Search

चिसापानी बजार र कर्णाली पुल आन्तरिक पर्यटकले भरिभराउ

चिसापानी बजार र कर्णाली पुल आन्तरिक पर्यटकले भरिभराउ

बाँपीझ्याला, धनगढी । कैलालीका महत्वपूर्ण पर्यटकीय स्थल चिसापानीको धेरै पर्यटकले बुधबार अवलोकन गरेका छन् । नयाँ वर्षको दिन सो ठाउँमा पर्यटकको भीडभाड भएको हो । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यले उनीहरुले चिसापानीको भ्रमण गरेका हुन् । लम्कीचुहा नगरपालिका–३ मा रहेको चिसापानी यो जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । नयाँ वर्षको दिन चिसापानी बजार र कर्णाली पुल आन्तरिक पर्यटकले भरिभराउ रहेको थियो ।


वडा अध्यक्ष भक्तबहादुर चलाउनेले एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक चिसापानीमा पुगेको बताउनुभयो । ‘बजार र पुल पर्यटकले भरिभराउ छ’, उहाँले भन्नुभयो । ‘पर्यटक बढेपछि सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ ।’चिसापानीमा रहेको कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् । चिसापानीभन्दा थोरैमाथि रहेको पितमारीमा पिकनिक खानेको पनि भीडभाड रहेको जनाइएको छ ।


नयाँ वर्षको दिन बुटवल र भैरहवासम्मका आन्तरिक पर्यटक भ्रमण, अवलोकनका लागि चिसापानी पुगेको वडा अध्यक्ष चलाउनेले बताउनुभयो । ‘टाढाबाट आएका आन्तरिक पर्यटकलाई हामीले स्वागत र सम्मान पनि गरेका छौं’, उहाँले भन्नुभयो । धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक अत्यधिक मात्रामा चिसापानीमा पुग्ने गरेका छन् । नयाँ वर्षको दिन आन्तरिक पर्यटकको चहलपहल भएपछि व्यापार, व्यवसाय पनि फष्टाएको जनाइएको छ । होटलहरु पर्यटकले भरिएका छन् ।


कोरोना महामारीका कारण पर्यटन व्यवसाय फष्टाउन सकेको छैन । एकदिन भए पनि पर्यटक आएर कारोबार बढ्दा केही राहत महसुस भएको स्थानीय व्यवसायी कमला गुरुङ्ले बताउनुभयो ।


टिकटकका कारण मान्छेले ज्यानसमेत गुमाउने गरेका घटनाहरुलाई मध्यनजर गरेर चिसापानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । केही दिन अगाडिमात्रै भ्रमणका लागि गएका तीन जना किशोरहरुले कर्णाली पुलबाट हाम फालेका थिए । दुई जनाको सकुशल उद्धार भए पनि एक किशोर अझै बेपत्ता छन् । त्यस्ता दुःखदायी घटना दोहोरिन नदिनका लागि सतर्कता बढाइएको वडा अध्यक्ष चलाउनेले बताउनुभयो । यसैबीच, कर्णाली पुलमा कैलाली होटल व्यवसायी सङ्घले ७८ वटा नेपाली झण्डा राखेको छ ।


मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment