अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागू भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएका जिल्ला भित्रका ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो । छनोटमा परेका विद्यालयमा सैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु ९ तामाकोशी ९ बैतेश्वर गाउँपालिकाका ६ तथा गौरीशङ्कर ५, कालिन्चोक गाउँपालिका ५, र जिरी नगरपालिकाका ५ र ८ विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ । छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने र सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट निकासा गर्ने शिक्षा विभागले जनाएको छ ।
यसरी शैक्षिक सुधार लागू भएका विद्यालयमा कक्षाकोठा निर्माण तथा सुधार, खानेपानी, पुस्तकालय, कम्प्युटर, शौचालय, विज्ञान प्रयोगशाला र अन्य विषय समाविष्ट हुने जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका मन्दिरा काफ्लेले बताइन् । विसं २०७२ को भूकम्पका कारण जिल्लाका सामुदायिक तथा अन्य गरी ३४७ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये केही निर्माणाधीन तथा धेरैजसो भवन निर्माण सम्पन्न भई सकेको बताउनु भयो ।