बाँपीझ्याला, काठमाण्डौं । बंगलादेशले थ्री नेसन्सकप पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमलाई मंगलबार १–० ले हराएको छ । यो जितपछि बंगलादेशको फाइनल पुग्ने सम्भावना पनि बलियो भएको छ । बंगलादेशका खेलाडी गोल अगाडि बढाउँदै । तस्बिरः हेमन्त श्रेष्ठ,कान्तिपुर
यस्तै, बंगलादेशको तीन अंक भयो भने किर्गिस्तानको ओलम्पिक टिम शून्यमै रह्यो । दशरथ रंगशालामा भएको खेलको एक मात्र गोल भने आत्मघाती रह्यो र यसमा बंगलादेशले सिर्जना गरेको दबाब मुख्य कारण रह्यो ।
खेलको ३० औं मिनेटमा साद उद्दिनले गरेको सटिक क्रसलाई क्लियर गर्न खोज्दा कुमारबाज उलु बइमनले बललाई पोस्टको दिशा दिए । त्यसमा किर्गिस्तानी गोलरक्षक टोकोटायभ एरजानसामु बललाई रोक्ने कुनै अवसर थिएन ।
तीन नयाँ खेलाडीलाई सुरुदेखि खेल्न अवसर दिएको बंगलादेशको प्रदर्शन तुलनात्मक रूपमा केही हदसम्म सुदृढ रह्यो । पहिलो हाफमा प्रभावशाली रहेको बंगलादेशले दोस्रो हाफमा पनि केही राम्रा आक्रमण बुन्न सफल रह्यो ।
पूरा खेल अवधिमा कमजोर प्रदर्शन गरेको किर्गिस्तानले खेलको अन्त्यतिर बंगलादेशलाई दबाबमा भने राख्यो । इन्ज्युरी समयमा टासेभ कामुलुद्दिनले नजिकको दूरीबाट फ्रि हेडरको मौका पाएको थियो, त्यो पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।