Search

स्वास्थ्य परीक्षण !

स्वास्थ्य परीक्षण !


कल्पना श्रेष्ठ महर्जन

नेपालमा स्वास्थ्य परीक्षणको लागि नाम कहलिएको सरकारी अस्पताल नगण्य रुपमा छ, यसैगरी निजी अस्पतालहरुको पनि कमि छैन । विज्ञान विषय लिएर भविष्यमा डाक्टर बन्छु र निमुखा गरीब बिरामीहरुलाई सकेसम्म निःशुल्क सेवा दिने यदि अवस्थाले नभ्याएको अवस्थामा अत्यन्तै कम शुल्कमा सेवा दिएर मानवीय उपकार गर्छु भनेर प्रतिबद्धता जाहेर गर्ने विद्यार्थीहरुको सदवाणी सुन्दा यस्तो लाग्थ्यो कि अबका बिरामीहरुले केही राहतको सास फेर्न पाउनेछन् भन्ने आश लाग्थ्यो कतिपयले त्यही आशाको त्यान्द्रोमा झुन्डिएरै संसार छोडेका पनि छन् ।

जब कोही डाक्टरको उपाधि भिरेर अस्पतालको कक्षमा प्रवेश गर्छन् तब लाग्छ कि अब बैंकिङ सेवामा लागेको छु र अब मैले लेखाको भूमिका निभाउनुपर्छ । विवरण तयार गर्नु पर्छ भन्ने मनशायले ’ स्टेथस्कोप’ को माला लगाएर कुनै मनोरञ्जनको लागि सामानको बिल तयार गर्ने मेनेजरले झैं हिसाब गर्नतिर लाग्छन् र बिरामीको औकात हेरेर खुट्टाको पैतालादेखि शिरको टुपीसम्मको लेखाजोखा गरेर रगत, दिसापिसाब, छाला, नसा, हड्डी, सानो आन्द्रा, बोसे आन्द्रा, ठूलो आन्द्रा, कलेजो, मुटु, स्तन, पेट, कुहिनो, घुँडा सबैलाई समेटेर काउन्टरमा जाने सल्लाह दिन्छन् । अनि ल्याबमा रगत, दिसापिसाब, छालाको परीक्षणको लागि लाईनमा बस्न आदेश दिन्छन्, बल्लतल्ल त्यताको काम सकिन्छ, अनि रिपोर्ट लिन भोलि, पर्सि एकहप्ता पछिको समय दिन्छन् । यतिबेला सम्ममा बिरामीको अवस्थाको बारेमा कसले ध्यान दिने ?

सरकारी अस्पतालमा केही सहुलियत त हुन्छ नै, तर त्यहाँ पनि लाईन लाग्नुपर्ने, फेरि डाक्टरको समयमा अनुपस्थित, अनि डाक्टर आईहाले पनि बिचौलियाको बिगबिगी, आफ्नो मान्छेलाई लाईनमा बस्नै नपर्ने लुसुक्क पसाउने, अनि बोल्न नसक्नेलाई पछिको पछि नै हुनुपर्ने चलनले कहिले मुक्ति पाउने हो ?

अर्कोतर्फ मनोबैज्ञानिक तवरले पनि डाक्टरले बिरामीको लक्षण हेरेरै कुन रोग हो भन्नेबारे बुझ्नुपर्ने हो, तर बुझेरै पनि अबुझ व्यवहार देखाउनाले कतिपय सामान्य र असहाय बिरामीले धेरै दुख पाउने गरेका छन्, सामान्य रोगलाई पनि सिटिस्क्यान्, भिडियो एक्सरे दोहर्याउने तेहर्याउने गर्दा आर्थिक कमजोर बिरामीको अकालमै ज्यान जानू अस्वभाविक होइन ।

अब निजी अस्पतालको त कुरै नगरौं, बिरामी वा घाइतेको अवस्थालाई भन्दा पनि बिलिङ पहिल्यै हुनुपर्ने नभए डाक्टर नै आएको छैन भनेर छल्ने गरेका हुन्छन् यस्तोमा कुन निकायले मध्यनजर राख्ने त निजी अस्पतालमा त झन् एउटा भैरहेको रोगको जानकारी दिंदादिंदै पनि भएन भएको पूनः परीक्षण गर्नुपर्ने जिद्दीपनले पनि बिरामीहरूमा तिक्तता छाएको देखिन्छ । यस्तो लाग्छ कि कुनैकुनै निजि अस्पताल त कमाइ खाने भाँडो जस्तो, घडी यो ल्याउ घडी उ ल्याउ भनेर हैरानी नबनाउने पनि होइनन् । यस्तोमा कस्ले ध्यान दिने ?

एउट रोगी जसले पहिले अन्तै जँचाएको विवरण लगेर दोस्रो निजी अस्पतालमा पुगेर त्यो रोग बल्झिएको भनौं अथवा दूरीका हिसाबले टाढा भएर जान समस्या परेकाले सो अस्पतालमा जाँदा पनि निकै कठिनाई झेल्नुपर्ने देखिन्छ । आँखिरमा दिने औषधि त्यही हो, उपाय उस्तै हो त सम्पूर्ण विधि नै दोहो¥याउनुपर्ने कारण के हो त ? कारण हो पैसा धुत्ने, अरु केही होइन । अनि कसरी मान्ने त यस्ता डाक्टरहरूलाई देवता ? प्रसंग सबैलाई भन्न खोजेको होइन ।

अधिकांश अस्पतालमा बिरामी परीक्षण कक्षमा जाने बित्तिकै थैली डिपोजिट गर्नुपर्ने नियमले पनि सर्व साधारणमा गहिरो आघात परेको हु्न्छ, बिरामीको चिन्ता एकातिर त छँदैछ अस्पतालको यो ब्रम्हलुट गर्ने परिपाटीले सद्दे मान्छे पनि मानसिक रुपले विक्षिप्त हुनुपरेको छ । डिपोजिट नसकेसम्म अनेकौं उपचारको बहानाबाजी गरेर यो ल्याउ र उ ल्याउ भनेर रसिद भिराउने अनि जब पैसा सकिएपछि दबाब दिने खालका अस्पताललाई कुन निकायले कार्वाही गर्ने त ?

सायद त्यसैले होलान् ठूलाबडाहरुले नेपालको अस्पतालमा उपचार गर्न हिच्किचाएर विदेशी अस्पतालमा धाउनुपर्ने । अर्को कुरा अस्पतालमा अलि भिडभाड हुने कारण देखाएर निजी क्लिनिकमा आउने सल्लाह दिने र त्यहापनि पूनः सबै रिपोर्ट बनाउनुपर्ने बाध्यताले जनमानसमा नकारात्मक सोच उत्पन्न गराएको कुरालाई नकार्न सकिन्न ।

आँखिरमा जे जस्तो गरेपनि रोग निर्मूल भएको भए चित्त बुझाउन सकिन्छ । रोग २० मा १९ नहुने तर पैसा सर्वस्व जाने भएपछिको परिणाम नै जनमानसको आतंकित स्वभाव हुनजान्छ भन्नेबारे पनि ज्ञान हुन जरुरी छ । यस्तो अवस्थामा सरकारले जनताको लागि ठाउँ ठाउँमा अस्पताल खोलेर उद्धार गरेको भन्ने ढ्वाँग फुक्नु निरर्थक साबित हुनेछ । यिनै कुरालाई सम्बन्धित निकायले बेलैमा होशियारी अपनाउन जरुरी छ, यदि सबैजसो नागरिकको मस्तिष्कमा अस्पतालबारेमा नकारात्मक प्रभाव जमेमा अस्पतालको भवनहरुमा अनाथालय खोल्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

विशेषगरी काठमाडौंमा नाम चलेका केही अस्पतालमा मनोमानी तवरले पनि सञ्चालन गरेको पाईन्छ । जुन बिरामीको अवस्था नाजुक छ, त्यो बिरामी अन्तिम अवस्थामा छ भन्ने थाहा हुँदाहुँदै पनि भेन्टिलेटरमा राख्नुपर्छ अनि केही सुधार हुनेछ भनेर आफूखुसी राखिदिने अनि बिल भराउने र बिरामीको आफन्तलाई “सुधार हुँदैछ चिन्ता नमान्नु भन्ने जब रकम बुझाएपछि.. “हामीले लाख कोशिस गरेका हौं, भगवानको अगाडि केही लागेन अब बाँकी रहेको रकम काउन्टरमा बुझाएर लास लानु है..“भनेर फोस्रो सहानुभूति दिएर पंछिने डाक्टरहरू पनि नभएका होइनन्, अझ अस्पतालमा काम गर्ने कामदारले क्षुद्र वचन प्रयोग गरेर “बिरामीको पैसा तिर्न नसक्नेले किन ल्याउनुपर्छ त…“भनेर गाली गलौज समेत गर्न पछि पर्दैनन् ।

त्यसैले यदि कसैको घरमा त्यस्तो खालको बिरामी छ भने पूर्ण जानकारी लिएर मात्रै अस्पतालमा लानुपर्ने जरुरी देखिन्छ । पैसाको पहुँच देखाएर मात्रै हुदैन, दिमाग पनि लगाउनुपर्छ भन्ने मेरो मनशाय हो । यदि मस्तिष्कमा रगत जमेर कोही आपत्तिजनक अवस्थाका बिरामी छन् भने, मुटुमा प्वाल परेका बिरामीको उपचार गर्न नै छ भने असल र भरपर्दो अस्पताल भनेर जबर्जस्ती हाम नफाल्नु नै परिवारको कल्याण हुनेछ । यहाँ उपचारको नाममा दिउँसै अँध्यारो पार्ने अस्पतालको कमि छैन सजग बन्नुहोला । जय भिमसेन ।

२०७७/१२/०७
काठमाडौं ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment