Search

काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पार्क निर्माणका लागि पाँच करोड सहयोग, थप दुईसँग पनि सम्झौता हुँदै

काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पार्क निर्माणका लागि पाँच करोड सहयोग, थप दुईसँग पनि सम्झौता हुँदै

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ । कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गर्नुभएको हो ।


काठमाडौँ महानगरपालिकाले २०७७÷०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिनुभयो ।
सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुदेश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ । यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको थियो । त्यसैगरी ताराकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को ताराकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ । यस अघि ताराकेश्वर धाम निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो ।


त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ । यस अघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो ।


त्यसैगरी किर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ । उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ ।


त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि आजै काठमाडौँ महानगरपालिकाले रु थप एक करोड सहयोग गरेको छ । यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो । त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ । भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि रु एक करोड नै दिने भएको छ । आज सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि रु एक करोड सहयोग गर्ने भएको छ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ । यस अघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि रु एक करोड नै सहयोग गरेको थियो ।


केही समय अघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि आजै प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि रु एक करोड पचास लाख सहयोगको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो ।


चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको बताउनुभयो । ‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ ती–ती नगरपालिकासँग आत्मियता बढेको छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो हामीले पनि मायाँ गर्नुपर्छ महानगरलाई महानगर बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह हुने अपेक्षा गरेका छौँ ।’


शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराउनुभयो । ‘यहाँ मानव निर्मित सम्पदा छन् । विश्व सम्पदा सूचिमा सूचिकृत चार ओटा सम्पदा छन् । अन्य नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्,’ उहाँले भन्नुभयो, ‘हामी यी दुई बीचको सम्वन्ध स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उदेश्यले पनि यो सम्झौता गरिरहेका छौँ ।’
काठमाडौँ महानगरपालिकाले यस अघि काठमाडौँका १० नगरपालिका र भक्तपुरको मध्यपुर ठिमीलाई नगर–नगर साझेदारी अन्तरगर्त सहयोग गरेको थियो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएका छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!