Search

लघुकथा–चमेलीको सुगन्ध

लघुकथा–चमेलीको सुगन्ध

मिसु श्रेष्ठ थपलिया
श्रीमान थला परेको लामो समय भइसक्यो । छोराछोरी आ–आफ्ना बाटो लागिसके । औषधिमुलो, धामीझाँक्री भएसम्म सबै लगाइसकिन् । बिरामीको स्याहारसुसार, गाईबस्तु, खेतीपाती, आँगन बगैंचा सबै राम्ररी भ्याएकै छिन् ।बाटोमा घर परेको छ । आउने जानेसँग मिठो बोली वचन छ, जे छ खाजा मोहीले सत्कार पनि गर्छिन् ।

“हैन चमेलीको बुढा त साह्रै पो भएछन्, आज..भोलि जस्तो छ ।”
“मैले बिहान पँधेरोमा देखेथे, श्रृङ्गारमा हँसिलै देखिन्थी त चमेली !”
“त्यो त चमेली कहिले अँध्यारो देखेकी छिन् र ! सधैं हाँसीखुसी, सधैं श्रृङ्गार पटार ।”

“त्यस्तो नहुँदो हो त बूढो आजसम्म के बाँच्थे ?”
“बिचरी! आफूभन्दा पन्ध्र सत्र बर्षको जेठो होलान्, त्यहाँ माथि कति बर्ष देखि प्यारालाइसिसको रोगी । ”
“चमेली फूल जस्तै सुगन्धित, गाउँकै जून ।सधैँ हँसिली , फरासिली, मनकारी ।”
“त्यही त बिचरी बुढोको सेवा शुश्रुषा । सधैं सुकिलो, श्रृङ्गार पटार, नाडी भरी चुरा, सिन्दुर, टीका, पोते, रातो पहिरन।
कत्ति लच्छिनी !”

बुढा पनि भाग्यमानी नै हुन्।बिरामी भइकन…. ”
“त्यसो त गाउँले सबैले सहयोग गरेका छौँ नि ! ”
अझ मदनबाका परिवारले त..”
पँधेरामा जम्मा भएका महिलाहरु वातचित गर्दै थिए ।

पुरुषहरूको दौडादौड देखियो । एकैछिनमा चमेलीको आँगनमा रुवाबासी चल्न थाल्यो । उनी सधैंको लागि श्रृङ्गार बिहिन बन्दै थिइन्, एक्ली हुँदै थिइन्; नितान्त एक्लै । उनको दियोको बाती सकिएको थियो ।

समवेदना ओइरिदैथिए ! मृतक भन्दा चमेली प्रतिको सद्भावले सबैको आँखा रसाउँदै थिए । लासमा फूलमाला सजिदै थिए ।
पिँढीमा चमेली छाति पिटिपिटि रुँदै, रोक्किदै बोल्दै पनि थिइन् ।
सिँदूर पखालियो ।
टीका फालियो।
पोले चुँडालियो ।

रातो पहिरनको ठाउँ सेतोले लियो ।
अन्ततः चुरा फुटाउने तयारी भयो ।
आँसु पुछ्दै चमेली मसिनो स्वरमा बोलिन् “यो चुरा त फुटाउनु पर्छ र यिनले दिएका होइनन् । फेरि म त यी पल्लाघरे मदनसँगको सम्बन्धमा छु ।“
२०७८÷०१÷२०

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!