मिसु श्रेष्ठ
“लामो लामो सास फेर्नुस् ।”
पूर्णत होस आउदा डाक्टरले घाउ सफा गर्दै बोलिरहेका थिए । माइत, बिवाहा, घर हुदै अहिलेको परिस्थिति सम्म सोध्न भ्याएकी थिइन् महिला डाक्टरले । ऊ रोकि रोकि यथार्थ बताउदै थिइन् । घाउमा टाँका लगाएर सामान्य भइसके पछि बेड नं ११ मा सारे ।
डाक्टर, नर्सको आत्मियता, हेरविचार र राम्रो व्यवस्थापनले अस्पताल प्रतिको उसको धारणामा परिवर्तन आएको थियो । प्रायः अस्पतालका डाक्टरहरु व्यापारिक मनस्थितिका, नर्सहरु रिसाहा , अटेरी हुन्छन् भन्ने सुनेको र यदाकदा भोगेको पनि हो तर यहाँ त्यस्तो लागेन ।
तीन दिन पछि अलि ठुलो कोठा सारे । अलि धेरै बिरामी अटाएका थिए । साविक कै सुविधा थियो । एउटै कुरा अलिक फरक देखियो–बिरामीलाई हप्किदप्कि, हकार पकार थियो । ती सिनियर नर्स रहेछन् । उसलाई पनि हकार्थे कहिले के निहुँ, कहिले के निहुँमा ।
एकदिन राउन्ड आएको बेला डाक्टरले रिपोर्ट हेरेर राख्ने क्रममा फाइल खस्यो । तिनै सिनियर स्टाफ नर्सले उठाएर राख्दै गर्दा उसको सम्पूर्ण विवरण निकै समय लगाएर हेरिन्। किन हो कुन्नि त्यसपछि तिनले उसलाई निकै ख्याल गरिन्, आत्मियता देखाइन् । उसलाई लाग्यो सम्पूर्ण बिरामी प्रति नै आत्मियता प्रगाढ बनाउँदै थिइन् ।
जिल्लामा उपचार गर्ने डाक्टर त्यहाँको सिस्टमको बारेमा सोधपुछ गर्थिन्।आफुले जिल्लाको जेटिएस.(जिरी टेक्निकल स्कुल) मा पढेको, डा. अनन्त आफ्नो गुरु भएको कुरा बारम्बार बताइरहन्थिन् ।
“भोलि डिस्चार्ज हुने ।” सिनियर नर्सले बताउदा निको भएकोमा खुसी र अस्पताल छाड्नु परेकोमा बिस्मात जस्तो महसुस गरिन् ।
“बिरामी भएर फेरि आउन त नपरोस् तर हाम्रो मिठो भेट होस् है !” भन्दै हातमा बुकि दिइन् । “यो डाक्टर अनन्तलाई दिनु ल ?” भन्दै एउटा खाम पनि ।
थाँती रहेका अफिसियल काम सकेर दुई दिनको लागि फिल्ड जानू थियो । ब्याग प्याक बोक्ने क्रममा डाक्टर अनन्तको चिठी खस्यो । “अहो भुसुक्कै बिर्सेछ ।” डाक्टर रहेनछन् म्याडमलाई दिनु पर्ला, सोच्दै टिपिन् । खाम बन्दी रहेनछ चिठी खस्यो र देखिन प्रिय डाक्टर मलाई दिएको वचन पूरा गर्न सकेनौ । तिमीलाई दिएको वचन पूरा गरेकी छु ।”
२०७८/०१/१४
दोलखा, हाल काँडाघारी काठमाडौं