२९ चैत, बाँपीझ्याला, एजेन्सी । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको छ ।
अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ । एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।
कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ । ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो ।
अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ । साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनँएको छ ।