Search

दोलखा मेरो मावली घर हो, त्यसैले मेरो भावनात्मक सम्वन्ध जोडिएको छ ।

दोलखा मेरो मावली घर हो, त्यसैले मेरो भावनात्मक सम्वन्ध जोडिएको छ ।
उत्तम मल्ल, अध्यक्ष
लायन्स क्लव अफ द्वाल्खा

उत्तम मल्ल नाम उच्चारण गर्दा सायद भीमेश्वर नगरपालिका वडा नं २ दोलखावासी संग सम्बन्धित व्यक्तिहरुको माझमा पुर्ण परिचित होला । अनि नेपाल दूर संचार कम्पनीको कार्यकक्षमा । साथै विगत केही वर्षदेखि हामीले वहाँलाई लायन्स क्लब अफ दोलखाको वर्तमान अध्यक्षको रुपमा परिचित हुनु हुन्छ ।
जन्मघर बागमती प्रदेश नं ३ चुनावी क्षेत्र नं १ काठमाडौ लप्सेफेदी स्थित बुबा स्वर्गीय सत्यलाल मल्ल र आमा स्वर्गीय पवन कुमारी मल्लको माइलो छोरा हुनुहुन्छ । वहाँको एक दिदी, एक दाजु र एक भाइ हुनुहुन्छ । वहाँको स्थायी घर लप्सेफेदी काठमाडौबाट १९ किमिको दूरीमा पर्दछ । हाल बासबारी काठमाण्डौं बसोबास गर्दै आउनु भएका लायन्स क्लब अफ दोलखाको अध्यक्ष मल्ल र बाँपीझ्याला डटकम अनलाइन पत्रिकाका प्रतिनिधि बालकृष्ण श्रेष्ठ “पासा” संग भएको कुराकानीको मुल अंश यहाँ प्रस्तुत गरिएका छौं ।

मान्छेको जिउडाल गम्म परेको शरीर मात्रै भएर व्यक्तित्व झल्किन्छ भन्नू त्यत्ति सुहाउँदो कुरो नहोला, ठूलाठूला भाषण र नारा झल्काउने तर काम र कर्तव्यबाट अलिक टाढा नै रहने प्रवृत्तिले न त देशको विकास हुन्छ न त आफ्नो व्यक्तित्व नै लोकप्रिय हुन्छ । समाज र सामाजिक संघ संस्थाको कार्यक्रम देखाएर, आयोजना गरेर केही बेर फूल माला र तालीको गडगडाहटले मात्र पनि सामाजिक रुपमा समाजसेवी कहलाउनु त्यत्ति शोभनीय नहोला । समाजसेवाको लागि स्वच्छ हृदय र पारदर्शी मन हुनुपर्ने जरुरी देखिन्छ ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ त ?
केमा व्यस्त हुनु र, एक त सरकारी कर्मचारी, अर्को पारिवारिक जिम्मेवारी घर र अफिस गर्ने हो, त्यसमाथि कोरोनाको संक्रमण कालको समय जताततै जाने कुरो भएन त्यसैले सरकारको आदेश पालना गरी अफिस जान्छु अनी घर आउँछु ।

त्यो त हो, अनि हजुर त लायन्स क्लब अफ दोलखामा पनि आबद्ध हुनुहुन्छ । खुशी लाग्यो, साथै खुलदुली पनि लाग्यो अनी केही बताई दिनु हुन्छ की ?
हो म लायन्स क्लब दोलखाको वर्तमान कार्यसमितिको अध्यक्षमा छु. । अनि यसमा खुल्दुली चाहिँ किन नि.. कि म अध्यक्ष हुन नसुहाउँदो लागेर कि ?

होइन होइन, त्यस्तो भन्न खोजेको होइन कि, यहाँ काठमाडौको स्थानीय बासिन्दा, अनि दोलखाको कार्यसमितिको अध्यक्षमा कसरी हुनु भयो भनेर भन्न खोजेको मात्र हो ।
यसमा अचम्म खुल्दुली मान्नुपर्ने कुनै कुरा केही छैन । सेवा गर्ने मन हुनुपर्छ । संसारको जुनसुकै ठाउँमा पुगेर नि गर्न सहयोग गर्न सकिन्छ, होईन र ? एउटा कुरा नेपालका सभासदहरु पूर्वका पश्चिममा र पश्चिमका पूर्वमा उम्मेदवार बनेर लड्दै सभासद बनेर सिंहदरबार काठमाडौंमा बस्न मिल्छ भने म त सामाजिक संस्थामा छु ।

सही कुरा गर्नु भो, अनि दूर संचारको कर्मचारीको रुपमा काठमाडौंमा रहेर दोलखाको लायन्स क्लबको कार्यक्रममा कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
जहाँ ईच्छा त्यहाँ उपाय । हो म सरकारी कर्मचारी हुँ । विगत २६ वर्षदेखि नेपाल दूर संचारमा काम गरिरहेको छु, काम नगरी माम पाक्दैन त, समय मिलाएर कार्यक्रममा गर्छु आफु पनी सहभागी हुन्छु ।

त्यो त हो, तैपनि सरकारी जागिरे हुँदाहुँदै गर्दागर्दै सामाजिक सेवामा मन जानुको कारण यस बारेमा केही बताई दिनु हुन्छ की ?
सामाज सेवाको परिभाषा नजानेकै बेलामा पनि मलाई यस्तो समूह संगठनमा बसेर काम गर्ने ईच्छा सानैदेखि थियोे । २०४१ सालतिर जतिबेला अरुको दाँजोमा म फुच्चे थिएँ । मेरो जन्मघर लप्सेफेदिमा टोलका अन्य दाजुभाइ साथीहरू मिलेर समाज सुधार पुस्तकालय खोलेका थियौं । त्यसमा म कोषाध्यक्षको रुपमा काम गरेकोे थिएँ । मलाई कोषाध्यक्षमा राखेको थाहा पाएर मेरा बा र आमा अचम्म मान्नुभएको थियोे । त्यसैले सामाजिक कार्यको शुरुवात मैले त्यही बेलादेखि शुरु गरिसकेको थिए ।

लायन्स क्लब त काठमाडौंमा पनि छ त ? हजुर दोलखाकै लायन्स क्लबमा आबद्ध हुनमा केही प्रष्ट गरि दिनु हुन्छ की ?
त्यो खुल्दुली स्वभाविकै हो । हो म काठमाडौं लप्सेफेदिको मान्छे दोलखाको क्लबमा कसरी पुगें भन्दा, पहिलो माध्यम मेरो मावली घर हो । त्यसैले दोलखा सँग मेरो भावनात्म सम्वन्ध जोडिएको छ ।दोलखा, दोश्रो मैले लोकसेवा परीक्षा उतिर्ण गरेर पाएको पहिलो जागिरे जीवन पनि दोलखाकै घरेलु तथा साना विकास उद्योग समितिमा हो । यसै सिलसिलामा दोलखामा बस्न पुगें जहाँ मेरो ठुली आमा, दाइ र भाउजू र नातागोता हुनुहुन्छ । त्यसैले पनि दोलखा मेरालागि जन्मघर भन्दा नि अझ बढी नै परिचित बनेको थिएँ । त्यहाँ बस्दाबस्दै सबैसँग हेलमेल हुँदै जाँदा भाइ रमेश प्रधानसंग राम्रो सम्बन्ध बनेको थियो ।

उत्तम मल्ल र जिवन संगीनी अवला प्रधान मल्ल दोलखा भीमेश्वर दर्शन गर्न जाने क्रममा ।

त्यति बेला त्यहीँको भाइ रमेश प्रधान संग सम्बन्ध बढ्दै गयो । जतिबेला उ यही लायन्स क्लब दोलखाको अध्यक्ष थियो । त्यतिबेला मैले सदस्यता लिएको थिएँ । त्यसपछि निरन्त काम गर्दै आए हाल सबैले मलाई बस्न अनुरोध गरेकोले मैले यो अवसर पाएको हुँ ।

ए, त्यसो भनेपछि यहाँ दोलखामा पुग्नु भएछ । अनि यो लायन्स क्लबले दोलखामा सामाजिक के कति काम गर्न सक्षम भएको छ त ?
दोलखामा लायन्स क्लबको आफ्नै २ वटा भवन छ । एउटा लायन्स् प्रशासनिक भवन र अर्को आँखा अस्पताल पनि सञ्चालन गरिएको छ । त्यसैगरी सिन्धुली जिल्लाको कमला माई नगरपालिका पनि स्थानीय अन्य क्लबहरुसंगको सहकार्यमा छात्रवृत्तिको कार्यक्रम चलाउँदै आएका छौँ । दोलखामा बेला बेलामा आँखा सम्बन्धि विभिन्न आँखा शिविर सञ्चालन गरिएको छ । बाढीपीडित, बिसं २०७२; सालको महाभुकम्पमा यस क्लबले भूकम्पपीडितलाई २ लाख भन्दा बढीको खाद्यान्न राहत सामाग्री वितरण गरिएको छ. । यसै गरी गत बर्ष पहिलोपटकको कोभिड–१९ को संक्रमणकालमा राहत सामग्री वितरण गरेका थियौं ।

धेरै राम्रो काम त्यसमाथि यो लायन्स क्लब त अन्तर्राष्ट्रिय सामाजिक संस्था पनि हो नि होइन र ? अनि यो लायन्स क्लब कुन देशको कोबाट शुरु भएको हो यस बारे केही बताई दिनु हुन्छ की ?
यो संस्था अन्तर्राष्ट्रिय संस्था भएकै कारणले पनि हामीले धेरै कुरामा गहन अध्ययन गरेर आवश्यक कदम उठाउन जरुरी छ । लायन्स क्लब सन् १९१७ को अक्टोबरमा मेलबिन जोन्सले शुरु गरेको हो । यो संस्था संसारका झण्डै २०० देशमा सञ्चालित छ । करीब १५ लाख भन्दा बढी सदस्यहरु यसमा आबद्ध रहेका छन् । “हामी सेवा गर्छौं” भन्ने उद्देश्य सहितको नारा बोकेर यो संस्था अगाडि बढिरहेको छ ।

प्रत्यक्षरुपमा दोलखा जिल्लामा गरिएको कुनै उपलब्धिमुलक कामको बारेमा केही बताई दिनु हुन्छ की ?
दोलखा जिल्ला भरि नै पुग्न नसके पनि यो लायन्स क्लबले करीब ८ करोड रकम बराबरको खर्च गरेर जिरीमा धन मा.वि १ विद्यालयम भवन निर्माण सम्पन्न गरिएको छ । यसको उद्घाटनको प्रतीक्षामा छौं । क्षेत्रपामा १ र भिम मा.वि स्कुल २ वटा भवन निर्माण गरिदिएको छ । दोलखाको भीमेश्वर नगरपालिका भित्र धेरै सहयोग गरेको छ ।

यो कोरोनाको संक्रमण कालमा आएर आफ्नो अमूल्य समय दिएर लायन्स् क्लबले गर्दै आएको अनुपम सामाजिक सेवाको उद्देश्य र सेवामूलक कार्यको जानकारी दिनुभएकोमा हामी यहाँ प्रति हृदयदेखि आभार व्यक्त गर्दछौं । अन्तमा बाँपीझ्याला अनलाइन पत्रिकालाई केही भन्नू छ कि ?

मलाई पनि धेरै खुशी लाग्यो, यो लकडाउनको समयमा चुपचापले बस्नुपरेको बेलामा केही कुरा राख्न दिनुभएकोमा मन नै हलुको महशुस भएको छ । आफ्नो दोलखाको मातृभाषाको जर्गेना र संरक्षणमा सहयोग र मातृभूमि प्रति लक्षित गरेर अगि बढ्र्दै रहेको यो बाँपिझ्याला अनलाइन पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!