बाँपीझ्याला, बुटवल । तिलोत्तमा नगरपालिका-१, नयाँमिलका महिला व्यावसायिक फूलखेतीमा लागेका छन्। व्यावसायिक रूपमा फूलखेतीमा लागेका महिला तिहारमा पहिलो पटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेपछि अहिले बेमौसमी फूलखेतीमा लागेका हुन्। तिलोत्तमाका ७ जना महिला मिलेर फूल खेतीमा जुटेका छन्। अहिले बेमौसमी फूल खेतीबाट पनि राम्रो आम्दानी हुन थालेपछि महिला हौसिएका छन्। महिलाले तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर गत वर्षदेखि व्यावसायिक फूल खेती गर्न थालेका हुन्।
‘गत वर्ष साढे ३ कट्ठा जग्गामा भएको फूलखेतीबाट साढे पाँच लाख आम्दानी भयो,’ समूहकी अध्यक्ष सीता पाठकले भनिन्, ‘पुष्प खेतीबाट राम्रो आम्दानी भएपछि अहिले साढे ३ कट्ठा जग्गाबाट बढाएर १० कट्ठा जग्गा लिजमा लिएर व्यावसायिक खेती गर्न थालेका छौँ।’
अध्यक्ष पाठकका अनुसार पुष्प व्यवसायलाई व्यवसायीकरण गर्नका लागि १० लाख रुपैयाँ लगानी गरिसकेका छन्। अहिले उनीहरूको बारीमा बेमौसमी सयपत्री फूल ढकमक्क फुलिरहेको छ। समूहका महिलालाई अहिले रुपन्देहीमा हुने विभिन्न सभा-समारोहमा फूलको माला पुर्याउन भ्याइनभ्याइ छ।
‘अघिल्लो वर्ष सिजनकै बेला फूलखेती गरेर राम्रै आम्दानी भएको थियो। यसपालि पनि बेमौसमी फूल रोपेको तीन महिना नपुग्दै थुप्रै माला बिक्री भइसकेका छन्,’ पाठकले भनिन्। यसले महिलालाई उद्यम बनाउन टेवा पुर्याएको छ। उनीहरूले प्रतिमाला १२० रुपैयाँ मूल्य निर्धारण गरेका छन्।
‘सयपत्री फूल दसैँ तिहारमा मात्रै नभई पूजाआजा, कार्यक्रम, विवाह, व्रतबन्ध जस्ता कार्यको लागि सधैँ आवश्यक पर्छ। तर, हामीकहाँ व्यावसायिक फूलखेती गर्नेहरू निकै कम छन्, चाहिएको बेला फूल खोज्नका लागि भारततर्फ दौडिनु पर्छ,’ समूहकी सदस्य चम्पा पाण्डेयले भनिन्, ‘अब भने भारत जानुपर्ने बाध्यतालाई अन्त्य गर्नेगरी पुष्प व्यवसायमा लाग्दै छौँ।’
फूलको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान, कृषि उपकरण सहयोग गर्न थालेपछि महिला उत्साहित बनेका छन्। तर उनीहरूले आर्थिक अनुदान भने प्राप्त गरेका छैनन्। व्यावसायिक फूलखेतीका लागि तिलोत्तमा नगरपालिकाले दुई वटा पानी ट्याङ्की, ६ वटा गार्डेन पाइप, स्प्रे मेसिन, बिरुवा रोप्ने मेसिन र हाते ट्याक्टर उपलब्ध गराएको तिलोत्तमा–१ का वडाध्यक्ष तामानाथ पाण्डेयले बताए।