मिसु श्रेष्ठ
“तीन दिनदेखि भोकै छु, हजुर सहयोग गर्नुस्।”
रीता मिसको ध्यान उसमा केन्द्रित भयो ।
भर्खर भगवानको दर्शन गर्दा अद्भुत प्रकाश प्रदीप्त महसुस भएको उनको मनमा एकाएक कालो बादल मडारिन पुग्यो ।अनायास हिजोको कक्षाको विद्यार्थीको प्रस्तुति सम्झन पुगिन्।
“… त्यसैले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् ।”
गाँस , बास, कपास , स्वास्थ्य , शिक्षा , जीवन रक्षा, सहभागिता , स्वतन्त्रता आदि हाम्रा मौलिक अधिकार हुुन् ।
हामीले अधिकार मात्र खोजेर हुदैन , कर्तव्य पनि पूरा गर्नुपर्छ।“
“ल तिमीहरूले पनि शिवले जस्तै तयारी गरेर आउनु ल ?“
“हुन्छ मिस !“
“अनि हामीले सिकेका सीप व्यवहारमा नि उतार्नु पर्छ हगि मिस?“
“हो नि ! स्याबास शिव।”
“ म हेर्छु नि तिमीहरूले कत्तिको व्यवहारमा सकारात्मक परिवर्तन गरेका छौ।“
“ हुन्छ मिस !”
“ मिस तपाईं ?” झसङ्ग भइन्।
“ शिव के तमासा हो, तिम्रो ?”
“ मिस , मेरो बाध्यता हो ।”
“ कसरी तिम्रो बाध्यता ?”
“गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा प्राप्त गर्न आफ्नो जीवन रक्षाको लागि मैले यो कर्ममा सहभागीता जनाउन म स्वतन्त्र छुइन र मिस !”
“तिमीलाई भर्खर मात्र शैक्षिक सामाग्री, खाद्यान्न लगायत आर्थिक सहयोग गरेको हैन ? ”
आफ्नो अगाडि उनको आदर्श जेहेन्दार विद्यार्थी शिव उभिरहेको पाइन्।
“ फेरि आमा – बुबा मरिसके भनेर झुट बोल्ने हो ?“
रीता मिसले आफ्नो आस्थाको धरहरा गर्ल्यामगुर्लुम लडेकोमा अफसोस मानिन्।
“क्षमा गर्नोस् मिस, मैले झुट बोलेको होइन । जीवन रक्षाको लागि यो मेरो कर्तव्य ठाने। छुट्टीमा हात फैलाएर मागेर खानु मेरो बाध्यता धेरै अघि देखिको हो ।”
“मैले पाएको किताब र ड्रेस बाहेक मसँग त्यही राति कापी लगायत केही रहेन। आमा–बा दुबैले सक्दो सबै बेचेर रक्सी धोके”, ऊ भक्कानियो ।
“जो आमा–बाउ आफ्ना छोराछोरीलाई पालनपोषण गर्नुपर्ने कर्तव्य भुलेर नाबालक सन्तानको अधिकार समेत लिलाम गरेर रातदिन रक्सी खाएर हिड्छन् , त्यस्ता बाउ– आमा जिवित रहनुको कुनै अर्थ हुन्छ र मिस ?”
२०७८/०१/०३
दोलखा, हाल काँडाघारी, काठमाडौं