घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबीचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन किसिमका कथा–किस्साहरू पनि जीवितै छन् । युरोप, अमेरिका, मध्यपूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम रहेको थियो ।
विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो । अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’ लाई अत्यन्त महत्वपूर्ण जीवको रुपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ, ‘अश्वमेघ यज्ञ’ हो, जसमा सैयौँका संख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।
आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि बेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौंमा घोडेजात्रा मनाइँदैछ । चाहे काठमाडौंका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना शालिक या तस्वीर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडांंैको अत्यन्त मौलिक जात्राका रुपमा घोडे जात्रा युगौं युगान्तरदेखि काठमाडौंको टुँडिखेलमा अविछिन्न अनि निरन्तर रुपमा अहिलेसम्म पनी प्रदर्शन गरिँदै आएको छ ।
घोडेजात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रुपमा प्राचीन कालदेखि काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौको टुँडिखेलमा हजारौं सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रर्दशन गर्ने गर्छन् । घोडे जात्राकै दिन विहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा शुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलहरूको प्रदर्शनी शुरु हुन्छ ।
यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौंमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।
यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोश्रो दिन घोडेजात्रा हो, घोडेजात्राबाट विवााहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडेजात्रा विशेष यो आलेखमा एउटा सानो कथा यस्तो रहेको छ ।
घोडेजात्रा किन मनाइन्छ ?
काठमाडौंवासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडेजात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी शुरु हुन्छ….परापूर्वकालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकाबासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती छ ।
अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औसीमा अश्वयात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
काठमाडौं र पाटनको घोडेजात्रा विशेष महत्व :
यो इतिहासको एउटा टुक्रा हो, आज हामी हाम्रो पात्रोमा यसलाई जाहेर गर्दैछौं । उतिबेला काठमाडौं, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । काठमाडौंका राजा प्रताप मल्ल, मल्लवंशकै सबैभन्दा शक्तिशाली राजा मानिन्छन् । विसं. १६९८ देखि १७३१ सम्म यिनले अविछिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्रीनिवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।
उपत्यकाका अन्य राज्यहरूसँग राम्रो समबन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्रीनिवास मल्लसँग पनि ठूलै मनमुटाव थियो । उतिबेला पाटनका नागरिकहरू घोडेजात्रा हेर्न काठमाडौँ आउने, काठमाडौंका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।
नेपाल सम्बत् ७८७ तिर काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव भएपछि पाटनका जनता काठमाडौंमा घोडेजात्रा हेर्न नजाऊन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको भन्ने किंवदन्ती सुन्न पाइन्छ । पाटनका राजा श्रीनिवास मल्लले पाटनमा घोडेजात्रा शुरुवात गराए । यो जात्रा काठमाडौंको जत्रो रौनकपूर्ण नभएपनि पाटनको आत्मनिर्भरताका लागि ठूलै काम सावित भएको थियो । यसरी राजा श्रीनिवासले शुरु गराएको पाटनको घोडेजात्रा आज पनि फरक परिवेशमा नियमित सञ्चालन हुन्छ ।
घोडेजात्रामा उपत्यकामा विशेषः
आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भूत दैवीय मिलन हुने गर्छ । आउनुहोस्, हामी बेलीबिस्तार लाउँदैछौ….आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरबहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हो, जब यी सबै भैरब प्रतिमाहरूले एक–अर्कालाई भेट्छन् । यसअर्थमा हामीले आजको दिनलाई दैवीय मिलनका रुपमा ब्याख्या गरेका हौं ।
घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाँक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाडौंबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने परम्परा रही आएको छ ।
पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरणरहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौंका बीच आजको दिन अर्थात् घोडेजात्राको दिन कुन शहरमा कसको घोडेजात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । यस जात्राको रंगमा उपत्यकाका शहरहरू आज पनि आ–आफ्नै ढगंमा रंगिने गरेका छन् ।
सम्पूर्ण नेपाली दाजुभाई दिदिबहीनीहरुमा आजको विशेष पर्व घोडेजात्राको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाँपीझ्याला डटकम bampijhyla.com