बालकृष्ण श्रेष्ठ “पासा”
काठमाडौंको गोकर्णेश्वर नगरपालिका अन्तर्गतको मुख्य बजार वडा नं ५ जोरपाटीमा अवस्थित चामुण्डा देवी माताको रथयात्रा आज चैते दशैं अर्थात् अष्टमीको दिन विधिवत् रुपमा शुभारम्भ भयो ।
यो जात्राको रौनकतालाई मध्यनजर राख्दा एउटा अलग्गै विशेषता देख्न पाईयो । नेपाल राज्यभरमा जति पनि जात्रा पर्व मनाईन्छ, विशेषगरि वडा दशैं, तिहार बाहेक अन्यजात्रा जातीय हिसाबमा मनाउने गरिएको गरिएको पाईन्छ । यो हामीले देखि जानेका र सुनि जानेका कुराहरु हुन्, जात्रा संस्कृति चाड पर्वमा नेवार जातिलाई अब्बल दर्जामा राखिन्छ । यी कुरा लिच्छवि वंशका पाला देखि नै चलिआएको इतिहासमा स्पष्ट छ । त्यसै गरि पश्चिममा मनाईने देउडा पर्व, पूर्वमा मनाईने उभौली पर्व, दक्षिणमा छठ पर्व मनाउदै आए तापनि रथयात्रा र देव देवी नृत्यमा नेवार जाति अग्रपंक्तिमा रहि आएको छ ।

तर यो जोरपाटीको चामुण्डा माईको जात्रामा भने कुनै जातिको भनेर वर्गीकरण गरिएको छैन । यहाँ रहेका स्थानिय र अस्थानीयमा कुनै भेदभाव नगरि यो जात र त्यो जातको व्याख्या नगरिकन सामुदायिक रुपमा मनाउने गरिन्छ । यसैलाई विशेषतामा समेटिएको अलौकिक जात्रा भन्दा फरक नपर्ला, यो जात्रामा समावेश भएका समुहगत समुदायलाई हेर्दा सिङ्गो नेपाली नै भेलाभएको महशुस हुन्छ ।
आजको यस जात्रामा गोकर्णेश्वर नगरपालिका क्षेत्रमा रहेका मन्दिरसंग सम्बन्धित समुहहरु युवाक्लवका युवाहरु सम्मिलित भएका देखियो । विशेषगरि रुद्रेश्वर युवा समुह, अर्घौतेश्वर युवा समुह, नेपाल खड्गी समाज समुह, नयाँबस्ती युवा क्लव र झाँक्री समुहले आआफ्नो बाजा बजाएर जात्रालाई बिशेष रौनक थपि दिएको देखियो ।
रथयात्राको लागि तैयार गरिएको ३ वटा रथमा गणेश, चामुण्डा र भैरवको मूर्ति प्रतिस्थापना गरि विधिपूर्वक पूजा आाजा गरि पञ्चबलि (राँगो, थुमा, बोका, हाँस र भाले) दिएर जात्राको थालनी गरिने प्रचलन अनुसार पुजारी बिमल श्रेष्ठले सम्पूर्ण विधि सकाएपछि जात्राको दोश्रो चरणमा रथलाई नगर परिक्रमा शुरु गरिन्छ ।
यसैक्रममा सबै विधि पुरा गरिसकेपछि गोकर्णेश्व नगरपालिकाका मेयर र वडाध्यक्ष नारायण प्रसाद सुवेदीले सम्पूर्ण सहभागी भक्तजन तथा समुदायलाई शुभकामना मन्तव्य दिएर सामाजिक दूरीको मान्यतालाई कायम राखेर जात्रा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुदै जात्रा थालनी भएको उद्घोष गर्नु भयो ।
यसैक्रममा आज मैले चामुण्डा देवीको प्रमुख पुजारी विमल श्रेष्ठ संग यो जात्राको छोटकरीमा टिप्पणी लिने क्रममा सोद्धा उहाँले भन्नुभयो “यो मन्दिरको स्थापना धेरै पहिले देखि भएको भए पनि रथयात्राको थालनी विक्रम सम्वत २०४० सालदेखि भएको हो र पंचबलिपूजा चाहिँ २०४५ सालदेखि शुरु गरिएको हो । तत्कालीन प्रधानपंच स्वर्गीय चक्र बहादुर ठकुरीको पाला देखि भएको र पंचबलिको कार्यक्रम स्थानीय समाजसेवी भैरवमान श्रेष्ठले सुचारु गर्नु भएको हो ।“
स्मरणीय कुरा के छ भने स्वर्गीय चक्र बहादुर ठकुरी पंचायतको अन्त भएपछि नेपाली काँग्रेसको जुझारु अब्बल नेता हुनुहुन्थ्यो भने भैरवमान श्रेष्ठ राप्रपा संग घनिष्ठता हुनुहुन्थ्यो । यसै क्रममा यो चामुण्डा देवीको मन्दिर कहिले बनेको हो र यसको पृष्डभूमि के छ भनेर स्थानीय बुद्धिजीवि एवम् पाका व्यक्तित्व कृष्ण प्रसाद घिमिरे ज्यूसंग जिज्ञासा राख्दा वहाँले यसरी भन्नु हुन्छ “यो चामुण्डा देवी भनेको सतिदेवीको अंग पतनको क्रममा यहाँ आईपुग्दा सतीदेवीको कान्छी औंलाको नङ पतन भएको भन्ने जनश्रुति रहेको छ ।
यसै गरी पहिले यो ठाउँमा खुल्ला खालि चौर थियो, म सानै हुँदा अर्थात् आफ्नो बुबाको काखमा हुँदा जतिखेर मैले बोल्न जानि सकेको थिएँ, बरण्डामा बसिरहेको बेलामा पंचैबाजा बजाएर तलदेखि माथि सम्म हिनेको आवाज स्पष्ट सुनिन्थ्यो तर रुप देखिदैनथ्यो, बाहिर भन्दा हतपत अरुले नपत्याउँदा अन्योल छाएको थियो, जब अरु २÷४ जनाले नि त्यो प्रकृया निरन्तर सुनिएको प्रचार भएपछि त्यहाँ उत्खनन गरियो, अनुसन्धान गर्दा सतीदेवीको नङ पतन भएको स्थल रहेछ भन्ने थाहा भएपछि मन्दिर नै बनाउने सोचले त्यही खालि चउरलाई माथि उठाएर मन्दिरको स्थापना गरिएको हो ।
यस कामको लागि पूर्व चिफ जनरल सतिश शम्सेर जबराले सहयोग गर्नु भएको हो । पछि बिस्तारै स्थानीय सुवेदी, बराल, घिमिरेहरु मिलेर यस पुन्य कार्यलाई पूर्ण व्यवस्थापन गरिएको हो ।
प्राचीन किंवदन्तीको ठोस आधार नभएपनि हिन्दू धर्मका अनुयायीहरुले यस देवीलाई साक्षात देवीको रुपमा पुज्दै आएका छन् ! जय चामुण्डा माई ।