Search

बालाजु बाइपासमा सूचना केन्द्र निर्माण सुरु, सूचना केन्द्रको निर्माण उपभोक्ता समिति मार्फत

बालाजु बाइपासमा सूचना केन्द्र निर्माण सुरु, सूचना केन्द्रको निर्माण उपभोक्ता समिति मार्फत

१८ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

आज (बुधवार) शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने मन्त्री मानन्धरले बताए । काठमाडौंबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको पनि राज्यमन्त्री मानन्धरले बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए । यस्तै सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने पनि बताए । जसबाट महानगरबासी र पर्यटक समेतले फाइदा लिन सक्नेछन् । मेयर शाक्यले सार्वजनिक सूचना केन्द्रसँगै आधुनिक शौचालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय पनि सोही भवनमा रहने बताए ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने गरी कुल १ करोड ६ लाख २० हजार रुपैयाँमा सूचना केन्द्रको निर्माण हुनेछ ।

Written by 

Related posts

Leave a Comment