०४ बैशाख, बाँपीझ्याला, एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पहिलो जित हात पारेको छ । चेन्नईले आफ्नो दोस्रो खेलमा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
जितका लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १५. ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका फाफ डु प्लेसिस ३३ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । मोईन अली ३१ बलमा ७ चौका र १ छक्का सहित ४६ रनको योगदान दिए । रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए । साम करन ५ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १-१ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।
पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । एक समय २६–५ को कमजोर अवस्थामा पुगेको पन्जाबलाई छैटौं विकेटका लागि महत्वपूर्ण ३१ रनको साझेदारी गरेका थिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर दीपक चाहरले ओपनर मयंक अग्रवाललाई शून्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । तेस्रो ओभरको पाँचौं बलमा रविन्द्र जडेजाले कप्तान लोकेश राहुललाई डाइरेक्ट स्टम्प टाक्दै ५ रनमा रन आउट गरेपछि पन्जाबको विकेट एकपछि अर्को गुम्न पुगेको थियो । पाँचौं ओभरको दोस्रो बलमा दीपकले क्रिस गेललाई १० रनमा रविन्द्र जडेजाबाट क्याच आउट गराएका थिए । एक बल पछि निकोलस पुरन शून्यमा शार्दूल ठाकुरबाट क्याच आउट हुन पुगेपछि पन्जाब १९–४ को कमजोर अवस्थामा पुगेको थियो ।
सातौं ओभरको दोस्रो बलमा दीपक हुडालाई १० रनमा फाफ डु प्लेसिसबाट क्याच गराउँदै दीपकले पन्जाबलाई २६–५ को कमजोर अवस्थामा पुर्याएका थिए । शाहरुख खान अन्तिम ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा जडेजाबाट रन आउट हुन पुगेका थिए । मुरुगन आश्विन ६ र मोहम्मद शामीले ९ रनको योगदान दिए । चेन्नईका तीव्र गतिका बलर दीपक चाहरले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिए । ड्वेन ब्राभो, साम करन र मोईन अलीले १–१ विकेट लिए ।
पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो । आइतबार पन्जाबले दिल्लीसँग खेल्ने छ । चेन्नई पहिलो खेलमा दिल्लीसँग ७ विकेटले पराजित भएको थियो । चेन्नईले आफ्नो तेस्रो खेल सोमबार राजस्थान रोयल्ससँग खेल्ने छ ।