Search

माइतीघर दोलखा शहर भित्रको साक्षात् भगवान भीमेश्वर हृ्दयमा राखेर हिंडेकी छु, मन मस्तिष्कमा करुणामाई मच्छिन्द्र नाथलाई अहोरात्र पुजेर बस्छु ।

माइतीघर दोलखा शहर भित्रको साक्षात् भगवान भीमेश्वर हृ्दयमा राखेर हिंडेकी छु, मन मस्तिष्कमा करुणामाई मच्छिन्द्र नाथलाई अहोरात्र पुजेर बस्छु ।

भाषा, संस्कृती भनेको कुनैपनी जात जातीको आफ्नो पहिचान हो ।
पहिलो भगवान दोलखा भीमसेन (भिमेश्वर), दोश्रो करुणामाई, तेस्रो मेरो परिवार हो ।
यो कोरोना संक्रमणको कारणले गर्दा हामी मात्र होईन विश्व भरीको जनता नै संक्रमणको चपेटामा परेको छ ।
विश्व जगतमा जैविक प्रकोपले गर्दा भयानक भयावह स्थिति रहेको छ । यसमा कसैले कसैलाई दोष लाउने ठाउँ नै छैन ।

समाजसेवी, सकुना श्रेष्ठ मलेकु

भगवान प्रति गहिरो आस्था, दीनदुःखी प्रति अगाध स्नेह र ममता, समाज प्रति मानवीय सोचले भरिपूर्ण भएकी एक आदर्श नारी हुन् दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा डोक्छें टोल निवासी स्वर्गीय दिल बहादुर श्रेष्ठ र स्वर्गिय नानी कुमारी श्रेष्ठकी आयुष्मान सुपुत्री सकुना श्रेष्ठ ।बाल्यकालमा दोलखाको घर आँगनमा हुर्केर भरखरै मात्र स्थापना भएको बालमन्दिर स्कुलबाट स्कुल जीवन शुरुआत गरेर राजकुलेश्वर प्राथमिक विद्यालयमा प्रारम्भिक चरणको पठनपाठन सकाएर माध्यमिक स्तरको पठन पाठन भीम माध्यमीक विद्यालयमा अध्ययन गर्दा गर्दै उपत्यका ललितपुर पुल्चोकस्थित मदन स्मारक हाईस्कुलबाट अध्ययन पुरा गर्नुभएको हो ।समाज सेवामा अति नै लगाव रहेका सकुना श्रेष्ठलाई धर्म, संस्कृती र परम्परा प्रति पनि उत्तिकै आस्था र भरोसा राख्नुहुन्छ । विशेषगरी उहाँलाई दोलखामा रहेका साक्षात भगवान मच्छिन्द्रनाथ करुणामाई दोलखाली नेवारी भाषामा बुग्देउ प्रति गहिरो आस्था, सद्भाव र विश्वास रहेको छ । उनै साक्षात भगवानको कृपाले गर्दा नै वहाँले मनले चिताएको र ईच्छा गरेको हरेक कुराहरु पुरा भएको मान्नु हुन्छ । आज आँखाले देखिएका गरीब दीनदुःखिलाई सहयोग गर्न सकेको अनुभव गर्नुहुन्छ ।पाटनको ललितपुरमा रहँदा रहँदै स्थानीय साथी र आफन्त नजिकको चिनजान, परिचित व्यक्ति केशवलाल श्रेष्ठ मलेकुसंग परिचय भयो । चिनजानको पारस्परिक सम्बन्ध वैवाहिक रुपमा परिणत भयो । त्यसपछि सकुना श्रेष्ठबाट सकुना श्रेष्ठ मलेकु हुनुभयो ।पुल्चोकस्थित स्थानीय वासिन्दा केशव लाल मलेकुज्यूको व्यापारिक कारोबार विदेशतिर पनि हुने भएकोले उहाँले अमेरीका, जापान, अष्ट्रेलिया र हङकङ लगायत बिभिन्न देशको यात्रा गर्नु भएकोले वहाँले आन्तरीक तथा बाह्य व्यापार व्यवसायमा अनुभव बटुल्नका साथै धेरै कुरा सिक्न सफल हुनुभएको छ । हाल वहाँ ललितपुर स्थित सानेपा निवासमा हुनुहुन्छ, उहाँका २ छोराहरु जेठा कुसल श्रेष्ठ र कान्छा कुनाल श्रेष्ठ यस्तै गरी २ छोरी जेठी सजना श्रेष्ठ र कान्छी सजया श्रेष्ठ छन् ।आराध्यदेव साक्षात दोलखा भीमेश्वर र मच्छिन्द्रनाथ करुणामाईको आशिर्वाद र कृपाले चारैजना छोराछोरीलाई सही र निर्दिष्ट स्थानमा पु¥याउन सकेकोमा वहाँ आफुले खुसी व्यक्त गर्दै गौरव गर्नु हुन्छ । यसैगरी उहाँको सामाजिक जिवन, व्यक्तित्व, ईच्छा र अभिलाषा लगाएत समसामयिक बिषयको बारेमा यस बाँपीझ्याला डटकम अनलाईन पत्रिकाका प्रतिनिधि बालकृष्ण श्रेष्ठ “पासा” र समाजसेवी एवं सफल महिला व्यवसायी सकुना श्रेष्ठमलेकु बिच भएको संक्षिप्त कुराकानीको मुल अंश यहाँ प्रस्तुत गरेका छौं ।

नमस्कार ! बाँपीझ्याला अनलाइन पत्रिकामा यहाँलाई हृदयदेखि स्वागत छ ।
नमस्कार ! यहाँ र बाँपीझ्याला अनलाइन पत्रिकाप्रति आभार व्यक्त गर्दछु ।

यो पत्रिकाको नाम बाँपिझ्याला अनलाइन राखिएकोमा यहाँलाई कस्तो लाग्छ ? बाँपीझ्यालाको अर्थ बुझ्नु हुन्छ ?
नहँसाउनु न हजुर ! दोलखाकी चेली हुँ म ! यति पनि थाहा भएन भने त मेरो माइतीघर, जन्मभूमी अनि सिङ्गो मातृभूमिको बेइज्जत हुँदैन र ? बाँपीझ्याला भनेको नेपाली भाषामा आँखीझ्याल हो । यता उपत्यकाको नेवारी भाषामा ’तिकीझ्याः’ भन्छन् । यो हाम्रो दोलखाको मौलिक नेवारी भाषाबाट आफ्नो ठाउँको पहिचान खुल्नेगरि पत्रिकाको नाम राखिएकोमा अत्यन्तै खुशी र हर्ष लागेको छ । यसमा मैले गर्व गर्ने पर्छ र सधै गर्व गरिनै रहने छु ।
त्यसै गरी सरल भाषामा भन्नुपर्दा काठको सिङ्गो झ्यालमा सानासाना आँखाको आकारमा दुलो बनाएर भित्रबाट बाहिर हेर्न मिल्ने देखिने र बाहिरबाट भित्र हेर्दा केही नदेखिने भएकोले नै आँखीझ्याल भनिएको हो । तर हाम्रो आफ्नै मौलिकताले हेर्दा चाहिँ..“बाँपि” भनेको मानिस या जुनसुकै प्राणीको करङ हो, त्यही करङ जस्तै पाटा पाटा दायाँबायाँ जोडेर चारकुने दुलो बनाएको हुन्छ ।

२०६५ सालको मच्छिन्द्रनाथको रथजात्रामा बरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथ दोलखामा ।

तपाई समाजसेवी ! त्यसमा महिला व्यवसायी, आजकाल केमा व्यस्त हुनुहुन्छ ?
खोइ केमा व्यस्त हुनु र, अहिलेको अवस्थामा व्यस्त हुने वातावरण नै कहाँ छ र ? विश्व नै खुम्चिएर बस्नुपरेको अवस्था छ । केही काम गर्ने योजना बनाउने स्थिति नै छैन । यो कोरोना संक्रमणको कारणले गर्दा हामी मात्र होईन विश्व भरीको जनता नै संक्रमणको चपेटामा परेको छ । त्यसैले सबैतिर डामाडोल बनाएको छ । अहिले फेरी देशका प्रमुख सरकारले जनतालाई दोश्रो कोरोनाको संक्रमणबाट बचाउन निषेधाज्ञा गरी घर घरमा थुनेर बस्नु पर्ने अवस्था छ । त्यो हामी सवैलाई थाहा भएकै बिषय हो त्यसैले यस कुरा मैले यहाँ भन्नु पर्ला जस्तो लाग्दैन ।

विश्व जगतमा जैविक प्रकोपले गर्दा भयानक भयावह स्थिति रहेको छ । यसमा कसैले कसैलाई दोष लाउने ठाउँ नै छैन । अनि हजुर त धर्म र देवता प्रति धेरै नै आस्था राख्नुहुन्छ, विशेषगरी कुन देवता र धर्मलाई बढी विश्वास गर्नुहुन्छ त ?
हामी सनातन धर्मका अनुयायी हौं । हिन्दु संस्कारमा हुर्केका सन्तान हौं । हिन्दु धर्म ग्रन्थमा उल्लेखित देवदेवी सबैलाई प्रणाम गर्छु । तर पनि हाम्रो माइतीघर दोलखा शहर भित्रको साक्षात् भगवान भीमेश्वर हृ्दयमा राखेर हिंडेकी छु । यस्तै गरी मन मस्तिष्कमा करुणामाई मच्छिन्द्र नाथलाई अहोरात्र पुजेर बस्छु । जुन करुणामाईको अहिलेसम्म पनी ऋणि बनेकी छु जस्तो लाग्छ । साक्षात् देवीमाको कृपाले आज समाजमा भए रहेका दिनदुःखीहरुको सेवा गर्न सक्षम र सफल भएकी छु । धर्म र देवता कुनलाई कसरी मान्ने भन्दा पनी हामीले पुजिने तरिका फरक होला तर रुप एउटै छ । त्यही कुरामा मैले विश्वास गर्छु ।

त्यस्तो के उपलब्धि पाउनु भयो र ऋणि नै महशुस हुनेगरी, करुणामाईले अथाह कृपा गर्नुभएको छ कि ?
छ नि, मलाई करुणामाईले प्रत्यक्ष अप्रत्यक्ष ठूलै कल्याण गर्नुभएको छ । म, मेरो परिवारलाई राम्रो भएको कारणले मैले दिनदुःखीहरुको सहयोग गर्न सकेको हु ।

यतिमात्र भन्नुस् कि करुणा माई प्रतिको यति धेरै आस्थामा हुनुमा के रहस्य छ त ?
हजुर ! यस्तो कुरा भनिराख्नु पर्छ पनि नत्र देवीदेवताको महिमा कसैले जान्दैनन् जस्तो लाग्छ । म त्यतिबेला सानै थिएँ । हाम्रो घर नजिकैको करेसाबारीमा तरकारी टिप्न जाँदा एक कुनामा रातो कपडाले बेह्रिएको एउटा मूर्तिलाई देखें, यसो उठाएर हेर्दा पूजाआजा गरिएको देवताकै मूर्ति जस्तै लाग्यो, अलिक डर पनि लाग्यो, तैपनि बोकेर घरमा लगेर आमालाई देखाएँ…आमाले एक्कासी यो त बुग्द्येउ हो त हराएको थियो भन्नु भयो । मलाई अचम्म लाग्यो, देउता पनि हराउँछ र भन्ने कौतुहल लागेको थियो । तर त्यतीबेला म आठ बर्षको मात्र भएको कारणले गर्दा हरेक कुरामा राम्रो विश्लेषण गर्न सक्ने अवस्था र क्षमताको विकास भएको थिएन ।

२०७५ सालको मच्छिन्द्रनाथको रथजात्रामा समकालिन साथी रविना श्रेष्ठ र दोलखावासी दिदिबहिनीको साथमा

अनि आमाले के गर्नुभयो त ?
अनि आमाले नजिकैको भद्र भलाद्मी स्थानीय व्यक्तिहरुलाई देखाउने क्रममा करुणा माई (बुग्द्येउ) कै मूर्ति फिर्ता आएको भन्ने एकिन भईसकेपछी धुई धुई होहल्ला भयो । त्यतीखेर भन्नेहरूले अनेकौं अडकल नकाटे पनी होईन तर अहिले त्यतातिर नजाउँ र यसरी सोही साक्षात भगवानको मूर्ति नै हो भनेर प्रमाणित भएपछि सो भगवानको मुर्तिलाई पुजारी बुद्ध रत्न तुलाधर (बौद्धे बाजे) लाई बोलाएर पूनः स्थापना गरेर पूजाआजा गर्न लगाएको स्मरण मेरो मानस पटलमा अझै ताजा रहेको छ ।

यसबाट हजुरलाई के उपलब्धि भयो त ?
म सानै भएपनि मेरै आँखाले हराएको मूर्ति देखेर यही हातले समाउन पाउँदा धेरै उत्साहित भएकी थिएँ । त्यसपछि जहिले पनि यीनै भगवानलाई सम्झेर आफ्नो कार्यलाई यथावत् राख्दै जाँदा म आज यो ठाउँमा पुग्न सफल भएको छु ।

तपाईंको परिवार त व्यवसायी हुनु हुन्छ । फेरी तपाईंको मनमा सामाजिक सेवा गर्ने विचार कसरी उत्पन्न भयो त ?
अभाव पछिको प्रभावले मान्छेको स्वभाव बदलिनु स्वभाविकै हो । म व्यवसायी हु र सामाजिक सेवामा संलग्न छु । यसै गरी जव मैले शुरु गरेको व्यापार व्यवसाय सफल हुर्दै गयो त्यसपछी मलाई मनमा लाग्यो अव मैलै कमाएको केही आम्दानी दिन दुःखीहरुको लागि बाँड्नु पर्छ भनेर यस्तै गरी मैले पनी केही दुःखको अनुभव गरेको छु, अनी भोगेकी थिएँ र देखेकी थिएँ, स्कुलमा, अस्पतालमा, जहाँसुकै अभावग्रस्त जिन्दगीमा कति पीडा खप्नु पर्दो रहेछ भनेर त्यही कारणले मेरो मनमा सामाजिक कार्य गर्ने बिचार आयो । त्यही अनुसार मेरो संलग्नता समाजसेवामा रह्यो ।

सही कुरा गर्नुभयो सकुना ज्यू, त्यसैले त्यही गरीबीले नै मान्छेलाई प्रेरणादायी बनाउने गर्छ, अरुको दुख देख्दा तपाईंको मनमा आफ्नै दुःखको आभास भयो होइन र ?
हो एकदमै सही भन्नुभयो, त्यही प्रेरणाकै माध्यमले दोलखा भित्र, बाहिरको सामाजिक सेवामा संलग्न भएको छु । यसरी मैले दोलखामा मेरै अग्रसरता र संयोजन अनी द्वाल्खा म्यासमुचा खलकको सक्रियता, सहभागीता र शुभचिन्तक दोलखावासीहरुको सहयोगमा माथिल्लो टोल स्वयम्भुनाथ स्थित जिर्ण अवस्थामा रहेको महादेवको मन्दिर बनायौ, त्यसै गरी स्थानिय स्तरमा बाटो बनाउन र स्कुललाई अति आवश्यक पर्ने सामानको लागि सहयोग गरेर आएको छुु । यसै गरी दोलखा भित्रको अन्य क्षेत्रमा पनि मैले सक्ने सहयोग गरी सहभीता जनाएर आएको छु, पछी पछी पनी गरिरहने छु । तर म लेखाजोखा गर्दिन कि कहाँ कति सहयोग गरे ।

दोलखा जिल्लाबाट प्रतिनिधी सभा र प्रदेशसभामा बिजयी सासंदहरुको स्वागत कार्यक्रममा ।

सामाजिक संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ ?
सामाजिक संघ संस्थामा आवद्ध छु । हामीलाई पहिचान दिलाउने माध्यम नै संघ संस्था नै हो । त्यसैले यहाँ उपत्यकाको संघ संस्थामा पनि आबद्ध छु । दोलखाको त कुरै नगरौं । किन भने जन्म थलो प्राण भन्दा प्यारो हुन्छ त्यसैले उपत्यकामा भन्दा दोलखाको बढी सामाजिक संघ संस्थामा आवद्ध भएर आफुले सक्ने सहयोग गर्दै सहभागी भएर आएको छु ।

सामाजिक सेवामा भन्दा अरु के मा रुची राख्नु हुन्छ ?
सामाजिक सेवा भन्दा बाहिर म संगितमा पनी रुची राख्छु । यसै गरी म आफैले पनि भजन गाउने अभ्यासमा लागेकी छु । सकेसम्म दोलखाको संस्कृती परम्परा लगाएत अन्य क्षेत्रलाई समेटेर एल्बम नै निकाल्ने भनेर तैयारी गर्दैथिएँ । तर कहाँबाट विश्वमा कोरोनाको संक्रमण फैलिएको कारण गर्दा सबैकाम स्थगित भएको छ । कोरोनाको संक्रमण कम हुर्दै गएपछी यसबारेमा कामहरु अगाडी बढानेछु ।

दिनदुःखीको साथमा

त्यै त, सबैलाई बर्बाद नै बनाईदियो नि, अनि यो कोरोना संक्रमणकालमा के कति सहयोग माग्न आए त तपाईं संग ?
बाहिरका त खासै त्यति आउदैनन्, परिचित साथीहरू र आफू आबद्द रहेका सामाजिक संस्थाहरूले कार्यक्रमको विवरण सुनाउँछन् त्यही अनुसारको सहभागी जनाउछु । तर म चाहिँ बाहिर जाने गरेको छैन । मलाई मेरो परिवारले सजगता अपनाउन आग्रह गरेकोमा नकार्दिन, किनकि आफू नै सचेत नबने अरुलाई कसरी बनाउने ?

अब पछिको कार्यक्रम के सोच्नु भएको छ त ?
अब के सोच्नु र खोइ । सबै कुरा आफुले भनेको जस्तो हुदैन । आफ्नै घरमा थुनिएर बस्नु परेको अवस्था छ । भगवानको लीला के हुन्छ हेरौं । समय र अवस्था राम्रो भएमा भजन संग्रह र एउटा स्मारिका जस्तै किताब निकाल्ने सोचमा छु ।

यति लामो कुराकानी भयो तर तपाईंको परिवारको बारेमा केही सोध्न समय पाईन, पारिवारिक सहमति कतिको पाउनु भएको छ त ?
मेरो परिवार मेरालागि तेस्रो भगवान हुन् ।

मतलब कस्तो कसरी तेस्रो भगवान प्रष्ट पार्न मिल्छ कि ?
हो नी ! पहिलो भगवान दोलखा भीमसेन (भिमेश्वर), दोश्रो करुणामाई, तेस्रो मेरो परिवार हो । मेरो परिवारले सहयोग नगरेको भए सहमत नजनाएको भए तपाईंको सामु कुन बिषय र प्रसङ्गले आज कुरा गर्थे त…!

दोलखाको चेली त्यो माथी समाजसेवी अनी दोलखा कतिको जानु हुन्छ ?
आवश्यक व्यक्तिगत, सामाजिक काम पर्दा दोलखा गई राख्छु । अहिले कोरोना सक्रमण भएयता दोलखा गएको छैननी । जन्मेको ठाउँमा केहि सुधार गर्न सबैको सहयोग जुटाएर काम गर्न पाए हुने थियो भनेर अघि बढेको छु । यसको लागि सम्पूर्ण दोलखाली दाजुभाई, दिदिबहीनीहरुको सहभागीता र सहयोगको आवश्यकता रहेको छ । यसैगरी म दोलखा नगएको अवस्था रहेपनी मैले दोलखामा गर्नु पर्ने सहयोगको लागि खबर पाएसम्म सहभागीता जनाएर सहयोग गरेर आएको छु ।

द्वाल्खा म्यासमुचा खलकको सल्लाहकार फेरी महिला विकास सचेतना केन्द्र दोलखाको संरक्षक हुनु हुन्छ ? यसमा के फरक पाउनु भएको छ र ?
द्वाल्खा म्यासमुचा खलक भनेको दोलखा माईतीघर भएर बिहे अन्यन्त्र गरेर गएका दिदिबहीनीहरुका संस्था हो । यो नितान्त सामाजिक संस्था र दोलखाली चेलीबटेीहरुलाई एकत्रित गर्ने संस्थाको उद्देश्य रहेको छ ।
तर महिला विकास सचेतन केन्द्र दोलखा पनी दोलखाली चेली र बुहारीहरु सबै बसेर खोलेको सामाजिक संस्था हो । यसले सामाजिक कार्य एकातिर गर्छ भने अर्कोतिर आयमुलक क्रियाकलाप गर्ने उद्देश्य रहेको छ । यसरी सामाजिक क्रियाकलापको साथ साथै सदस्यहरुको आर्थिक उन्नतीको लागि आर्थिक क्रियाकलापको पनी काम गरेर आएको छ । त्यसैले दुवै संस्थामा मेरो सहभागीता रहेको छ । यस संस्थाले भविष्यमा दोलखा भित्रको स्थानिय उत्पादनलाई प्राथमिकता दिनुका साथै सिपमुलक आयआर्जनको क्रियाकलापलाई अगाडी बढाउने लक्ष्य राखेको छ त्यसमा मेरो सहभागीता रहन्छ ।

यस बाँपिझ्याला अनलाईन पत्रिकामा यहाँको धेरै असल, सामाजिक, धार्मिक र व्यावहारिक कुराहरु उपहार स्वरूप दिनुभयो यसको लागि हामी हार्दिक नमन गर्दछौं । अन्त्यमा बाँपीझ्याला अनलाइन पत्रिकामार्फत केही भन्नु हुन्छ की ?
मेरो र मेरा परिवारको तर्फबाट ढिलाइ नै भएपनि नयाँ वर्ष २०७८ सालको अवसरमा दोलखावासी लगायत सम्पूर्ण नेपाली दाजभाई, दिदिबहीनीहरुमा हार्दिक शुभकामना ।
बाँपिझ्याला अनलाइन पत्रिकाले दोलखाको नेवार जातीले बोलिने नेवार भाषा, संस्कृतीलाई संरक्षणमा सहयोग गर्ने उद्देश्यले अगाडी बढेको छ । यसमा खुसी व्यक्त गर्नुका साथै उद्देश्य प्राप्तीको कामना गर्दछु । यस कार्यको लागि दोलखाली दाजुभाई, दिदिबहीनीहरुको सहभागी र सहयोगको आवश्यकता रहेको छ । यसै गरी यस अभियानमा मेरो तर्फबाट गर्नु पर्ने हुनु पर्ने ठाउँमा सक्रियता सहभागीता सहीत सहयोग रहने छ भन्ने प्रतिबद्धता जाहेर गर्दछु ।

भाषा, संस्कृती भनेको कुनैपनी जात जातीको आफ्नो पहिचान हो । त्यसैले यस कुसल कार्यमा हामी सम्पूर्ण दोलखावासी दाजुभाई, दिदिबहीनी र दोलखाली चेलिबेटीहरुको सहभागीता र सहयोग रहनु पर्छ । जस्ले हाम्रो ईज्जत र गौरव बढ्नुका साथै दोलखाको ईतिहासमा भाषा, संस्कृतीले निरन्तरता पाई हामीले यस कुरामा गौरव गर्नुका साथै आनन्द प्राप्त हुन्छ ।

अर्को कुरा दोलखा र उपत्यका लगाएत नेपाल राज्य भित्र यस पत्रिकाले आफ्नो दोलखाको ऐतिहासिक तथ्य र समाचारहरु प्रकाशनमा ल्याएर दोलखाको पहिचान दिन सफल हुर्दै अगाडी बढेको छ ।
यसै गरी अहिले अनलाईनमा संचालनमा आएको छ । त्यसैले दोलखाको महत्वपूर्ण ईतिहासका पानाहरु पल्टाएर, खोजमुलक, अनुसन्धानमुलक लेखहरु र बर्तमान परिवेशको समसामयिक बिचारहरुलाई प्रकाशनमा ल्याई नेपाल भित्र मात्र नभई नेपाल बाहिर अन्तर्राष्ट्रिय जगतमा पनी नाम कमाउन सफल होस् भन्ने कामना गर्दछु ।

यस अनलाईन पत्रिकाले दोलखाको सामाजिक, साँस्कृतीक, ऐतिहासिक खोजमुलक सन्देश र दोलखाको नेवारी भाषाको संरक्षण गर्ने तथ्यहरुको प्रकाशनमा सहयोग र दीनदुःखीको प्रताडित जीवनमा मलम लगाउने काम गर्नेहरुको क्रियाकलापरुहरुको बारेमा खोजमुलक, सूचनामुलक समाचारहरु सम्प्रेशन गरी सम्पूर्ण दाजुभाई, दिदिबहीनीहरुको लागि श्रोतको माध्यम हुन सकोस् भन्ने कामना गर्दछु ।

अन्तमा, मेरो व्यक्तिगत धारणाहरु सार्बजनिक गर्न सहयोग गर्ने यस बाँपीझ्याला अनलाईन पत्रिकाको उत्तरोतर प्रगतीको कामना सहीत यस पत्रिकामा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भई सहयोग गर्दै आउनु हुने सबैमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।

अन्तमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट दोलखा जिल्लाबाट बागमती प्रदेशसभामा प्रतिनिधीत्व गर्नु हुने आदरनिय दाजु पशुपती चौलागाई यही २८ गते कोरोना संक्रमणबाट निधन भएको छ । वहाँ लगाएत देश भित्र बाहिर संक्रमणमा परि निधन हुने सम्पूर्ण स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्दै यस दुःखद् घडीमा शोकमा रहनु हुने समस्त परिवारजनमा हार्दिक सम्वेदन व्यक्त गर्दछु ।
साथै सबैले सबैलाई कोरोनाबाट उन्मुक्ति पाउ सत्य सन्देश दिएर आफू बाचौं र अरुलाई पनि बचाउने प्रण गरौँ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!