Search

साँखु बज्रयोगिनी जात्रा

साँखु बज्रयोगिनी जात्रा


साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा यस वर्ष अर्थात् २०७८ साल बैशाख १४ गते सुरु भएको छ । जात्राका लागि आठ दिन अगाडि चैतेदसैंमा पाँच थकाली गुरु बज्राचार्य सहित स्थानीय नगरबासीको तर्फबाट दाम र सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गरिएको थियो । त्यही दिनदेखि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ ।

चैतेदसैंको दिन जात्रा सुरु भएको संकेत स्वरूप नायखीं बाजा बजाएर नगर परिक्रमा गरेर झ्याली पिटेर सूचना दिने प्रचलन छ । त्यस दिनदेखि साँखु नगरभित्रका बासिन्दाले छाला जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्ने गर्न नपाउने चलनको मान्यता छ। साँखुका इतिहासविद्का अनुसार मल्लकालमा जात्रा अवालेकन गर्न हात्ती घोडा चढेर आउने राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ ।

जात्राका लागि शनिबार शंखरापुर नगरको उत्तरतिर मणिचूड पर्वतस्थित बज्रयोगिनी मन्दिरबाट म्हाःसु ख्वा माको मूर्तिसँगै चिभाः द्यः, सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु शंखरापुर नगर बस्तीमा ल्याइएको छ । बज्रयोगिनी माई नगरमा सवारी गराउँदा बालाजु बाइसधारामा मेला लाग्ने परम्परा छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनी तथा नीलो कालो अमोघसिद्धि आदिबुद्धलाई जात्रा गर्ने परम्परा छ ।

जात्रामा ४ दिन पछि शुक्रबार मुख्य जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन् । जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरु चेलीबेटी ज्वाइँ खलक बोलाएर भोज खुवाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ।

जात्रा प्रत्येक वर्ष चार टोल धुँल्ला, ईल्लाटोल, सुन्टोल र चलाखु टोलका स्थानीयबासीले पालैपालो सञ्चालन गर्ने परम्परा छ । यसपाली सो रथलाई चलाखु टोलमा राखिएको छ । जात्राको प्रारम्भ त गरियो तर कोभिड–१९ को कारणले गर्दा औपचारिक रुपमा रथलाई मन्दिरबाट शहरसम्म ल्याईए पनि परिक्रमाको लागि स्थगित गरिएको छ, सो रथ भिडको मद्दतले उचालेर बोकेरै लानुपरेकोले समय र परिस्थितिलाई बुझेर सरकारी नियम र स्थानीयहरुको समझदारीमा जात्रा औपचारिकतामा सिमित गरिएको छ ।

ऐतिहासिक कालखण्ड लिच्छविकालका राजा जोगदेवको पाला देखि नै संचालनमा आएको कुरा इतिहासविदहरु वताउँछन् । यो जात्रा करीब ३३ शय वर्ष पुरानो हो भन्नेकुरा शिला अभिलेखमा देखिएको छ भने करीब ३ शय वर्ष अगाडि साँखु अर्थात् शंखरापुरका राजा शङ्खरदेवले आफ्नो राज्य वरिपरिका सात गाउँमा सुख शान्ति र खेतीपातीमा कुनै अवरोध नहोस् भन्ने हेतुले देवी बज्रयोगिनीलाई प्रसन्न पार्न यो जात्रा चलाउने गरेको बुझिन्छ । यसै कारणले यस साँखु क्षेत्र वरिपरिका सात गाउँ गागल, पालुबारी,लप्सेफेदि, ईन्द्रयाणी, चाँगु र घुमारचोक बस्तीमा खेतीपाती गर्न रोकिने चलन चलेको स्थानीयहरुको भनाई रहेको छ ।

यही बज्रयगिनी देवीलाई बौद्धमार्गीहरुले बुद्ध शक्तिरुपी ताराको रुपमा पुज्ने गरिएकोले यस देवीलाई उग्रतारा पनि भन्ने गर्दछन् । तथापि बज्रयानी वर्गले बज्रयोगिनीकै रुपमा मान्दै आएका छन् । इतिहास र वंशावलीमा उल्लेख भए अनुसार यो जात्रा कलि सम्वत् १८१८ चैत्र पूर्णिमा देखि चलि मान्यता रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!