Search

रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने, रथ जात्रा र यसको महत्व

रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने, रथ जात्रा र यसको महत्व

५ जेठ, बाँपीझ्याला, काठमाण्डौं । ललितपुरमा मनाईने वर्षा र सहकालका देवताको नामले प्रख्यात रातो मच्छिन्द्रनाथको रथलाई आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लगिएको हो ।
३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य जानकारी दिए अनुसार आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती लाने तयारी गरिएको छ । यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी बाजा बजाएर हुल गर्दै मच्छिन्द्रनाथ लिन नजान आग्रह गरिसकेको शाक्यले बताउनु भयो ।

ललितपुरमा बिधिको लागि तानिएको रातो मच्छिन्द्रनाथको रथ जात्रा

बिहान ६ः५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । मुलुकमा कोरोना कारण सङ्क्रमणका साथै मृत्युदर पनि बढ्दै जाँदा लोकेश्वरलाई बुङ्मती पठाउँदा सुरक्षा व्यवस्था कडा गरिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा बलीले बताउनु भयो ।

गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट विस्तारी बिस्तारी करिव डेढ सय मिटर पर सोह्रखुट्टे पाटीसम्म बिधि चलाउन मात्र रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो ।

त्यसैगरी बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने चैतकृष्ण प्रतिपदाका दिन रक्तवलोकेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ ।
नेपाल राज्य भित्र ऐतिहासिक तिन साँस्कृतीक शहरमा रातो र सेतो मच्छिन्द्रनाथ रथ तान्ने परम्परा रही आएको छ । काठमाण्डौं उपत्यकाममा सेतो मच्छिन्द्रनाथको रथ जात्रा मनाउने प्रचलन रहेको छ । यसै गरी ललितपुर र दोलखामा रातो मच्छिन्द्रनाथको रथ जात्रा मनाउने परम्परा रहेको छ ।

ललितपुरमा बिधिको लागि तानिएको रातो मच्छिन्द्रनाथको रथ जात्रा

रातो मच्छिन्द्रनाथको रथ जात्रा र यसको महत्वः

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । उक्त दम्पती नागहरुका राजा कर्काेटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेतहरु पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए ।

वैद्यले राजासामु “महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चो¥;यो” भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रूपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्काेटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।

राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ ।

गत वर्षका साथै यस वर्ष पनि वृष्टिदेवलाई टोलटोलमा लगी रथजात्रा गर्नाका साथै भोटो जात्रा गर्न नपाउँदा ज्यादै दुःख लागिरहेको पाटन निवासी सूर्यमान डङ्गोलले गुनासो गरे ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!