Search

वैशाख ११ गते धरहरा टावरको उद्घाटन

वैशाख ११ गते धरहरा टावरको उद्घाटन

बाँपीझ्याला, काठमाण्डौं , रासस ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।

पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष ओलीको अध्यक्षतामा मङ्गलबार बसेको निर्देशक समितिको १८औँ बैठकले सोसम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान शुरु गर्ने निर्णय गरेको हो ।

विपत व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौँ उपत्यकाको पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनःनिर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत अघि बढाउने निर्णय पनि गरेको छ ।

प्राधिकरणले उक्त कार्यक्रमअन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण र भविष्यमा भूकम्पबाट क्षति हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढङ्गले हेरी पुनःनिर्माण र पुनःस्थापनाको कार्य अगाडि बढाउन मिल्ने गरी कार्यक्रमको खाका तयार गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले जनसहमति एवं जनसहभागितालाई मूल सिद्धान्त बनाई आवश्यकतानुसार ‘हाउस पुलिङ’लगायतका विधिको अवलम्बन गरी शहरी पुनःनिर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बस्तीको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।

निर्देशक समितिको बैठकले पुनःनिर्माण प्राधिकरणको अवधि २०७८ पुस १० गतेसम्म रहेकामा चालु आर्थिक वर्षमा मूलभूत कामहरु सम्पन्न गर्ने र साउन १ गतेदेखि बाँकी अवधिमा हस्तान्तरणलगायतका कार्यका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाकासमेत स्वीकृत गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment