२४ बैशाख, बाँपीझ्याला, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १२१ औं वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५९ औं वार्षिकोत्सव तथा छैटौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा जारी गरिएको शुभकामना मन्तव्यमा उनले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक न्यायसहितको लोकतन्त्र, शान्ति र समृद्धिको कामलाई अझ सबल बनाउने काममा आगामी दिनमा आम सञ्चारमाध्यमले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको भनाई व्यक्त गर्नु भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार प्राप्तिको आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालको आमसञ्चार जगतले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र आमसञ्चारसँग सम्बन्धित सबै व्यवस्थाको कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको स्मरण गराए ।
“‘समृद्ध नेपाल ः सुुखी नेपाली’ मुलुकको राष्ट्रिय संकल्प हो, आम सञ्चारमाध्यमहरुले सोही संकल्प पूरा हुने गरी ‘समृद्धिका लागि सञ्चार’ भन्ने अभियानलाई सार्थक बनाउने छन् भन्ने मैले विश्वास लिएको छु” भनी सन्देशमा भनिएको छ । “सरकारले आमसञ्चार क्षेत्रलाई अझै सम्मानित, मर्यादित, जिम्मेवार र गरिमामय बनाउन चाहेको छ ।
त्यसका लागि आवश्यक नीतिगत, कानूनी र संस्थागत संरचनाहरूको रुपान्तरणलाई समयसापेक्ष बनाउन सरोकारवाला सबैको साथ र सहयोगको सदैव अपेक्षा राखेको उक्त शुभकामना वक्तव्यमा व्यक्त गरिएको छ ।
यसै गरी नेपाल सरकारका प्रवक्ता गुरुङले कोभिड १९ संकटको यस घडीमा फिल्डमै डटेर जनताको जीवन रक्षामा लागेका सम्पूर्ण सञ्चारकर्मीप्रति कृतज्ञता ज्ञापन गर्दै सबै सञ्चारकर्मीको उत्तरोत्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।