Search

हिमाल आरोहणमा यो वर्ष नयाँ के छ ?

हिमाल आरोहणमा यो वर्ष नयाँ के छ ?

४ चैत, बाँपीझ्याला, काठमाण्डौं । सन् २०१९ मा सगरमाथा आरोहणका दौरान चुचुरो पुग्ने समयमा अधिक भिड लागेको फोटो संसारभर प्रचार भयो । सोही वर्ष सगरमाथामा १५ जनाको मृत्यु भयो । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका दौरान बिबिसीमा स्पष्टिकरण नै दिनु पर्‍यो । सन् २०२० मा कोरोना महामारीका कारण हिमाल आरोहण बन्द भयो । सरकारले ११ चैत २०७६ देखि देशव्यापी लकडाउन सुरु भएपछि आरोहणका सबै योजना रद्द भए ।

सरकारले यो वर्ष शरद ऋतुदेखि भने आरोहण खुला गर्‍यो । बहराइनका राजकुमारदेखि कतारका राजकुमारसम्म नेपाल आएर उक्त ऋतुमा नेपालका हिमाल चढे । यसले नेपाल महामारीमा पनि सुरक्षित गन्तब्य हो भन्ने सन्देश प्रवाह गरेको सरकारी अधिकारहरुको निष्कर्ष छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार शरद ऋतुमा भएको आरोहण गतिविधिले वसन्त ऋतुका लागि हौसला थप्ने काम गरेको थियो । सोहीकारण जारी सिजनमा कम्तिमा ८ हजार मिटरभन्दा अग्ला सबैजसो हिमालमा आरोही आउने सम्भावना छ ।

महामारीका बीचमा हुन लागेको आरोहणलाई सकेसम्म कम जोखिमयुक्त बनाउने कोसिस यस पटक गरिएको उनी बताउँछिन् । ‘हामी पर्वतारोही र सहयोगीलाई सकेसम्म सहज वातावरण बनाउन कोसिस गरेका छौं,’ उनी भन्छिन्, ‘यो सिजनले समग्र पर्यटनलाई माथि उकास्न सकारात्मक भूमिका खेल्नेछ ।’ निर्देशक आचार्यका अनुसार यो सिजन सन् २०१९ को तुलनामा स्वास्थ्य सचेतनाका दृष्टिकोणबाट महत्वपूर्ण हुनेछ ।

यद्दपि आराहणमा आउने पर्यटकको यात्रा सहज-असहज हुने अवस्था भने सम्बन्धित मुलुकले लिने यात्रा प्रबन्धका नियमहरुमा पनि भर पर्नेछ । कोरोना भाइरसको महामारीबाट बच्न अझै पनि धेरै मुलुकहरुले यात्रामा कडाइ गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट डाक्टर सगरमाथा आधार शिविरमा खटिने
यस वर्ष स्वास्थ्य मन्त्रालयबाट सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर खटाइँदैछ । आरोहणका लागि पर्वतारोही र सहयोगी जान थालेसँगै डाक्टरसमेत फिल्डमा खटिनेछन् । ‘यो पटक स्वास्थ्य मन्त्रालयको समन्वयमा काजमा डाक्टर खटाइँदैछ,’ उनले भनिन्, ‘यसरी आरोहणका बेला फिल्डमा पहिलो पटक डाक्टर खटाउन लागिएको हो ।’ साविकमा जस्तैसरकारको तर्फबाट सहजीकरणका लागि खटिने सम्पर्क अधिकृतसमेत आरोहण पुरा नभएसम्म आधार शिविरमै खटिनु पर्नेछ ।

स्वास्थ्यमा विशेष चासो दिइने
विगतमा आरोहणमा आरोहीको स्वास्थ्य अवस्थाबारे त्यति धेरै चासो राख्ने प्रचलन थिएन । यसपटक भने स्वास्थ्यमा विशेष आरोही राखिने भएको छ । नेपाल आउनु अगाडि नै आरोहीले कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ । नेगेटिभ आएपछि मात्र नेपाल आउन पाइन्छ । नेपाल आएपछि पनि पर्यटकले अनिवार्य क्वारेन्टिनका नियम पालना गर्नुपर्छ । आरोहण अनुमति लिने बेला पर्वतारोही स्वयमःले आफू आरोहणमा जान योग्य रहेको स्वःघोषणा गर्नुपर्छ । त्यसपछि मात्र आरोहण अनुमति जारी हुन्छ ।

आपतकालीन उद्दार पारदर्शी
यो पटक हिमालबाट आपतकालीन उद्दार गरी ल्याइएका पर्यटकलाई अस्पतालको मिलेमतोमा हुने सिण्डिकेटमाथि पनि कडा निगरानी गरिने भएको छ । सुविधा नभएका अस्पतालमा आफुखुसी लैजाने विगतको प्रचलनका कारण बदनाम नहोस भनेर यो पटक स्वास्थ्य मन्त्रालयबाटै परिपत्र भएको निर्देशक आचार्यले बताइन् । ‘सुविधा सम्पन्न अत्याधुनिक अस्पतालमा मात्र उद्दार गरी ल्याइएका पर्यटकलाई राख्नु पर्नेछ,’ उनले भनिन् ।

कोरोना बिमा अनिवार्य
यस पटक नेपालमा हिमाल आरोहणमा आउने पर्वतारोहीको यात्रा केही खर्चिलो हुन सक्छ । सरकारले ५ हजार डलर बराबरको कोरोना बिमा गरेरमात्र नेपाल आउनु पर्ने नियम बनाएको छ ।

आरोहणका दौरान पर्वतारोही, सहयोगी तथा भरियाहरुको समेत हुनुपर्ने अनिवार्य बिमाको प्रावधानसमेत यथावत रहेको छ । यसकारण तुलनात्मकरुपमा खर्चालु पर्वतारोही आउने छन् ।

भिडियो/फोटो खिच्न कडाई
आरोहणका दौरान आरोहण गतिविधिभन्दा बढी व्यापारिक प्रयोजनमा हिमालका प्रयोग बढेको पाइएपछि यो पटक फोटो र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन/प्रसारणमा कडाइ गरिएको छ । आरोहीले हिमालमा आफ्नो र आफ्नो दलको आरोहण गतिविधिलाई भने फोटो भिडियोमा कैद गर्न सक्नेछन् । तर, यसलाई अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन ।

आरोहण गतिविधिबाहेक अन्य प्रयोजनमा ती सामग्री प्रयोग गर्ने भए त्यसबारेमा पर्यटन विभागलाई अगि्रम जानकारी गराउनु पर्छ । हिमालमा राख्ने रेकर्ड केही भए त्यसबारेमा समेत अग्रिम जानकारी विभागमा गराउनु पर्छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!