सन् २०१२ को सिक्किम यात्रा मेरालागि आधा फलिफाप भयो भने आधा खराब नै बन्यो । माम्रिङको जाइडेस वेलनेस कम्पनीको क्यान्टिनमा कुकको काममा बसेको आधारमा मैले त्यहाँको वातावरण र रहनसहनबारे धेरैजसो बुझ्न पाएकाले म दंग थिएँ, क्यान्टिन संचालिका दिपा प्रधानको आत्मीय सत्कार र आदरपनले म निकै उत्साहित बनेको थिएँ, झन् उहाँको बुबा सिके प्रधान (अजा) र उहाँको पति भाष्कर प्रधान सरले दिनु भएको आदरार्थी शब्द ’ प्रधान ’ र ’ दाजु ’ भनेर बोलाउनु हुँदा म आत्म विभोर हुन्थें ।
इतिहासमा सुनेको र पढेको एउटा अविस्मरणीय नाम ’टिष्टा’ नदिको बहाव संग हरेक दिनको दिनचर्या अविस्मरणीय नै रह्यो । कसैबाट पाएको आत्मीयतालाई एउटा परिधिभित्र सम्हालेर राखे मात्र जहाँपनि दिगो हुन्छ, जब मानिसले आफ्नो हैसियत भुलेर एक कदम अगाडि बढ्न खोजियो भने त्यो घातकसिद्ध हुन्छ भन्ने अनुभव पनि बटुल्ने अवसर पाएँ मैले ।
संसारमा सबै मान्छेको मन र सोच एउटै भयो भने यो उतारचढाव र अँध्यारो उज्यालो नै हुने थिएन भन्ने आभास मिल्यो । प्रोप्राइटर याने कि त्यो क्यान्टिन संचालिका दीपा प्रधानको लगनशीलता अनुशासित व्यक्तित्व देख्दा उनी प्रति प्रभावित नहुने शायद विरलै होलान्, त्यसैले त सिक्किममा बसेर गुजरात, अहम्दावाद, कलकत्ता जस्तो अति टाढाका व्यापारीहरु संग समन्वयात्मक काम गर्न सक्षम बन्न सफल भएकी थिईन ।
सिक्किमको प्रमुख राजधानी ग्यान्टोकको पानी ट्यांकी देउरालीमा स्थायी घरमा वैवाहिक जीवन गुजारेकी दीपा प्रधान सामाजिक सेवाका लागि पनि तत्पर हुने गर्थिन् । उनको त्यही कृयाकलापले पनि मैले धेरै कुरा सिक्नजान्न पाएँ । करीब १० महिनाको त्यहाँको बसाइबाट अलग्गिएर म पश्चिमी सिक्किमको कल्लुक भन्ने ठाउँमा रहेको ’मेन्डारिन रिसोर्ट’ मा किचनकै अभिभारा लिन पुगेको थिएँ, जुन ठाउँबाट कन्चन्जंघा हिमालको फेदैमा रहेको पेलिङ, गेजिङ बस्ती पुग्न सकिन्छ । मानौं कि, म आफ्नो जन्मभूमि कालिन्चोकको परिधिभित्र रुमल्लिएको जस्तो लाग्थ्यो मलाई ।
टिष्टा नदिको तिरमा रहेको रंगपो बजारलाई फेरि कुनै दिन भेट्ने वाचा गरेर नयाँ गन्तव्यमा लागेको थिएँ रिनकको भाइ प्रवीण प्रधानको सहयोगमा, मलाई मुख्य कुरा पैसाको अभावले पाईला बदल्न विवश बनाएको थियोे, त्यसैको सिलसिलामा नयाँ ठाउँमा कदम बढाउन जरुरी थियोे । यिनै कारणले सबै आदर सत्कार र स्नेहलाई बिट मारेर प्रधान संसारबाट गुरुङ संसारलाई अंगाल्न पुगें ।
तिनै टिष्टा नदिको तिरमा रहेको अर्को एउटा सुन्दर बजार मेलिबाट छुट्टिने ३ वटा सडक रहेछ, मेलिबाट पूर्व उकालो पाक्योङ सडक, बायाँबाट तेर्सो लागे सिलगुडी जाने सडक , दायाँतर्फबाट कालिम्पोङ जाने सडक र सिधा दक्षिण तिर जङ्गलै जङ्गल जाने जोरथाङ, कल्लुक, पेलिङ र गेजिङ जाने सडक । हामी जानुपर्ने सडक त्यही सडक थियो जहाँबाट जोरथाङ बजार हुँदै गन्तव्यमा पुगिन्छ ।
करीब १६ फिटको पिच पक्की नागबेली सडकलाई छिचोल्दै जाँदा मलाई यस्तो लाग्थ्यो कि हाम्रै कुलेखानी ड्यामको सडकबाट हेटौंडा तिर लागेको देउराली पुग्ने जङ्गलको सडक जस्तै लाग्थ्यो । भाषामा एकरुपता भएको कारणले तीतामीठा कुरा गर्दै हामी जोरथाङ पुगि सकेछौं, एउटा रंगीत खोलाको किनारमा रहेक विशाल बजार जोरथाङ । गुरुङ, बाहुन, लेप्चा, नेवार सबै जातीयताले समेटिएको त्यो बजार पुग्दा सिन्धुपाल्चोकको बाह्रबिसे पुगेको भान भयो मलाई । दोहोरो लाइनमा रहेको घर पसल, स्कुल, खेलकुद मैदान, मानव उत्थान आश्रम, हरियो पार्क, ट्याक्सी स्टैण्ड पार्क आदि रहेको विशाल बजार जोरथाङ ।
शायद जोरथाङको नक्सा अनुमान गर्दा आकाशबाट हेरियो भने गर्भमा रहेको बच्चाको स्थिति जस्तै देखिन्छ होला । विकासको अनुमान लगाउँदा यहाँ चारैतिर देखिने बैंकको साइनबोर्डले सिधै संकेत देखाएको छ कि यहाँ कुनै कमि छैन होला जस्तो । बेफुर्सदी चहलपहल र गाडीको आवतजावत हेर्दा मलाई काठमाडौंको गल्ली गल्लीमा जम्मा भएर फाल्टो गफ गरेर समय बिताउने, लुडो क्यारेम खेलेरे दिन कटाउने जमातलाई त्यो ठाउँमा लगेर अवलोकन गराउनुपर्ने पो हो कि जस्तो लाग्यो ।
करीब डेढ घण्टाको बसाइमा मैले धेरै कुरा बुझ्न पाएँ जोरथाङमा । न भाषामा भेदभाव न जातीयतामा जुनसुकै जातीयताको रहनसहन भएपनि गोर्खाली भाषामै बोलिने नियम र बानीले सिक्किमको गुणगान जति गरेपनि अधुरै होला जस्तो लाग्यो ।
त्यसपछि हामी जोरथाङलाई त्यहीँ छाडेर अक्करपुल पार गरेर रंगीत नदिको सुसाइमा उकालियौं पश्चिमी क्षेत्रको सोरेङ बजार तर्फ ।
सोरेङ बजार सानै भएपनि पहाडी भागमा रहेको सुन्दर गाउँ हो, जहाँबाट हामी छोटा सामदोङको दृश्यलाई हेर्दै बारा सामदोङ भएर कलुक बजारमा पुग्यौं, त्यो नै मेरो सिक्किमको तेस्रो गन्तव्य थियो ।
अब एक खुड्किला बाँकी थियो गोण्डे भिलेज रिसोर्टमा पुग्न जहाँ मलाई साथी प्रवीणले प्रतीक्षा गरिरहेको थियोे ।
हामी करीब ३ः०० बजेतिर कलुक बजारमा पुगेर सिधै गोण्डे भिलेज रिसोर्टमा पुगेर केही बेर विश्राम गरेपछि साथी प्रवीणले त्यो रिसोर्टको मालिक संग परिचय गराउने काम भयो । तर साथीले जुन उद्देश्यले मलाई बोलाएको थियोे, त्यो त्यहाँको स्थितिमा देखिएन, तैपनि केही दिन पर्खिनपर्ने जानकारी मिलेपछि मलाई मेरै भाग्यको पाटोमा केही अभाव जस्तो लाग्यो ।
किनकि अलिकति आम्दानीको श्रोत बढ्ला कि भन्ने सोचले मैले त्यो ठाउँबाट अनेकौं बहानाबाजी गरेर आफैलाई नराम्रो तुल्याएर गए जावस् भन्ने पारेर निस्केको थिएँ, जहाँ मैले अगाध मायाको आभास मिलेको थियो, निस्किनु अगाडि पनि म्याडमले भनेको कुरा कानमा गुन्जिरहेको थियोे, “ पठाउन त मन थिएन, तपाईंको व्यहोराले जानू भन्न कर लाग्यो,“ भनेर । यसमा मेरो एउटै स्वार्थ थियो, मलाई त्यहाँको तनखाले ( तलब ) ले केही समाधान हुने छाँट देखिन, माया, सद्भाव र प्रेमले मात्रै मेरो आन्तरिक पीडामा मल्हम लाग्ने थिएन, मेरो अभावको आँसुलाई प्रेम आदरले पुर्णतः ढाक्न असम्भव देखिएकोले नै गलत चाल चलेर बाटो सफा गरें, तर त्यस्तो बदनाम नै हुने खालको काम गरेको होइन । मात्रै माया गर्नेहरूको आँखा तीक्तता उत्पन्न होस् भनेर मात्रै हो ।
गोण्डे भिलेज रिसोर्ट मालिकले एकदमै नम्र तरिकाले मलाई सम्झाएर नजिकैको मेन्डारिन रिसोर्टमा सहमति समन्वय गरेर काम दिलाउनु भयो । मैले मेरो तक्दिरको लेखा सम्झेर आफूलाई समर्पण गरें । काम थियो अर्डर अनुसारको खाना तैयार गर्नुपर्ने , त्यहाँ पूर्व कुक भाई थियोे विमल नामको उ संग सहकार्य गर्दै वातावरण र ठाउँ अनुसारको अवस्था बुझ्दै गएँ, त्यहाँ पनि स्थानीयको साथै दार्जिलिङ, कर्साङकै भाइबहिनीहरु कामदार थिए । ग्यान्टोकमा र रंगपोमा भन्दा काम धेरै सजिलो र फुर्सदिलो थियो, ३ वटा कटेज अनि किचेन र मालिक मालिकनी बस्ने घर र अफिस गरेर ५ वटा घरको एक परिधिभित्र शान्तिपूर्ण थियो त्यो ठाउँ । वाईपि गुरुङ मालिकको नाम वन विभागको फस्ट क्लास अफिसर हुनुहुँदोरहेछ । उहाँको सालो भाइ पनि वन विज्ञानको विज्ञ भएकोले नेपालको मुस्ताङ जुम्ला सबैतिर घुमेर काम गर्नुहुन्थ्यो । त्यसैले मलाई नेवारी जातीयताका आधारमा परिचय गर्ने बित्तिकै मलाई असल साथीकै रुपमा “ पासा“ नामकरण गरिदिनु भयो र मलाई सबैले “ पासा “ नै भनेर बोलाउन थाले ।
दिन यसरी बित्दैगयो, आफ्नै गाउँ ठाउँ जस्तै लाग्न थालेको थियोे, चारैतिर जङ्गल नै जङ्गल भएको कारणले विभिन्न जातजातिको चराचुरुङ्गीहरुको सुमधुर धुन सुन्न पाउँदा मन आनन्द भएपनि कहिलेकाहीँ घर परिवारको यादले मनमा तिक्तता भरिन्थ्यो नै, त्यो उमेरमा मुग्लान पस्नुमा विरक्तता जागे पनि नौलो ठाउँबाट केही ज्ञान आर्जन गर्न सकिएला कि भन्ने झीनो आशा पनि थियो, फलस्वरूप रानीपुलमा बस्ने एक मित्रसंग भेट भएर साहित्य विधा सम्बन्धि कुराकानी गर्न पाउँदा मनमा आनन्द छाएको थियो । उनले नेपाल भाषी अर्थात् स्थानीय रुपमा गोर्खाली भाषामा चलचित्रको कथा लेखिएको कुरा बताउनु भयो र मेरो रुचि अनुसार लेख्ने अनुरोध पनि गर्नु भएकोले लेख्न त लेखें तर उहाँसंग भेट भएन जुन अहिले मसंगै छ त्यो कहानी ।
दिन बित्दै गयो, त्यहाँ पनि सबैलाई रिझाउन सफल भएपनि कामदार भएको नाताले मालिक्नीले एक न एक काम गर्न आदेश दिहाल्ने बानीले गर्दा, तरकारी, फलफूल गोडमेल पनि गरिन्थ्यो ।
यसैक्रममा एकदिन भरि बाटोको दायाँबायाँ रोपिएको काँडेझार कलमी गर्ने काममा लागें, करीब ४ घण्टा लगातारको खटाईले म लखतरान परें, बेलुका एक्कासि ज्वरो आयो, म उठ्न सकिन, संगै काम गर्ने बहिनी संगमितले आएर हेर्दा ज्वरोको तापक्रम अत्यधिक भएकोले मालिकनीलाई भनेर तुरुन्तै स्थानीय अस्पताल पु¥याउने काम गरे, केही कम होला जस्तो भएको थियो, तर राति झन् बल्झेर म त ईन्तु न चिन्तु परेछु । भोलिपल्ट बिहानै केन्द्रीय अस्पताल मणिपाल लाने सल्लाह गरेर मलाई गाडीमा राखेको मात्रै याद छ, टाटा सुमोमा राखेर लगेको त्यो ६ घण्टाको बाटोमा ड्राइभर साम्देनले कसरी लग्यो , के गरेर पु¥याउन सक्यो मलाई केही थाहा थिएन ।
रातको १० बजेतिर मलाई जब होस आयो, म त हातखुट्टा बाँधिएको अवस्थामा थिएँ, हलचल गर्न मिलेको थिएन, पछि थाहा भयो म बेहोस मै उफ्रेर छटपटाएको थिएँ रे, मैले आँखा खोल्दा मालिक वाईके गुरुङ सर र ड्राइभर साम्देन अनि एकजना भाइ थियोे , मेरो आँखा खुल्नासाथ मालिक गुरुङ सरले…“ थ्याङ्क गड पासा बाँच्यो अब…“ भन्ने सुनें, म किंकर्तव्यबिमुढ बनें । मलाई त्यस्तो के भएको थियो होला भन्नेमा पुगें । पछि वार्डमा लगेर राखे । डाक्टरले मलाई हेरेर “ कङ्ग्रयाचुलेसन दाजु दोश्रो जीवन पाउनु भयो..“ भन्दा मेरो आँखाबाट आँसु यसरी झ¥यो कि वर्णन नगरौं ।
त्यसपछि गुरुङ सरले सिटी स्क्यान, अल्ट्रासाउन्ड सबैको फाइल देखाउँदा पो थाहा भयो , म पुर्णरुपले अन्तिममा पुगिसकेको रहेछु । अनि गुरुङ सरले… “ अब तपाईं ठिक हुन्छ पासा सुर्ता नलिनु…
तपाईंको मान्छेलाई बोलाएको छु नेपालबाट लिन आउनुभएको छ,…“ भन्दा म भाव विह्वल भएँ, नभन्दै एकघण्टा पछि मेरो श्रीमती, सालो भाइ, भदा र एकजना बिराटनगरकि बहिनी मेरा सामु उभिंदा म झनै भावविह्वल भएँ । यसरी मैले सिक्किमको यात्राको अन्त गर्नुपर्यो ।