Search

शिक्षण संस्था बन्द गर्ने प्रस्तावमा निजी विद्यालयको असन्तुष्टी

शिक्षण संस्था बन्द गर्ने प्रस्तावमा निजी विद्यालयको असन्तुष्टी

२९ चैत्र, बाँपीझ्याला, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । काठमाण्डौं उपत्यका लगाएत प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल भएको थियो ।


तर यो विषयमा निर्णय भने भइसकेको छैननी । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको छ । कोरोना संक्रमणको दर देशभर एउटै नहुने भएकाले अत्यन्त आवश्यक भए सम्बधित विद्यालय वा सम्बन्धित गाउँपालीका, नगरपालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न भन्दै प्याब्सनले अन्य ठाउँमा विद्यालय सञ्चालन गर्न दिन आग्रह गरेको छ ।


भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षताका कारण अनलाइन कक्षा प्रभावकारी नहुने प्याब्सनको भनाइ छ ।

‘मुलुकभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित गाउँपालीका, नगरपालिकामा मात्र केही निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन पनि नेपाल सरकार सँग माग गर्दछौं’ भन्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्तिमा उल्लेख गरिएको छ ।


गत वर्ष कोरोना महामारीको समयमा विद्यालय बन्द हुँदा सञ्चालन गरिएको अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थीमात्र समेटिएको भन्दै प्याब्सनले अहिले पनि विद्यालय बन्द गर्न नहुने बताएको छ । प्याब्सनले आफ्ना सदस्य विद्यालयलाई स्वास्थ्य सावधानीका पूर्ववत उपाय अनिवार्य र कडिकडाउका साथ अपनाइ पठनपाठनका साथै अन्य गतिविधि सञ्चालन गर्न गराउन मिति चैत १९ गते परिपत्र गरिसकेको पनि बताएको छ ।


यसै गरी विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपाय अवलम्बन गराउन शिक्षक र कर्मचारीलाई पनि आग्रह गरेको छ । ‘कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउनेतर्फ पहल कदमी गर्न जरुरी रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

शिक्षालयका शिक्षक–कर्मचारीलाई कोरोना खोप दिन पनि प्याब्सनले माग गरेको छ । गत वर्षको लकडाउनपछि विद्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरी तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयका गतिविधि सञ्चालन गर्नु नै उपयुक्त हुने प्याब्सनको भनाइ छ । ‘आवश्यकता अनुसार शिक्षालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!