. वि. शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ वटा खोप केन्द्रको संख्या हो । यसमा २३ हजार ४८५ जना पुरुष र १९ हजार ५३३ जना महिला हुनुहुन्छ ।
जेठ ५ गते मात्र ५ हजार ८४७ पुरुष र ५ हजार ८९४ जना महिला गरी ११ हजार ७४१ जनाले खोप लिनुभएको थियो ।
यीमध्ये सबैभन्दा धेरै वडा २६ को खोप केन्द्र वडा लैनचौर २ हजार ४९२ जनाले खोप लिएका छन् भने त्यसपछि वडा १६ को १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ जनाले खोप लिए । तेस्रोमा वडा ३२ बाट २ हजार ३८५ जनाले खोप लिएका छन् ।
महानगरका ११ वटा वडामा खोप लिनेको संख्या १ हजारभन्दा कम रहेको छ । यी वडाहरुमा सबैभन्दा थोरै, वडा १९ बाट १ सय ९७ जनाले, त्यसपछि वडा २० मा ३ सय ९४ जना र तेस्रोमा वडा २४ मा ४०८ जनाले खोप लिएका छन् । त्यसपछि वडा २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४ सय १९, ४ सय ४२, ४ सय ८७, ५ सय २५, ७ सय ६, ७ सय २९, ८ सय १३ र ९ सय ५ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । यसमा ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई जेठ २ गते दोस्रो डोज लगाइएको थियो ।
जेठ ११ गतेसम्म चल्ने खोपमा (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ ।
यसका लागि तोकिएका दिनमा तोकिएका आफूलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था मिलाइएको छ । यस अवधिमा हरेक दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर खोप केन्द्रमा गएपछि खोप लिन पाइन्छ ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको हो । जसअनुसार २०७७ चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरुले जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते र बैशाख ३ र ४ गते पहिलो खोप लगाएकाले बैशाख ५ गते दोस्रो मात्राको खोप लगाएका छन् ।
आज बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई दोस्रो खोप दिइँदैछ । भोलि (जेठ ७ गते) बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई र पर्सि (जेठ ८ गते) बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई दोस्रो मात्रा खोप दिइनेछ ।
बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।
महानगरमा भएका खोप केन्द्रहरुको व्यवस्थापन र लाभग्राहीका बारेमा जानकारी लिन महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित अधिकारीहरु खोप केन्द्रमा निरीक्षणका लागि जाने गर्नुभएको छ ।