
राजनीति यस्तोमा फसेको छ,
मानौं छिचिमिराको मैदान हो,
राजनीति पाकेको बेल हो,
कागको लागि,
राजनीति तिकडमबाजी हो,
जसले जान्यो उसले हान्यो,
राजनीति एक जुवा हो,
अझ भनौं शकुनीको पासा हो,
कसैलाई राजनीति ल्हासा हो,
सूनको भण्डार,
कसैलाई कुबेरको भकारी हो,
राजनीति..
कसैलाई तमाशा हो,
लोभलाग्दो आशा हो राजनीति,
देश डुबाउने पोखरी हो,
जनता त माछा मात्रै,
नेताहरूको बल्छिमा झुण्डिने,
नेताहरूको मालामा उनिने,
नेताहरूको जिब्रोबाट निस्किने,
कति सहनशीलता जनतामा..
राजनीति बुझुन् नबुझुन् ,
रत्तिभर फरक छैन,
“….चोर.. देश छोड्,
….मुर्दाबाद…
चाहिन्छ चाहिन्छ..“
यस्ता पटके नारामा सीमित छ,
राजनीति…“
कुनै दिन जनता स्वयं..
बर्बराउन बेर छैन,
यसरी कि..
“ भ्रष्टाचारीलाई…
ईनाम दे..
बलात्कारीलाई..
सलामी दे..
देश लुटुवालाई..
भकारी दे..
अत्याचारीलाई…
सकारी दे…”
भन्न बेर छैन राजनीतिमा..
नत्र किन बेसारे ताली बजाउँथे र,
किन पछ्याउने र,
राजनीतिकै कारणले हो,
गीताको जन्म भएको,
राजनीतिले नै महाभारत भएको,
राजनीतिले नै रामायण सृजना भएको,
नत्र सीताराम जप्नुको के औचित्य र
गोपीकृष्ण फलाक्नुको तात्पर्य के र !
धन्न हाम्रो राजनीतिमा…
भालेपोथी मिसिएन,
कहिले भालेको मात्रै ताण्डव हुन्छ,
कहिले पोथी मात्र फत्फताउँछे,
संसार अडेको छ राजनीतिमा,
कहिले सीमा विवाद बनेर,
कहिले जनवादको नारा बनेर,
कहिले सर्वहाराको ताना बनेर,
राजनीति…!
लाग्छ एउटा चटके हो,
कहिलेकाहीँ पटके पनि हो राजनीति,
न शर्म लाग्छ न धर्म,
कुर्सी पाए मै हुँ भन्छ,
नपाए धोखेबाज भन्छ,
कहिले खेदाखेद हुन्छ,
कहिले भेटघाट हुन्छ,
हिजो सराप्नु सराप्यो,
आज अँगालो हाल्यो,
यही त हो राजनीति !
हाल, जोरपाटी, काठमाडौ