बाँपीझ्याला, काठमाण्डौं । नेपालीहरुले आज चैते दसैँ पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाईने गरिन्छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने परम्परा रही आएको छ ।
हनुमानढोकामा बलिसहित पूजा
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । दशमीका दिन मान्यजनबाट टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरिन्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैँ घरमा चैते दसैँका दिन पनि बलिसहित पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ ।
यस वर्ष पनि मंगलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडा दसैँमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।
गत वर्ष चैते दसैँमा भने कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिइ पूजामात्र गरिएको थियो । चैते दसैँमा कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको थियो ।
दोलखा भीमेश्वरमा बलिपूजा :
साक्षात दोलखा भीमेश्वरमा चैत्र दशैको अवसरमा विशेष पूजा आराधना गर्ने गरिन्छ । यसको साथै बलिपूजा गर्ने चलन रहेको छ । पहिले पहिले भेड्पु गुठी अन्तर्गत आजको दिनमा बलिपूजा गर्ने परम्परा रहेको छ । तर जव बहुदलीय व्यवस्थापको आगमण पछी उक्त बलिपूजा आउन रोकेको छ । तर भेड्पुबाट बलिपुजा नआएपनी बलिपूजाको व्यवस्थापन भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीले व्यवस्थापन गरि बलि पूजालाई निरन्तरता दिएको उक्त व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । बलिपूजा अन्तर्गत हाल ३ वटा बोका बलि दिने गर्ने गरिएको बताउनु हुन्छ ।

यसै गरी काठमाडौं उपत्यकाका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । यस अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
+ There are no comments
Add yours