Search

नयाँ वर्षको अवसर संगै दार्चुलामा सिस्नु लगाउँर्दै बिसु पर्व धुमधामसँग मनाइँदै

नयाँ वर्षको अवसर संगै दार्चुलामा सिस्नु लगाउँर्दै बिसु पर्व धुमधामसँग मनाइँदै

बाँपीझ्याला, दार्चुला । नयाँ वर्षको प्रथम दिन दार्चुलामा धुमधामसँग बिसु पर्व मनाइँदै छ । नौगाड गाउँपालिकाको सिप्टी र मार्मा गाउँपालिकाको घोल्जर सहित जिल्लाभरि हर्षोउल्लासका साथ बिसु पर्व मनाउने गरिन्छ । मार्मा क्षेत्रमा विसुको अवसरमा पूजापाठसहित जात्रा लाग्ने गरेको छ । स्थानीय देउडा खेलको लागि बिसुमा भीड लाग्ने गरेको नौगाडका स्थानीय जमन डडालले जानकारी दिनुभयो ।

चाडवाडमा धनी सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्लामा नयाँ वर्षका दिन बिसु पर्व मनाउने चलन छ । मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नो लगाएर मनाइने यस पर्वलाई बिसु, विस्का वा विस्पती पर्व पनि भनिन्छ । पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ । बिसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले बिसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ ।

गत वर्ष कोरानाका बीच पनि दार्चुलामा बिसुपर्व मनाइएको थियो । अहिले पनि कोरोना कहर बढ्दै गएको भन्दै भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय र मार्मा गाउँपालिकाले सार्वजनिक सूचना जारी गरे पनि धुमधामसहित बिसु मनाइएको उहाँले बताउनुभयो । बिसुका लागि कामको सिलसिलामा भारत गएका सयौँ युवाहरु समेत घर फर्किएका छन् ।

यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफा पानीले पखाल्दै जानुपर्ने स्थानीय संस्कृतिका जानकार इन्द्रदेब जोशीले बताउनुभयो । यति भनेर सफासँग नुहाइधुवाइ गरेपछि वर्षभरि आफूलाई रोग लाग्दैन भन्ने सकारात्मक भावना मनभित्र पैदा हुने गरेको उहाँको भनाइ छ ।

वसन्त ऋतुको रमझम, खुलेको आकाश, पालुरको समय, गहुँ पाक्ने समय, जताततै हरियालीका बिच नयाँ वर्षको सुरुवातसँगै बिसु पर्व मनाएर रमाइलो गर्ने चलन रहेको छ । बिसुको प्रमुख विशेषता नुहाइ सकेपछि शरीरमा सिस्नु लगाउने गरिएको छ । सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने जनविश्वास रहेको छ । सिस्नो लगाउनुका साथै जिल्लाभरी घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर विसु मनाइएको छ ।

बिसुमा देवर र नन्दले भाउजूलाई खोजीखोजी पानीमा चोपेको सिस्नु लगाएर रमाइलो गरिएको मार्माका स्थानीय खडक धामीले बताउनुभयो । धेरैजसो मनमुटाव भइरहने नन्द भाउजूको नातालाई यो पर्वले कसिलो बनाउने विश्वास गरिन्छ । फागुनमा शिवरात्री, चैतमा होली, रामनवमी, बिहे भइसकेर घरजम गरी माइतीको यादमा तड्पिने छोरीचेलीलाई चैत महिनाभरि माइतीपक्षबाट कोसेली बोकी भेट्न जाने चैतेलो, बिसु पर्वजस्ता सुदूरपश्चिम प्रदेशका अलौकिक चाडपर्वहरूले सबैमा धार्मीक सहिष्णुता, सद्भाव, भेटभाट, मेलमिलाप बढाउँदै आएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!