Search

अविस्मरणीय सिक्किम यात्रा संस्मरण – २

अविस्मरणीय सिक्किम यात्रा संस्मरण – २
बालकृष्ण श्रेष्ठ “पासा


सिक्किम यात्राको क्रमसंग यो पाटोलाई जोड्न चाहें मैले, जहाँ म कामै गर्ने उद्देश्यले बसेको थिएँ, त्यहाँको भौगोलिक बनावटले म अचम्मै परें, नेपालको कुनैपनि ठाउँमा पुग्दा दिशा पत्ता लगाउन त्यत्ति कठिनाई थिएन, तर त्यो रंगपो बजारबाट अलि परको माम्रिङ बस्ती जुन टिष्टा नदिको छेवैमा छ, त्यहाँ घामको अनुहार हेर्न १०–११ बज्नुपर्ने थियो । अग्ला अग्ला पहाडको खोंचमा रहेको छ, जहाँबाट दिशानिर्देश गर्दा आफू बसेको ठाउँको विपरित जस्तो भान हुन्थ्यो, अर्थात् जहाँबाट पश्चिमी भागको अनुमान लगाउँथें त्यतैबाट घाम उदाउँदो रहेछ, हामीले नेपालको अधिकांश ठाउँबाट हेर्दा पाथीभरा, कंचनजंघा पुरै पूर्वमा पर्दथ्यो तर सिक्किमबाट हेर्दा दक्षिणी भागमा परेकोले म अन्योलमा एक्लै बर्बराउँथें, टिष्टा नदि पनि कंचनजंघाको शुरुआतबाट दक्षिणबाट उत्तरतर्फ लागेको रहेछ ।

सिक्किमको एउटा खोँचमा रहेको सानो बस्ती । ग्यान्टोक जाने सडकलाई छोडेर बायाँ तिर लागेपछि सानो बजार आउँछ माम्रिङ । त्यहीँबाट चारधाम नाम्ची पनि जान मिल्छ । यता दायाँबाट टिष्टाको बायाँ किनाराबाट नामथाङ सानोगाउँ जाने कच्ची सडक रहेको छ । त्यसकै बायाँ पट्टि रहेको ठूलाठूला घरहरु नै “जाइडस वेलनेस कंपनी” रहेछ । एउटा अकल्पनीय पहाडको फेदमा रहेको त्यो कम्पनी गुजरात र कलकत्ताको व्यापारीले सञ्चालन गरेको रहेछ । एक हिसाबले अति दुर्गम लाग्ने त्यो ठाउँमा चार पाचँ शय कर्मचारीले काम गरेको देखिँदा बेरोजगारीहरु कम रहनेछन् भन्ने आंकलन गर्न सकिन्थ्यो । तथापि त्यताको मान्छेहरूमा श्रम गर्न कत्ति पनि नहिच्किचाउने देखिन्थ्यो । स्थानीय सरकारले आम नागरिकलाई रासन भत्ता त दिन्थे नै, अझ कतिपय नाजुक अवस्थाका परिवारका बालबालिकालाई निःशुल्क पढाइ दिने हुँदा जोकोहीलाई बेरोजगारी भन्न नमिल्दो देखिन्थे । टिष्टा नदि पारिपट्टि नेपालकै चौधरी ग्रुपको वाईवाई चाउचाउ फ्याक्ट्री पनि रहेछ ।

जाइडस वेलनेस कम्पनीमा चाहिँ फेसवास, साबुन, क्रिम जस्तो नारी रुप निखार्ने सामानको उत्पादन हुने रहेछ । बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने त्यो कारखानाको कारणले पनि त्यो भेकमा नरमाइलो थिएन । त्यसमाथि अधिकांश नेपाली भाषीहरु भएकाले पनि मनमा उत्सुकता जाग्थ्यो ।

वातावरण रमाइलो नै भएपनि जसले जे जति माया दिएपनि आफ्नोे परिवारबाट अलग्गै बस्नुपरेको पीडा त आफ्नै ठाउँमा थियोे । कानमा टिष्टाले सुनाईरहेको एकनास संगीतको कलकलाईले पनि पनि मन बुझाउन कठिन थियोे । अर्कोतिर चारैतिर जंगलको कीराहरुको चिर्चिराहट, लामखुट्टेको मतलबी गानाले निद्रालाई अंगाल्न मुश्किलले मात्रै सकिन्थ्यो । त्यसमाथि बिहानै ५ बजे नै कम्पनीको मालिकनी हातमा अंखोरा बोकेर पानी छर्किन आईपुग्थिन् । आफ्नोे घरमा चाहेको बेलामा ओछ्यान छोड्ने बानीलाई बिट मार्दै कर्म गर्न लागिन्थ्यो, झाडीको पानी र गहको पानी समिश्रण गरेर ।

दिन बित्दै जाँदा धेरै साथीहरूको मन जित्न सफल भएकोमा खुशी लाग्थ्यो नै । झन् त्यसमाथि मालिकको स–परिवारले सम्मान र ममता देखाएपछि त लाग्थ्यो म जन्मजात त्यहीँ नै जन्मेर हुर्केको जस्तो आभासले फुरुङ्ग पर्थें । यसै गरी सकेको काम गरिदिन्थें र यहाँसम्म कि नेपालको घरमा चम्चा र थाल पनि नपखाल्ने मान्छेले त्यहाँ २०–२५ किलो पाक्ने देक्ची र फलामको कराई धोई पखाली गर्नुपर्दा अधुरो मुस्कान छोड्न बाध्य हुन्थें ।

खासमा त म किचेनमा भान्से बन्ने उद्देश्यले हिंडेको थिएँ । तर लंगडाको देशमा खुट्टा उचालेर हिंड्नु, कानोको देशमा आँखा चिम्लनु र बहिरोको देशमा कान थुन्नु भनेजस्तै गर्नुपर्ने बाध्यता थियोे । किनकि त्यहाँको यथार्थलाई बुझ्नुपर्ने थियोे । त्यसैले सरसफाइमा विशेष खटिन थालें, त्यहाँ पश्चिम बंगालका अधिकांश भाइबहिनीहरु थिए । दार्जिलिङ, मिरिक, करसाङ र सिक्किमकै रिनक, पाक्योङ, नामथाङका पनि थिए । त्यसबिचमा मसंग नजिकिन खोजेको थियो नेपालको झापाबाट आएको भाइ शम्भु लिम्बू । त्यहाँ रहेका बहिनीहरु सुनिता प्रधान र मधु तामाङ मसंग करीब नजिकै रहन चाहन्थे । यसरी त्यहाँको यात्रामय जीवनले निरन्तरता दिंदै गयो । काम पनि निकै जानिएको महशुस भयो । यसमा बेलिबिस्तार लाउन चाहिन मैले, यात्राको बारेमा लेख्दा आत्मकथा जस्तो अशोभनीय होला ।


करीब करीब १ वर्षको बसाइमा धेरै कुरा जानें, नजानेको शाब्दिक भाषाले कहिलेकाहीँ हाँसो पनि उठ्थ्यो, एकदिन कम्पनीको म्याडमले…” दाजु माथि रुममा सस्पेन छ लिएर आउनु त ..“भनेर काम अह्राईन्, मैले पनि पुरै जानेको जस्तो गरेर हस भन्दै उहाँको रुममा पुगें, यताउता खोेजें । तर के खोज्न गएको भनेर आफै सस्पेन्समा परें, चारैतिर खोज्दा पनि नभेटेर अन्योलमा उभिरह्को थिएँ, केही बेरमा म्याडम आफै आउनुभयो र…“होइन मैले के लिन पठाएको थिएँ..के हेरेर बस्नुभएको..?” भनेर कराउनु भयो.अनि मैले…

“त्यै त म नै कन्फ्युजमा छु म्याडम…”भनेपछि उहाँ सिधै ग्यास चुलो तिर बढ्नुभयो र चुलो माथि राखिएको चिया पकाउने भाँडो ( ताप्के) उठाएर…“ यही लिन पठाएको नि तपाईंको टाउको…“भनेर मेरै टाउकोमा ट्वाङ्ग हान्नुभयो । म झन् जोड्ले हाँसेर भनें…

हत्तेरीका म्याडम् ! यसलाई त ताप्के पो भन्छन् त…अर्को सिलाबरको टुटी भएकोलाई किट्ली भन्ने होइन र ! “मैले यसो भन्दा उहाँ खिलखिलाएर हाँस्नु भएको थियोे, त्यतिबेला मलाई सिङ्गै धरातल नै हाँसेको जस्तो आभास मिलेको थियोे, उहाँको लागि त्यही ताप्के र।सस्पेन्ले निकै दिन सम्झेर हाँस्ने बाटो मिलेको थियोे । त्यस्तै अर्को दिन उहाँ नै म्याडमले “दाजु..दालमा झान्नलाई ’करीपत्ता’ टिपेर ल्याउनु त.. हाम्रो निनीको (फूपु) घरभन्दा पर छ”
भन्नुभयो, मैले सिधै अनुमान लगाएँ कि यताको भाषामा “जिम्बु’लाई ’करीपत्ता’ भन्छन् क्यारे भन्ठानेर दायाँबायाँ नसोधी लिन गैहालें । उहाँको घरबाट केही पर पुगें जिम्बुको त नामोनिशान छैन त, कहाँ खोज्ने त..यताउता हेरें अग्लाअग्ला रुख मात्रै छ, निकैबेर खोज्दा पनि नपाए पछि फर्किने सोच राख्दैथिएँ, पछि म्याडमकै फूपुले म अलमलिएको देख्नुभएछ र त्यतै आएर…“के हेर्नुभएको दाजु..? अगिदेखि यताउता गर्नुभएको छ त,…! “मैले नि.” खै म्याडमले करीपत्ता लिएर आउ भन्नुभएको मैले त कतै देखिन त…“भनेको त उहाँ हाँस्दै…” अनि यै त हो त, तपाईंकै सामु खडा छ त करीपत्ता…” उहाँको इसारातिर हेरें बारीभरि अग्लोहोचो रुखहरु देख्दा अचम्मै लाग्यो । यताको मान्छेले त रुखको घाँस पनि खान्छन् कि के हो जस्तो लाग्यो । म टोल्हाएको देखेर फूपुले फेरि भन्नुभयो,…“करीपत्ता भनेको यही हो दुविधा नमान्नु, नेपालीले यस्तो खाँदैनन् होला शायद…“भनेपछि दुईवटा हाँगो नै भाँचेर लगें । त्यही करीपत्ता भान्सामा पु¥याएको के थिएँ…“मालुम नभए पछि भन्नू पर्दैन ? मलाई यो चीज थाहा छैन भनेर धन्न निनीले देख्नुभएछ र… यो मान्छेलाई त…“भनेर पत्ता सबै निकाल्न लाग्नुभयो, कति छिटो कल गरेर सूचना दिइसकेको रहेछ । धन्न खिल्ली चाहिँ उडाएनन् ।

यसरी त्यो कम्पनी र परिवेश अनि मालिकको परिवारजनमा म हेलिंदै गएँ रम्दै गएँ तर सिङ्गो सिक्किमको राजधानी ग्यान्टोक पुग्ने रहर यथावत नै थियोे, एकदिन म्याडमलाई ग्यान्टोक जाने मनशाय व्यक्त गरें । नभन्दै तिहारमा बोलाएर मेरो रहर पूरा गरि दिनुभयो ।

रंगपो बजार काटि सकेपछि माझीटार, सिङताम, रानीपुल हुँदै ६ माईल ५ माइल भएर देउराली पानी ट्याँकी सम्मको यात्रा गरियो उहाँकै गाडीमा । ठूलाठूला घरहरु पहरामा टाँसेर बनाएका रहेछन्, तल्लो घरबाट माथिल्लो घर जान नि ठाडै उकालो लाग्नुपर्ने, एकपंक्ति घरबाट अर्को पंक्तिको घर नदेखिने रहेछ, तर अति नै,सफा र सुन्दर नगर रहेछ ग्यान्टोक शहर । त्यतिबेला त्यहाँको मुख्यमन्त्री पवनकुमार चाम्लिङ हुनुहुन्थ्यो । सिक्किमका लागि दिलोज्यान दिएर लाग्नुभएको थियोे । नगरपरिषदले पनि त्यो ठाउँमा कुनै कमि कमजोरी नहोस् भनेर हरतरहले सुविधा दिएको रहेछ, तैपनि पानीका लागि चाहिँ अलि मुश्किलले समाधान हुँदो रहेछ ।
ग्यान्टोकमा मन्दिर, मस्जिद र गुम्बा यत्रतत्र भेटिदो रहेछ, कुनै धर्मको बारेमा असमानताको कुरा नपाईने, भाषामा एकरुपता, सरकारी कार्यालय होस् या कार्यक्रममा होस् अनिवार्य गोर्खाली भाषाको प्रयोग, देख्दा र पाउँदा हर्षनलाग्ने कुरै भएन ।

ग्यान्टोक भित्र हेर्न लायकको रमणीय स्थलमा, गणेशटोक, हनुमानटोक, टासी भ्यू प्वाइन्ट धनझाक्री फल्स र मुख्य बजार महात्मा गान्धी मार्ग, छोर्तेन गुम्बा ,येन्छे गुम्बा, रोपवे बजार आदि हुन ।

अब ग्यान्टोक, गणेशटोक र हनुमानटोक भन्दा यो ’टोक ’ भनेको चाहिँ टाकुरा अर्थात् टुप्पोमा रहेको भाग भनेर बुझ्नुपर्ने रहेछ । ग्यान्टोक धुमपान निषेधित शहर हो, यताको जस्तो लापरबाही त्यहाँ छँदैछैन । केही गरि धुमपान गरेको पाईएमा सिधै कार्वाही गरिन्छ । होटल लजमा पनि निश्चित तोकिएको ठाउँमा मात्रै धुमपान गर्न पाईने रहेछ । यहाँ तीनतारे देखि पाँच तारे होटल र क्यासिनो अनि विशालबजार पनि पाईन्छ । क्रमशः….

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!