उपेन्द्र प्रधान, दोलखा
दोलखा भीमेश्वरमा आज दिउँसो १२ः१५ देखि १ः४० सम्म पसिना आएको छ । उक्त व्यहोरा जनाई दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले दोलखावासी तथा सर्वसाधारण नेपाली दाजुभाई, दिदिबहीनी र शुभचिन्तक भक्तजनहरुको जानकारीको लागि बिज्ञप्ती जारी गरिएको छ ।
उक्त बिज्ञप्तीमा दोलखा भीमेश्वर मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितीका पदाधिकारीहरुसँग बसेको बैठकको निर्णय दोलखा भीमेश्वर शिलामा पसिना आएपछी महाप्रसाद राष्ट्र प्रमुखलाई पठाउने चलन रहेकोले अहिले सम्माननिय राष्ट्रपती विद्यादेवी भण्डारीज्यु समक्ष महाप्रसाद भोली २०७८ साल बैशाख २६ गते पठाउने निर्णय गरिएको समेत उल्लेख गरिएको छ । दोलखा भीमेश्वरमा यस पटक समेत १९ औं पटक पसिना आएको छ ।
दोलखा भीमेश्वरको शिलामा पसिना आउनुकोे आफ्नै मौलिक विशेषता रहेको छ । देशभित्र देशबाहिर कुनै संकट अथवा बिघ्नबाधा वा समस्या पर्नुभन्दा पूर्व भीमेश्वरको शिलामा पसिना आउँछ भन्ने यहाँका स्थानीय बासिन्दाहरुको बलियो विश्वास रहेको छ । भीमेश्वरको शिलामा आउने पसिनालाई देशमा संकट पर्ने भविष्यवाणीको बलीयो सूचकको रुपमा पनि लिने गरिन्छ ।
हुन त दोलखामा हालसम्म उपलब्ध पुराना ताम्रपत्र, भोजपत्र, ताडपत्रमा शिलामा यसरी दोलखा भीमेश्वरको शिलामा आउने पसिनाको बारेमा उल्लेख छैन तापनि भीमेश्वरको मन्दिरको देव्रेपट्टि स्थित गदा एक अंगुल उठेको भनी वि.सं. १८३२ मा उल्लेख गरिएको पाइएको छ ।
जनविश्वासः
वि.सं. १९९० सालको भूकम्प आउनुपूर्व भीमेश्वरको शिलामा पसिना आएको भन्ने यहाँ का बयोबृद्ध स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । यसै गरी बि.सं. १९९७ सालमा चार शहीदहरुलाई मृत्युदण्ड दिनुपूर्व, वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलन हुनुपूर्व, २०११ सालमा राष्ट्रपिता त्रिभुवनको स्वर्गारोहन हुनुपूर्व, वि.सं. २०२८ सालमा श्री ५ महेन्द्रको स्वर्गारोहण हुनुपूर्व, वि.सं. २०४५ मा भूकम्प आउनु पूर्व, २०४६ सालको जनआन्दोलनपूर्व भीमेश्वरको मूर्तिमा खलखल्ती पसिना आएको कुरा स्थानीय बासिन्दाहरु बताउछन् ।
यसै गरी वि.सं. २०५७ सालको माघ महिनाको १ गते बेलुका ६ ः४० बजे र माघ १४ गते बेलुकाको ५ ः४० बजे गरी २ पटक भीमेश्वरको मूर्तिमा पसिना आएको थियो । यसलाई २०५८ साल जेठ १९ गते राजदरबारमा घटेको राजपरिवारका सदस्यहरुको त्रासदीपूर्ण घटनाको पूर्व सूचनाको रुपमा उभ्याएका छन् । त्यस्तै गरी २०६४ साल माघमा आएको थियो । यसैगरी २०७० साल मंसिर ३० गते र माघ १३ गते दोलखा भीमेश्वरमा पसिना आएको थियो । यसलाई २०७२ साल बैशाख १२ गते र २९ गते आएको भुकम्पलाई जोडिएको छ । यसै गरी २०७४ असोज १० गते दिउँसो २ः५५ देखि ५ः१५ सम्म आएको थियो ।
यसै गरी २०७६ साल फागुण ८ गते विहिवार विहान ६ः२८ बजे देखि ७ः२५ सम्म आएको थियो । यसलाई विश्वमा कोभिड १९, कोरोना भाईरसको संक्रमणलाई जोडिएको छ ।
यसै गरी २०७७ मंसिर ९ गते दिउँसो १ः ४३ देखि २ः ५४ सम्म पसिना आएर एकछिन रोकिएको थियो फेरी निरन्तर आएर ३ः५४ सम्म आएर रोकिएको छ । यसलाई प्रधानमन्त्री केपि शर्मा वलीले २०७७ पौष ५ गते आईतवार प्रतिनिधी सभा बिघटन गरेको र भारत नेपाल लगाएत विश्वमा दोश्रो कोरोनाको संक्रमणको घटनालाई लिएको छ । यसै गरी आज २०७८ बैशाख २५ गते शनिबार दिउँसो १२ः१५ बजे देखि १ः३० बजेसम्म पसिना आएको छ ।
यस बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ संग जिज्ञासा राख्दा दोलखा भीमेश्वरको शिलामा आएको पसिनालाई वि.सं. १९९० सालदेखि २०७७ साल मंसिर ९ गतेसम्मको ऐतिहासिक दिनहरुलाई हेर्ने हो भने राष्ट्र भित्र र बाहिर कुनै न कुनै घटना घटेको तथ्य सार्बजनिक भएर अहिलेसम्म पुष्टी भएको छ । यही कारणले गर्दा अव फेरी दोलखा भीमेश्वरमा पसिना आएको छ । यसबाट फेरी राष्ट्र भित्र बाहिर कुनै संकट आउने कुरामा पूर्व संकेतको रुपमा लिन सकिन्छ र उक्त तथ्यमा आफु विश्वस्त रहेको भनाई राख्नु भयो । तर यही ठाउँमा यती नै बेला संकट आउने भनेर भन्न नसिक्ने बताउनु भयो ।
यसै गरी भीमेश्वर मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष शुरेस कुमार श्रेष्ठसँग जिज्ञाास राख्दा अहिलेसम्म भीमेश्वर मन्दिरको शिलामा आएको पसिनाले देश भित्र बाहिर संकट आउने गरेको ईतिहासदेखि बर्तमानसम्मको घटनाले प्रमाणीत गर्दै आएको छ । तर आज दोलखा भीमेश्वरको शिलामा आएको पसिनाले भोलीका दिनमा कहाँ कतिबेला के संकट समस्या आउछ यसबारेमा अहिले नै यसै भन्न नसिकिने भनाई राख्नु भयो ।
यसरी दोलखा भीमेश्वरको शिलामा पसिना आउँदा पूजामा संलग्न देउला, गुठीयार, व्यवस्थापन समिती, वडाध्यक्ष र स्थानिय वासिन्दाहरुको तर्फबाट यसरी पसिना आउँनु लाई देश भित्र बाहिर हुन सक्ने संकटको सूचकको बलियो आधारको रुपमा लिने गरेको पाईन्छ ।