बाँपीझ्याला, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा २९ गते देखि ३० गते सम्म काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु हुँदैछ । देशभरका एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहने उक्त साधारण सभा २९ गते उद्घाटन सत्र र ३० गते बन्द सत्र गरी दुई दिन हुने भएको छ ।
महासंघका अनुसार साधारण सभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङबाट हुनेछ । कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण व्यवसायी एवं उद्योग व्यवसाय थप समस्याग्रस्त भएकाले सोे सहित अन्य समसामयीक विषयमा छलफल भई साधारण सभाको अन्त्यमा महासंघलें घोषणापत्र जारी गरिने महासचिव रोशन दाहालले बताउनु भएको छ ।
महासचिव दाहालका अनुसार साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारण सभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन समेत हुने बताउनु भयो ।
सोही अवसरमा निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरूलाई सम्मान गरिने कार्यक्रम रहनुका साथै कार्यक्रमस्थलमा निर्माण उपकरण सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित ३० वटा प्रदर्शनी कक्षहरु पनि राखिने महासचिव दाहालले जानकारी दिनु भयो ।